मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कारण देखाउ आदेश

साझाकुरा
२०८१ असार २३, शनिबार १२:०३

हेटौंडा- उच्चअदालत पाटन, हेटौंडा इजलासले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कारण देखाउ आदेश जारी गरेको छ । हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णयबिरुद्ध परेको रिटमाथी सुनुवाई गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको हो । उच्चअदालत पाटन, हेटौंडा ईजलासका न्यायाधीश निर्मला शाक्यको इजलासले हेटौंडा अस्पतालका निर्देशक डा.श्रीधर अर्याल समेत, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडालाई कारण देखाउ आदेश जारी गरेको हो । हेटौंडा अस्पताललाई यथास्थितिमा संचालन गरी प्रतिष्ठानले छुट्टै अस्पताल निर्माण गर्नुपर्ने विषयमा सर्बत्र बहस भइरहेको समयमा अदालतले यस्तो आदेश जारी गरेको हो ।

निवेदकको तर्फबाट बरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिप्रसाद भट्ट र अमृतकुमार लामाले बहस गरेका थिए । ‘यसमा, के कसो भएको हो ? निवेदकको साथ वमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटाको म्यादः बाहेक म्याद पाएको मितिले १५ दिनभित्र विपक्षीहरुको हकमा मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्नु’ भनी आदेश जारी गरिएको हो ।‘निवेदनमा अन्तरिम आदेश समेतको माग गरेको देखिंदा अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा दुवै पक्षबीच छलफल गराई निष्कर्षमा पुग्न उपयुक्त देखिएकोले सो प्रयोजनार्थ मिति २०८१÷३÷२७ गतेको दिन पेशी तोकी सो मितिसम्मका लागि सुविधा र सन्तुलनको दृष्टिकोणले हेटौंडा अस्पताललगायत निवेदकको पूर्ववत कामकार्वाहीमा असर पुग्ने काम नगर्नु नगराउनु यथास्थितिमा संचालन हुन दिनु भनी विपक्षीको नाममा उच्चअदालत नियमावली, २०७३ को नियम ४२ (१) वमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको’ भनिएको छ ।

६ दशकको इतिहास बोकेको मकवानपुरको एकमात्र सरकारी अस्पताललाई मास्नेगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन बनेको भन्दै मकवानपुरका क्रियाशील राजनीतिक दलहरुले चर्को बिरोध गरिरहेका छन् । ऐनको केही उपदफा खारेज गरी इतिहास बोकेको एकमात्र सरकारी अस्पताललाई जीवित राख्न उनीहरुको माग छ । २०७६ को ऐन बमोजिम प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको परिच्छेद–६ को दफा १५ को उपदफा १ मा अस्पतालको स्थापना गर्नेछ भनिएकोमा सोही दफाको उपदफा २ ले प्रचलित कानुन बमोजिम स्थापित भई संचालन भइरहेको हेटौंडा अस्पताललाई नै उपदफा १ बमोजिम स्थापना भएको मानिनेछ भनेर चोर बाटोबाट हेटौंडा अस्पताल कब्जा गर्न खोजिएको दलहरुले बताएका छन् ।

हेटौंडा अस्पतालमा प्रतिष्ठानले संचालन गरिरहेको आर्थिक तथा प्रशासनिक शाखालाई हेटौंडा अस्पतालबाट हटाउने र हेटौंडा अस्पताललाई स्वायत्त तथा स्वतन्त्ररुपमा संचालन गर्ने ब्यवस्था मिलाउन माग गर्दै बिभिन्न चरणमा छलफल र बहस भएको छ । हेटौंडा अस्पतालको खाता करारमा नियुक्त भएका प्रतिष्ठानका कर्मचारीबाट गराएर प्रतिष्ठानले गैरकारनूनी काम गरिरहेको आरोप लगाइएको छ । सरकारले तोकेको मापदण्डमा स्थायी नियुक्ति भएका कर्मचारीलाई जिम्मेवारीबाट अलग गरेर प्रतिष्ठानले करारमा नियुक्ति गरेका निर्देशक, लेखाअधिकृतबाट अस्पतालको खाता संचालन गरी कानूनको अपब्याख्या गरिएको प्रतिष्ठानमाथि आरोप छ ।

प्रतिष्ठानले शिक्षण सिकाइका लागि हेटौंडा अस्पताललाई प्रयोग गर्न समस्या थिएन । तर, राजनीति शक्तिका आडमा सरकारी अस्पताललाई कब्जा गर्ने शैलीको मकवानपुरका राजनीतिक दलहरुले पनि बिरोध गरिरहेका छन् । बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत गाभ्ने निर्णय गरेसँगै त्यसको विरुद्धमा क्रियाशील राजनीतिक दलले हेटौंडा अस्पताललाई छुट्टै राख्न माग गरिरहेको हो । यस विषयमा उच्चअदालत पाटन, हेटौंडा
ईजलासमा रिट दायर गरिएकोथियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*