राज्यले चिन्न नसकेको जनप्रिय बैज्ञानिक डा. महावीर पुन : आफ्नै जीवनीको पुस्तकबाट १० करोड बढी संकलन

 भानुभक्त आचार्य
२०८१ भाद्र ४, मंगलवार १०:३७

हेटौंडा-राज्यले चिन्न नसकेको बैज्ञानिक डा. महावीर पुनले आफ्नै पुस्तक बिक्रीबाट करिव १० करोड रुपैयाँ संकलन गरेका छन् । सोमबार नारायणी यातायात ब्यवसायी संघमा पुगेका डा. पुनले पछिल्लो एक वर्षको अवधिमा करिव सवा लाख प्रति पुस्तक बिक्री भएको जानकारी दिएका छन् । पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ । सर्वसाधारणले उत्साहकासाथ पुस्तक खरिद गरी डा. पुनलाई सहयोग गरिरहेका छन् ।

राज्यले एक करोड रुपैयाँ पनि नपत्याएपछि आफ्नै जीवनीलाई पुस्तकमा उतारेर बिक्री गर्दै हिडेका पुन पछिल्लो साता हेटौंडा आसपासमा बिभिन्न टोलमा घुमिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. पुनले गतवर्ष मात्रै आफ्नो जीवनकथामा आधारित पुस्तक सार्वजनिक गरेको थिए । एकवर्षदेखि त्यही पुस्तक बिक्री गरी आविष्कार केन्द्रका लागि रकम जोहो गर्न देशदौडाहमा छन् डा. पुन । हेटौंडा आसपासका बस्तीमा डा. पुनले आफ्नो पुस्तक बिक्री गरिरहेका छन् । डा. पुनको पुस्तक किनेर सामाजिक सञ्जालमा पुस्तकको कभर सार्वजनिक गर्दै हजारौं नागरिकले डा. पुनलाई समर्थन र राज्यलाई दबाव दिइरहेका छन् ।

पुस्तकको प्रकाशक राष्ट्रिय आविष्कार केन्द्र हो । ‘यो पुस्तक बेचेर आएको सबै पैसा वीरगञ्जको कृषिऔजार कारखाना सुधार गर्ने र सञ्चालन गर्ने काममा जानेछ’ भन्दै डा. पुनले टोलटोलमा पुगेर पुस्तक बिक्री गरिरहेका हुन् ।‘वीरगन्जको कृषिऔजार कारखानाका लागि तत्कालै पैसा नचाहिएको भए यो किताब लेखिने थिएन होला’ डा.पुनले यो पुस्तकको ई–बुक संस्करण पनि उपलब्ध गराउने तयारी गरिरहेको बताएका छन् । ३०८ पेज रहेको पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ ।

सोमबार नारायणी यातायात ब्यवसायी संघमा डा.पुनले आफ्नो पुस्तक बिक्री गर्दै भने–बीरगंज कृषिऔजार कारखाना संचालन गर्नुपूर्व तयारी गर्ने क्रममा करिव एक करोड रुपैयाँ खर्च भएको रकम सरकारले भुक्तानी दिने कुरा थियो तर, सरकारले दिएन’ । संघले डा. पुनको ३० थान पुस्तक खरिद गरेको संघका महासचिव सरोज खनालले जानकारी दिएका छन् । डा. पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दीको नागी गाउँमा जन्मेका थिए । स्थानीय विद्यालयबाट कक्षा ७ सम्म पढेका पुन म्याग्दीबाट चितवन गएर माध्यमिक तहको अध्यापन पुरा गरेका थिए ।

