हेटौंडाबाट ‘अनलाइन ठगीधन्दा चलाउने’ ९ जना भारतीय पक्राउ

साझाकुरा
२०८१ श्रावण २४, बिहीबार १०:२६

हेटौंडा- हेटौंडामा फर्जी कम्पनी खडा गरेर कार्यालय सञ्चालन गरी अनलाइन ठगी धन्दा चलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारतीय नागरिक ९ जनालाई पक्राउ गरेको छ ।मकवानपुर प्रहरीले २१ साउन सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथस्थित प्रमोद वाग्लेको घरको पाँचौं तलाको फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी अनलाइन ठगी धन्दा चलाइरहेको सूचनाको आधारमा छापा मारेको थियो ।

छापा मार्दा काम गरिरहेका ९ जना भारतीयसहित ल्यापटप, मोवाइल लगायतका विद्युतीय उपकरण प्रहरीले बरामद गरेको छ ।मकवानपुरका प्रहरी प्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालले फर्जी कम्पनी दर्ता गरी कार्यालय नै राखेर अनलाइन ठगीमा संलग्न भारतीय ९ जनालाई पक्राउ गरी अदालतमा पेश गरिएको जानकारी दिए । ‘त्यहाँबाट अनलाइन ठगीको काम हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर, सबै डाटाहरु भारतको राँचीस्थित हेड अफिसमा मात्रै रहेको भेटिएको छ ।,’ एसपी रिजालले भने ।

प्रहरीले भारतको पटना थाना आलमगंज–५७ बस्ने २८ वर्षीय नवनित कुमार, झारखण्ड बस्ने २७ वर्षीय शाहरुख खान, विहार बस्ने २९ वर्षीय कुन्दन कुमार, नैनिताल उत्तराखण्ड बस्ने २६ वर्षीय आशिष कब्डौला, राँची झारखण्ड बस्ने ३४ वर्षीय विशाल कक्कडलाई पक्राउ गरेको एसपी रिजालले जानकारी दिएका छन् ।यसैगरी, राँची झारखण्डका ३८ वर्षीय लोकेशकुमार दुवे, राँची झारखण्डकै २९ वर्षीय विकासकुमार सिंह, नांगलोड वेस्ट दिल्ली बस्ने २८ वर्षीय अरुण कुमार र गजियावाद उत्तरप्रदेशका ४० वर्षीय कुनाल शर्मालाई पक्राउ गरिएको एसपी रिजालले जानकारी दिए । ठगी धन्दामा संलग्न थप तीनजना फरार रहेको उनको भनाई छ ।

कम्पनीमा १२ जना भारतीय नागरिक मात्रै कार्यरत रहेकोमा कम्पनीका सञ्चालक विनकुमार सिंह, रजत शर्मा र प्रकाश भनिने आरोपित फरार रहेका हुन् ।भारत नयाँदिल्ली घर भएका विनकुमार सिंहको नाममा १० फागुन २०८० मा हेटौंडा उपमहानगरपालिका कार्यालयमा ‘मेडि असिष्ट’ कम्पनी दर्ता गरी परामर्श सेवाप्रदान गर्ने उद्देश्यले कम्पनी खोलेको प्रहरीले जनाएको छ । कम्पनी सोही मितिमा आन्तरिक राजश्व कार्यालय हेटौंडामा प्यान नं. लिन मानवस्वास्थ्यसम्बन्धी अन्य क्रियाकलापका सेवाप्रदान गर्ने प्रयोजनका लागि दर्ता रहेको एसपी रिजालले जानकारी दिए ।

‘मेडि असिष्ट’ कम्पनी देखाएर सर्वसाधारणलाई अनेकौं प्रलोभनमा पार्ने, सट्टेबाजी खेलाउने, क्रिप्टोकरेन्सीको काम गर्ने, उपहार परेको वा पार्सल आएको नाममा अनलाइन ठगी गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको उनले बताए । पक्राउ परेका ९ जना काम गर्ने कर्मचारी रहेको र तलब १८ हजारदेखि ५० हजार रुपैयाँ नगदमै बुझ्दै आएको प्रहरीले जनाएको छ ।यो कम्पनीद्वारा कुनै पनि आर्थिक कारोबार कानून बमोजिम नगरिएको साथै अभिलेखिकरण पनि नभएको, भारतको राँचीस्थित हेड अफिसमा मेन सरभर राखेर ‘क्वीक कल क्लाइन्ट सफट्वेयर’ मार्फत काम गर्ने गरिएको, सफ्टवेयरमार्फत ‘टार्गेट’ व्यक्तिको पहिचान गरी उसको सम्पूर्ण विवरण सफ्टवेयरमार्फत् नै भारत पठाउने गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रिजालले जानकारी दिए ।

यो कम्पनीले नेपाली तथा विभिन्न देशका व्यक्तिलाई ‘टार्गेट’ बनाउने गरेको, कम्पनीले अधिकांश रातको समयमा मात्र काम गर्ने गरेको, जुन उद्देश्यले कम्पनी दर्ता गरिएको थियो त्यो अनुसारको कुनै पनि कार्यहरु हालसम्म पनि नगरिएको पाइएको छ । प्रहरीले यो कार्यालयबाट ल्यापटप ७ वटा, राउटर ३ वटा, मोवाइल १३ वटा, हार्डडिस्क १ वटा, हेडफोन ४ वटा, माउस २ वटा, ल्यापटपका चार्जर १८ वटा, वेब क्यामेरा एउटा, मेडी एसिस्ट डाईरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ९ जनामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१), (२) विपरित कसुर अपराध गरेको मकवानपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले बताए । आरोपित ९ जनामाथि सोही ऐनको परिच्छेद ३ को दफा ३४ को उपदफा ३ बमोजिम दण्ड सजाय माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*