त्रिखण्डीमै साधना गरेका योगी पाइलट बाबाको निधन: बाघझोरामा साधनास्थल र त्रिखण्डीमा आश्रम निर्माणाधीन

 भानुभक्त आचार्य
२०८१ भाद्र ५, बुधबार ११:२०

हेटौंडा-मकवानपुरको भैंसेस्थित त्रिखण्डीमा आश्रम निर्माण गर्ने योजनामा रहेका योगी पाइलट बाबाको मंगलबार दिँउसो मुम्बईस्थित कोकिलाबेन अस्पतालमा निधन भएको छ । पाइलट बाबाको निजी चिकित्सक डा. अनिल मिश्रले उनको निधनको पुष्टी गरेका छन् । डा. मिश्रले सामाजिक संजालमार्फत् दिएको जानकारी अनुसार पाइलट बाबालाई कोकिलाबेन अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । ८६ वर्षीय पाइलट बाबा केही समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको बताइएको छ ।

पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतको प्रसिद्ध तीर्थस्थल हरिद्वारमा हुने बताइएको छ । पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा उनको निधन भएको जानकारी दिइएको छ । बाबाका अनुयायीलाई शान्त रहन सामाजिक संजालमार्फत अपिल गरिएको छ । वास्तविक नाम कपिल सिंह भएपनि मकवानपुरको त्रिखण्डी मन्दिरमा बसेर साधाना गरेपछि पाइलट बाबाको नामले परिचत बनेका हुन् । भारतको विहार राज्यको सासाराममा सन् १९३८ मा जन्मिएका कपिल (पाइलट बाबा) ले सन् १९५७ समा भारतीय लडाकू विमान सैनिक सेवामा प्रवेश गरेका थिए ।

१५ वर्ष भारतीय सेनाको पाइलट पेशामा रहेका कपिल सेवानिबृत्त जीवन शान्तपूर्वक बिताउनका लागि नेपाल आएको त्रिखण्डी मन्दिरका अध्यक्ष रहेका हेटौंडाका ब्यवसायी अरुणराज सुमार्गीले जानकारी दिए । त्रिखडी मन्दिर बाहिर सडकछेउमा आराम गर्न बसेका कपिललाई अकास्मात कुनै शक्तिले आफ्नो शरीर खिचेको अनुभूति भयो र मदिरभित्र प्रबेश गरे । मन्दिरमा साधना गरिरहेका बाबाले कपिललाई अगाडि देख्नासाथ उनको बाल्यकालमा गाउँघरमा बोलाउने नामबाट बोलाइपछि कपिल ज्यादै अचम्मित भएका थिए ।

कपिलको बिगत, बर्तमान र भबिष्य सबै बताएपछि उनी हरिबाबासँग मोहित भए र साधनामा लागेका थिए । जलसमाधिमा पोख्त पाइलट बाबाले बागझोराको माथि लेकमा स्थापना गरेको आश्रममा अहिले रसियन, नेपालीहरुले साधना गरिरहेको सुमार्गीले जानकारी दिएका छन् । दीक्षा प्राप्त गरिसकेपछि पाइलट बाबाको रुपमा उनी भारत र नेपालमा आउजाउ गर्न थाले । यसैक्रममा करिब १० वर्ष अघि बाघझोराको माथि लेकमा संस्कृत विद्यालय स्थापना गर्न बिधिपूर्वक पूजाआजासहित भवन सिलान्यास पनि गरेका थिए ।

नेपालका बरिष्ठ राष्ट्रसेवकहरु पाइलट बाबाको भक्त थिए । मकवानपुरका पूर्वप्रजिअ मोदनाथ डोटेल, मउवासंघका पूर्वअध्यक्ष सुमार्गी पनि त्यो शिलान्यास कार्यक्रममा सहभागी
थिए । गृहसचिवमा रहेर सेवानिबृत्त डोटेल पाइलट बाबाले नेपालमा स्थापना गरेको ट्रस्टसँग आबद्ध छन् । नेपालको ट्रस्टको सम्पूर्ण जिम्मेवारी पाइलट बाबाले उनका निजी चिकित्सक डा. मिश्रलाई दिएका थिए ।

हेटौंडाबाट ९ किलोमिटर उत्तरमा रहेको त्रिखण्डेश्वर महादेवको मन्दिरको गुरुयोजना अनुसार पाईलट बाबाका गुरु हरिबाबा र रामपुरी गिरी बाबाको समाधिसहित ३० कोठाको अत्याधुनिक अतिथिगृह निर्माण कार्यमा पाइलट बाबा अग्रसर रहेका थिए । सेवानिबृत्त जीवनपछि शान्तिको खोजीमा भौँतारिदै उनले त्रिभुवन राजपथको भैंसेस्थित त्रिखण्डी महादेव मन्दिरमा गुरु हरिबाबा भेट्टाएका थिए ।