आर्थिक अवस्था कमजोर भएका कारण उनले स्नातक गर्न पाएनन् । त्यसपछि पुनले झन्डै १३ वर्षसम्म विभिन्न विद्यालयमा पढाए । त्यसैक्रममा उनले अमेरिका र यूरोपका विभिन्न विश्वविद्यालयमा आवेदन दिए। वहाँले ३३ वर्षको उमेरमा अमेरिकाको एक विश्व विद्यालयमा पढ्न आंशिक छात्रवृत्ति पाए र थप पढाइको लागि अमेरिका पुगे । पढाइमा निकै मिहिनेत गरे, पढाई सकेर नेपाल फर्केका पुनलाई गाउँमा आम्दानी स्रोत खोल्ने सोचेर उहाँले चौरीगाई र गाईको फारम खोले ।

पुनले आफू सानो हुँदा पढेको विद्यालयमा सुधार गरेर हाइ–स्कुलसम्म पढाइ हुने बनाए, गाउँलेहरुसँग मिलेर कागज उत्पादन सुरु गरे । गाउँमा मौरीपालन, आरुबखडाको जाम बनाउने, च्याउखेती, गाउँमै लुगा बुन्ने काममा स्थानीयलाई सहयोग गरे । डा. पुनले गाउँमा आएका विदेशीलाई साथी बनाउने र उनीहरुसँग सम्पर्क राखेर बिग्रेका कम्प्युटरको विभिन्न भाग ल्याइदिन लगाएर गाउँलेलाई कम्प्युटर चिनाउने मात्र नभएर बिग्रेका कम्प्युटरका भाग जोडेर कम्प्युटर नै निर्माण गर्न सिकाए ।

कम्प्युटर निर्माण गर्ने, त्यसमा इन्टरनेट जोडेर चलाउने, त्यहाँबाट वायरलेस टेक्नोलोजीमार्फत गाउँ–घरमा रहेका विभिन्न स्कुलमा इन्टरनेट पु¥याए । गाउँ–घरमा डाक्टर जान नमान्ने समस्या अहिले पनि उत्तिकै छ । बिगतमा त यो झनै ठूलो समस्या थियो । डा. पुनले गाउँकै पाका महिलालाई स्वास्थ सम्बन्धी तालिम उपलब्ध गराएर ती महिलाले सामान्य रुघाखोकी, ज्वरो, झाडापखाला आदि रोगमा सामान्य उपचार गराउन थाले ।

२०६५ ताका डा. पुनले हेटौंडा अस्पतालमा टेलिमेडिसिन सुरुवात गरेका थिए । ६० को दसकमा हेटौंडामा ईन्टरनेट प्रयोगमा आएको थियो त्यसको केही समयभित्रै डा. पुनले हेटौंडा अस्पतालमा टेलिमेडिसिन सुरुवात गरेको हेटौंडा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष सरोजकुमार खनाल बताउँछन् । सरकारी अस्पतालमा पहिलोपटक हेटौंडा अस्पतालमा टेलिमेडिसिन सेवाको सुरुवात डा. पुनले नै गरेको खनालले जानकारी दिए ।

पछिल्लो समय वीरगंजको कृषिऔजार कारखाना सञ्चालनका लागि सहयोग बटुल्ने उद्देश्यले आफ्नै जीवनगाथाको पुस्तक निकालेर कारखाना सञ्चालनमा ल्याउने अठोट सहित अहिले पुस्तक बिक्री गर्दै देशव्यापी अभियानमा लागेका पुनको अभियानमा सरकारले साथ नदिएको भन्दै युवाले सामाजिक संजालमार्फत् तीब्र आक्रोश पोखेका छन् ।
पुस्तक बिक्रीका क्रममा देशवासीबाट पाएको माया स्नेह र सम्मान निकै अतुलनीय रहेको डा. पुनले अभियानलाई भरपुर साथ र सहयोग दिइरहेको बताए ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनसहितको टोली विभिन्न जिल्लामा पुगेर त्यहाँका सामाजिक संघसंस्था, विद्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, विभिन्नपालिका, सडक किनारा तथा चोकमा बसेर माइकिङ गर्दै पुस्तक बिक्री गर्दै आएको छ । हरेक जिल्लामा स्थानीय समाजसेवी युवाले यो अभियानलाई समन्वय गर्दै भरपुर साथ र सहयोग गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*