अविरल वर्षाको प्रभाव हेटौंडामा मात्रै १४१ घर डुबानमा, छोटो मार्गमा पहिरैपहिरो

साझाकुरा
२०८१ असार २४, आईतवार १२:१८

हेटौंडा- बागमती प्रदेशको मुकाम हेटौंडाको बजारक्षेत्र डुबानमा परेको छ । शुक्रबार बेलुकादेखि शनिवार दिउँसोसम्मको अविरल वर्षाका कारण बजारक्षेत्र डुबान पर्नुका साथै हेटौंडा र काठमाडौं जोड्ने यातायात सञ्जाल अवरुद्ध बनेका छन् ।हेटौंडा उपमहानगरपालिका–१ र ५ नम्बर वडाका बजारक्षेत्र डुबानमा परेका हुन् । राप्तीखोलासँग जोडिएको १ नम्बर वडाको चौकीटोल र बाक्लो बस्ती रहेको ५ नम्बर वडाको पिप्ले, शान्तिनगरक्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ५ नम्बर वडामा पर्ने कान्तिलोकपथ पनि डुबानमा परेको छ ।

५ नम्बर वडाका पिप्ले र शान्तिनगरका ३० भन्दा बढी घरहरु डुबानमा परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । भण्डारीकै नेतृत्वमा शनिवार दिउँसो पिप्ले क्षेत्रमा सुरक्षाकर्मीको टोली उद्दारमा खटिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा डुबानमा परेका घरबाट मानिसको उद्दार गरिएको थियो । यातायात सञ्चालनमा समस्या र बस्ती नै डुबानमा परेपछि वडाका जनप्रतिनिधि र सुरक्षार्कीको टोली उद्दारमा खटिएको हो ।हेटौंडाको बजारक्षेत्रमा मात्रै वर्षाबाट प्रभावित घरधुरी संख्या १ सय ४१ रहेको प्रहरीले जानकारी दिएको छ । हेटौंडा–५ सिचाईं कुनाटोलमा २० घरधुरी, ५ नम्बर वडाकै लटिनाथ प्लटिङक्षेत्रमा १५ घर, ५ नम्बर वडाकै लक्ष्मीनारायण मन्दिर आसपास १७ घर, शान्तिनगरटोलमा १३ घर, सानोपोखरामा ३० घर, दक्षिणकाली टोलमा १५ घर, ढुंगेधारा टोलमा ३० घर र हेटौंडा–७ न्युरेनीमा १ घर गरी जम्मा १ सय ४१ घरधुरी प्रभावित भएको प्रहरीले जानकारी दिएको हो ।

हेटौंडा उपमहानगरपालिकाले व्यवस्थित ढलको निर्माण नगरेकाले ५ नम्बर वडाको पिप्लेक्षेत्र हरेक वर्ष डुबानमा पर्ने गरेको छ । ५ नम्बर वडाको कर्रा खोला क्षेत्रसँग जोडिएको वस्ती निरन्तर वर्षा भएपछि रातभत निदाउने गरेका छैनन् । कर्रा खोला उर्लिएर आउँदा ५ नम्बर वडाको क्याम्पाडाँडादेखि ४ नम्बर वडाको कर्राबस्तीसम्म खतरा हुने गर्दछ ।हेटौंडाका कार्यवहाक नगरप्रमुख राजेश बानियाँले डुबानक्षेत्रको निरीक्षण गर्दै नगरप्रहरी समेत परिचालन गरेर उद्दार कार्य गरिएको बताए । नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा डुवानमा परेका परिवारलाई उद्दार गरिएको बानियाँले बताए । हरेक वर्ष यो क्षेत्र डुवानमा पर्ने भएकाले दीर्घकालीन सोचका साथ उपमहानगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीबाट डीपीआर बनाएरै समस्या समाधान गरिने बानियाँले जानकारी दिए ।

वर्षाका कारण मकवानपुरको कुखरेनी, कर्रा, राप्ती, मनहरी, लोथर, सामरी, भैंसे खोलामा पानीको बहाव बढेको छ । बाढीका कारण खेतीयोग्य जमिन कटानमा परेका छन् भने यकिन तथ्यांक नआएको प्रहरीले जनाएको छ । भैंसे खोलाले विगतका वर्षमा त्रिभुवन राजपथको सडकक्षेत्र कटान गरेको थियो । सामरी, राप्ती, कर्रा, मनहरी खोलाले हरेक वर्ष खेतीयोग्य जमिन कटान गर्ने गरेको छ ।यसैगरी मकवानपुरगढी गाउँपालिका–२ कृषिडाँडास्थित सन्तवहादुर घलानको गोठ भासिएको छ । चारवटा गाई गोठभित्रै फसेको डिएसपी भण्डारीले जानकारी दिए । प्रहरी र स्थानीयबासीले २ वटा गाई सकुशल बाहिर निकालेका छन् भने २ वटा गोठ भित्रै बिरामी अवस्थामा रहेको उनले जनाए ।

अविरल वर्षाका कारण मकवानपुरको विभिन्न सडक सञ्जालहरु अवरुद्ध भएका छन् । प्रमुखतः हेटौंडा र काठमाडौं जोड्ने छोटोमार्ग (भैंसे–भीमफेदी–कुलेखानी–बल्खु) सडक खण्ड अवरुद्ध भएको डिएसपी भण्डारीले जानकारी
दिए । भीमफेदी गाउँपालिका–४, चिउरी बगौंचामा पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको र साँझ ८ बजे एकतर्फी सञ्चालनमा ल्याइएको उनले बताए । सडक विभागसँग समन्वय गरेर अवरोध हटाउने प्रयास भएको उनले
जनाए । हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ, भीमफेदी—कुलेखानी सडक, सिस्नेरी दक्षिणकाली सडकहरु पहिरोका कारण अवरुद्ध भएका थिए ।

इन्द्रसरोबर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक मातातीर्थ–चखेल र देउराली जाने सडकखण्डमा पहिरो गएर बाटो अवरोध भएकोमा पहिरो पन्छाइएको छ । भीमफेदी–८ महादेवटार, प्रतापडाँडा, बकैया गाउँपालिका–१२ आले, बकैया–११, सीमात घुम्तिस्थित कान्तिलोकपथ सडक खण्डमा बर्षाको कारण पहिरो आएर बाटो अवरुद्ध भएको पन्छाएर अवरोध हटाइएको डिएसपी भण्डारीले बताए । यतिबेला एकतर्फी रुपमा सडक संचालनमा ल्याइएको हो । राति थप पानी परेको खण्डमासडक फेरि पनि अवरुद्ध हुनसक्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*