हरिबाबा त्रिखण्डीमा बस्थे । त्रिखण्डी उनको गुरुस्थली थियो । पाइलट बाबाले नेपाल र भारतका उच्चहिमाली क्षेत्रमा कठिन साधना गरेका थिए । साधना सम्पन्न भएपछि उनले रसिया, जर्मनी, बेलायत भ्रमण गरेर योग, ध्यान, धर्म, अध्यात्मको प्रचार गरे । भूमिगत समाधि, जल समाधि, ‘एयर टाइट ग्लास’ समाधिका साथै अनेकौँ स्थानमा दस महाविद्या यज्ञ आयोजित गरेर उनले सनातन हिन्दू धर्मको यश र कीर्ति स्थापित गर्नुकासाथै मानिसलाई सतमार्गमा ल्याउने काम गरेको सुमार्गी बताउँछन् । भक्तपुरको सूर्यविनायकमा रहेको जंगलमा पाइलट बाबाले आश्रम बनाएर बसेका थिए ।

नेपालमा विख्यात सन्त एवम् गुरुका रुपमा स्थापित पाइलट बाबा उज्जैन पीठाधीश्वर समेत थिए । नेपालको कूल जनसंख्या जत्ति नै भारतमा साधुसन्त रहेका छन् । यी साधुसन्त विभिन्न १३ वटा अखाडासँग आबद्ध छन् । संख्या, प्रसिद्धि एवम् विस्तारका दृष्टिकोणले जूना अखाडा सबैभन्दा ठूलो र प्रभावशाली मानिन्छ । यसै अखाडाका वरिष्ठतम महामण्डलेश्वर श्री १००८ सोमनाथ गिरी जनमानसमा महायोगी पाइलट बाबाका नामले विख्यात रहेको सुमार्गी बताउँछन् । पाइलट बाबाले आफ्नो गुरुस्थल त्रिखण्डीमा आश्रम बनाउन सुरु गरेका थिए । त्रिखण्डीमा निर्माणाधीन आश्रममा हालसम्म करिब ५० लाख रुपैयाँ खर्च भएको त्रिखण्डीका अध्यक्ष सुमार्गीले जानकारी दिएका छन् ।

पाइलट बाबाले त्रिखण्डी मन्दिरमा आएको समयमा केही संचारकर्मीलाई बोलाएर आफ्नो करिअरमा कसरी यु–टर्न आएको भन्ने विषयमा जानकारी दिने गरेका थिए । उनले भन्ने गरेका थिए ‘की जब कुनै अप्रिय घटना हुन लागेको हुन्थ्यो तब एक वृद्ध बाबा आएर घटनाको बारेमा बताइदिनुहुन्थ्यो । घटनाबाट बच्ने उपायका बारेमा पनि भनिदिनुहुन्थ्यो । सन् १९६२ मा युद्धको समयमा अचम्मको घटना घट्यो, जसले मेरो जीवनमा पूरै परिवर्तन ल्याइदियो ।’ आफू जलसमाधिमा साधना गर्ने काम पनि त्रिखण्डीमै भएको उनले बताएका थिए । ‘एक पटक युद्धको बेला सैनिक विमान उडाइरहँदा मेरो मूल टावरसँग सम्पर्क टुट्यो । मेरो हातमा विमान कन्ट्रोल थिएन ।

त्यो समयमा पनि फेरि उही बाबा आएर मलाई विमानबाट सुरक्षित अवरतण गराउनुभयो । यो कसरी सम्भव भयो ? म आफैं अचम्मित भएँ र त्यसपछि लाग्यो विज्ञानभन्दा माथि पनि अरु कुनै शक्ति छ । त्यपछि मैले सैनिकसेवाबाट अवकाश लिएर नेपालको यात्रा तय गरेँ । यात्रामा अनेकन दुःख कष्ट भोगेँ र मेरो सपनामा आउने बाबासँग त्रिखण्डीमा भेट भयो जसको नाम थियो हरि बाबा । मैले उहाँलाई नै आफ्नो गुरु मानें र गुरुसँग योगीको यात्रामा पाइला चालें ।’ पाइलट बाबाले सुरु गरेको आश्रमलाई निरन्तरता दिने र उनको बिचार र अभियानलाई जीवन्त राख्ने कार्यमा सहयोग गरिने सुमार्गीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*