चुरियामाई सुरुङ अझै सञ्चालनमा आएन
हेटौंडा- पुर्ननिर्माण भएको पाँच महिना बितिसक्दा पनि गाडी गुड्न प्रयोग हुने दक्षिण एसियाकै पहिलो मानिएको चुरियामाई सुरुङ सञ्चालनमा आउन सकेको छैन ।एक सयवर्ष भन्दा बढी पुरानो यो सुरुङलाई बागमती प्रदेश सरकारले गाडी गुडाउन नभई ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा पुननिर्माण गरेको हो । चुरियामाई सुरुङ सर्वसाधारण पर्यटकका लागि खुला नगरिएको हो । प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण नगरेका कारण सुरुङका दुवैतर्फका ढोका बन्द रहेको जनाइएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङको जीर्णोद्धार कार्य गरेर गत फागुन २०८० को अन्तिम साता सकेको थियो ।
चुरियामाई संरक्षण विकास समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले प्रदेश सरकारले उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने र उपमहानगरपालिकाले चुरियामाई संरक्षण विकास समितिलाई हस्तान्तरण गर्नुपर्ने कार्य नभएको बताए । उपमहानगरपालिकालाई हस्तान्तरण भएपछि सम्बन्धित समितिलाई सञ्चालनका लागि हस्तान्तरण गरिने नगरप्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।ऐतिहासिक सुरुङ खुला गर्न सकेमा अवलोकनका लागि आन्तरिक एवम् बाह्य पर्यटक आउने समितिका अध्यक्ष भोम्जनले बताए । सुरुङको दुवैतर्फका ढोका बन्द भएकाले यहाँ आइपुगेका पर्यटकहरु बाहिरबाटै नियालेर फर्किने गरेको उनले बताएका छन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा भारतबाट आउने साना सवारी प्रवेशका लागि सुरुङ निर्माण गरिएको थियो ।
चुरेको डाँडा छिचोल्न नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा सुरुङ खनिएको हो । मुलुककै ऐतिहासिक सुरुङको बीच भाग भासिएर अत्यन्त जोखिम अवस्थामा रहेको थियो । ऐतिहासिक महत्वको सुरुङमार्ग परिसरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसहित यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले सुरुङ पुनः निर्माणको लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलकबोल ठेक्काअनुसार कुल ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौंसँग सम्झौता गरेको थियो ।
यही सम्झौता अनुसार सुरुङको चौडाइ साढे २ मिटर र उचाइ ३ फिट हुने गरी पहिलेकै स्वरुपमा पुनःनिर्माण गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरसँगै सुरुङमार्ग अवस्थित छ । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई प्रदेश सरकारले उच्चप्राथमिकतामा राखेर जीर्णोद्धार कार्य गरेको हो । २०७९ वैशाख १९ गतेसम्म १९८ मिटर लम्बाईको सुरुङमार्ग पुनःनिर्माण गर्ने भनिए पनि विविध कारणले निर्धारित समयभन्दा एक वर्षपछि मात्र सुरुङमार्गको काम सकिएको हो ।
सुरुङ सञ्चालनको मोडालिटी बारे छलफल भइरहेको यातायात निर्देशनालयका सूचना अधिकारी हरिप्रसाद ओझाले बताए । सुरुङमार्ग सञ्चालनका लागि स्थानीय तह तथा सञ्चालन समिति निर्माण गरी हस्तान्तरण गर्ने निर्देशनालयको तयारी रहेको छ । निश्चित मापदण्ड तयार गरी सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने उनले बताए । सुरुङमार्गभित्र विद्युतीय लाइट जडान गरिएको छ ।सुरुङमार्ग तत्कालीन प्रविधिसँगै माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको छ । ७०० मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको सुरुङमार्गको मालवाहक सवारी ‘लहरी’ छिर्ने आकारमा निर्माण गरिएको थियो । एक दशकसम्म सुरुङमार्ग हुँदै साना हलुका सवारी साधन आवतजावत गरे । पथलैया–हेटौंडा सडक निर्माण भएपछि यो सुरुङ सञ्चालनमा आउन छाड्यो ।
भीमफेदीबाट काठमाडौं आवतजावत गर्न निर्मित चुरियामाई सुरुङले त्यतिबेला नेपालीको जनजीवनलाई निकै सहज बनाएको थियो । छिमेकी जिल्ला बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसँग जोड्ने सडक निर्माण गर्ने बेला यो सुरुङ निर्माण गरिएको ऐतिहासिक दस्तावेजहरुबाट खुलेको छ । ‘हाम्रा राजा क्या अक्किलदारी, ल्याए मोटर चुरेमा भ्वाङ पारी’ गीत सुरुङ निर्माणताका स्थानीयले गाउने गरेको पाइन्छ ।
चुरियामाई सुरुङ भएर विश्वविख्यात् भूगर्भविद् डा. टोनी हेगनले आफ्नो सानो गाडी छिराएर भीमफेदीसम्म आइपुगेका थिए । भीमफेदीबाट उनको गाडी बोकेर काठमाडौं लगिएको थियो । टोनी हेगनको ‘नेपाल परिचय’ पुस्तकमा चुरियाको सुरुङबारेमा पनि उल्लेख गरेका छन् । २४ अक्टोबर १९५० का दिन रक्सौलनाका हुँदै वीरगन्ज–अमलेखगन्जसम्म सानो रेल, अमलेखगञ्जबाट सानो जीपमा भीमफेदी आउने क्रममा चुरियाडाँडाको उकालो चढ्दा देखेको सुरुङलाई आठौं आश्चर्यको रुपमा उनले व्याख्या गरेका थिए ।







