मकवानपुरमा ‘फाष्ट ट्रयाक’को धेद्रे सुरुङ दुवैतर्फ छेडियो
हेटौंडा, २१ साउन÷राज्यको उच्चप्राथमिकतामा परेको परियोजनाका रुपमा मकवानपुरको बकैया गाउँपालिकामा पर्ने काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्रयाक)को धेद्रे सुरुङ दुवैतर्फ ‘ब्रेक थ्रु’ अर्थात् छेडिएको छ ।सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विस्फोटक पदार्थको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका हुन् । धेद्रेको ब्रेक थ्रु भएसँगै पोलिछङ्दादा निर्माण कम्पनीले ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ । यसअघि बकैया गाउँपालिकामै पर्ने लेनडाँडाका दुबै सुरुङको गत जेठमै ब्रेक थ्रु भइसकेको थियो । बाँकी रहेको काठमाडौं–निजगढ तर्फको धेद्रे सुरुङ पनि सोमबार छेडिएको हो ।
पछिल्लो वर्षमा नेपालको जलविद्युत, सडक, सिंचाई जस्ता विकास आयोजनाको सुरुङ निर्माण गर्ने कार्यले तीब्रता पाएको छ । भेरी–बबै डाइभर्सन, सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम भने अत्याधुनिक प्रबिधियुक्त टनेल बोरिङ मेशिन ‘टीबीएम’ प्रयोग गरिएको थियो । तर, नौबिसे–नागढुँगा सुरुङ र द्रुतमार्गका सुरुङ खन्ने काम भने टीबीएम प्रयोग भएका छैनन् ।द्रुतमार्गको धेद्रे सुरुङ ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्रीको साथमा अर्थमन्त्री विष्णु पौडेल प्रधानसेनापति प्रभुराम शर्मा, चिनियाँ र कोरियन राजदूतहरु सहभागी थिए । ७० दशमलव ९ सय ७७ किलोमिटर लामो द्रुतमार्गमा कुल १० दशमलव ३ सय ९ किलोमिटर सुरुङमार्ग रहेको छ । यसमध्ये धद्रे सुरुङ १ हजार ६ सय ९१ मिटर लामो छ । यस आयोजनामा ६ स्थानमा सुरुङ बन्दैछन् ।
महादेवटारमा काठमाडौं छिर्ने र काठमाडौंबाट निजगढ जाने २ वटा सुरुङ खनिँदैछ । काठमाडौंबाट निजगढततर्फ आउने सुरुङ ३ हजार ३ सय ८६ मिटरमध्ये २ हजार २ सय ८८ मिटर खनेर सकिएको छ । त्यस्तै निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको ३ हजार ३ सय २२ मिटरमध्ये २ हजार २९ मिटर खनिएको छ । सैनिकप्रवक्ता एवम् सहायकरथी गौरवकुमार केसीका अनुसार ६ सुरुङमध्ये ३ वटाको ठेक्का लागेर काम भइरहेको छ ।
जसमध्ये सबैभन्दा लामो ३ हजार ३ सय ५५ मिटर लामो सुरुङ महादेवडाँडामा बन्दैछ । जसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ । महादेवडाँडा पनि मकवानपुरको भीमफेदी गाउँपालिकामा पर्दछ । द्रुतमार्गको तीनवटा मुख्य सुरुङ मकवानपुर जिल्लामै पर्दछ । द्रुतमार्ग आयोजनाको समष्टिगत प्रगति भने ३५ दशमलव ३८ प्रतिशत पुगेको सेनाले जानकारी दिएको छ ।
२१ बैशाख २०७४ को मन्त्रीपरिषद् निर्णयअनुसार काठमाडौं–तराई द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाइ दिएको हो । जसलाई सेनाले विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेको छ । अहिले ६ दशमलव ५ किलोमिटरदेखि ७० दशमलव ९ सय ७७ किलोमिटर सड्क खण्डमा काम भइरहेको छ । तर, सुरुवाती बिन्दुबाट ६ दशमलव ५ किलोमिटर खण्डमा भने विवादका कारण काम सुरु हुन नसकेको सेनाले जनाएको छ । ललितपुरको खोकनाबाट बाराको निजगढ निस्कने गरी द्रुतमार्ग बन्दैछ । जसको अधिकांश भूभाग मकवानपुरमा पर्दछ ।
त्यस्तै ८९ पुलमध्ये ८५ वटाको ठेक्का व्यवस्थापन भएर काम भइरहेको छ । बाँकी ४ वटा पुल खोकना खण्डमा पर्ने भएकाले ठेक्का हुन सकेको छैन । अहिलेसम्म ठेक्का भएकामध्ये ५ वटा पुलको निर्माण सकिसकेको छ ।
द्रुतमार्गले गलत भाष्यलाई खण्डन गरेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक थ्रुपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै दू्रतमार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको बताएका छन् ।मुलुकमा नयाँ प्रविधियुक्त ढंगले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्वपूर्ण कार्य भएको प्रम ओलीले बताए । राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेस द्रुतमार्गस्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङयुगसगैँ नयाँयुगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गरे ।
विगतमा जुन रफ्तारमा विकास हुनुपर्ने त्यो नभएको र अब विकासको नमूना यो द्रुतमार्ग हुने ओलीको भनाई छ । द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा ब्यवधानलाई समाधान गर्न सरकार तयार रहेको उनले बताए । सांस्कृतिक अन्तरघुलन, राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र पर्यटन उद्योग प्रवद्र्धन गर्न मुलुकको आत्मविश्वासको दृष्टान्तकारुपमा द्रुतमार्ग भएको बताउँदै प्रधानमन्त्री ओलीले देशमा पूर्णशान्ति र भयरहित वातावरण बनाउन प्रतिबद्ध रहेको धारणा राखे ।
उनले देश विकास होस्, नागरिकको जीवनस्तर माथि उठोस्, सुखी नेपाली र समृद्ध नेपालका राष्ट्रिय आकांक्षा पुरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गरे । अप्टिकल फाइबर, फोर जी इन्टरनेटलगायत सेवा सबै जिल्लामा पु¥याउने काम अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले द्रुतमार्गलगायत पूर्वाधारले यस्ता कार्यक्रमलाई सहयोग पु¥याउने बताए ।







