दाम्लोले बाधिएको भैंसीले कसरी मा¥यो जंगली बाघ ?

भानुभक्त आचार्य
२०८१ भाद्र ७, शुक्रबार १०:१७

हेटौंडा-रमौलीप्रतापुरका बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको विषयमा बिहीबार दिनभर मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरीमा हल्लीखलली मच्चिएको छ । रमौली प्रतापुर पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट राप्ती वारी पूर्वपश्चिम राजमार्ग छेवैमा सारिएको बस्ती हो ।सामाजिक संजालमा दिनभर भाइरल बनेको घट्नालाई लिएर राष्ट्रिय निकुञ्जका संरक्षण अधिकारीहरुलाई पनि निक्कै चासोको विषय बन्यो । मनहरी गाउँपालिका–६ रमौलीका बलबहादुरको गोठमा दाम्लोले बाधेको भैंसीमाथि आक्रमण गर्न पुगेको बयस्क बाघ भैंसीको प्रतिआक्रमणमा परी मृत्युको मुखमा पुगेको हो । बिहीवार बिहान सवा ३ बजे यो घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मृत बाघले गोठमा रहेको भैसीलाई आक्रमण गर्दा भैंसी घाइते भएको र बाघ मृत फेला परेको प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।पर्सा राष्ट्रिय निकुञ्जकोसुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार ब्यारेकका सेनाका अनुसार बाघ बुढो रहेको, भैंसीले हान्दा बाघको मृत्यु भएको जस्तो देखिएको विषय मकवानपुर प्रहरीले उल्लेख गरेको छ । डिएसपी भण्डारीका अनुसार बाघको मृत्युको ठोस कारण पत्ता लागिसकेको छैन । घटनास्थल क्षेत्र चितवन राष्ट्रिय निकुञ्जमा पर्छ । प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको सेनाले मृत बाघ लगेको छ । जंगली जनावरमध्ये हिंस्रक मानिने बाघलाई भैंसीले मारेको नेपाली सेनाको प्रष्टिकरणबाट धेरै नागरिकले चासो राखेका छन् ।

सामाजिक संजालमा दाम्लोले किलोमा बाँधेको भैंसीले बाघको ज्यान जाने गरी कसरी आक्रमण ग¥यो होला ? भन्ने विषयमा निकै बहस जारी छ । ‘गोठमा बाँधिएको भैंसीले बाघलाई कसरी मार्न सक्छ ?’ भन्दै धेरै नागरिकले सामाजिक सञ्जालमा जिज्ञाशा राखेका छन् । भैंसीको प्रतिकारमा बाघ मरेको पुष्टि चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बिहीबार बिहान गरेका छन् ।

मरेको बाघ बुढो र दुब्लो देखिने बताउँदै उनले निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्ने अनुमान गरे ।मध्यवर्ती क्षेत्रस्थित प्रतापुरमा पसेको बाघको पोस्टमार्टम भएको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयले बाघको पोस्टमार्टम गरेको हो । कोषको कार्यालयका प्रमुख डा. मधु क्षत्रीले पोस्टमार्टमबाट बाघको अवस्था अत्यन्त दयनीय पाइएको बताए । ‘यो बाघ करिब करिब ७ वर्षको थियो । बयस्क बाघ हो । दाँत पनि सबै राम्रो अवस्थामा छन्, कुनैलाई केही भएको छैन’, क्षत्रीले सुनाए ।

क्षत्रीले जंगलमा यो बाघ अर्को बयस्क बाघसँग कम्तिमा डेढ साताअघि जुधेको अनुमान लगाए । जंगलमा जुधिसकेपछि हारेको यो बाघको खेलखोर क्षेत्र अर्कोले खोसेको कारण शिकार खेल्न नपाएको उनले बताए । अर्को बाघले टोकेर मरनासन्न शरीर भएको यो बाघ जंगलमा शिकार खेल्न नसकेपछि गाउँ पसेको हुनसक्ने उनको भनाई छ । धेरै दिनदेखि खान नपाएर बाघको पछाडिको भाग पनि सुकेको उनले बताए ।

उनका अनुसार भैंसीलाई आक्रमणका क्रममा मरेको यो बाघ त्यसअघि नै पूरै घाइते अवस्थामा थियो । ‘यो बाघ पूरै घाइते थियो । शरीरका अधिकांश भागमा अर्को बाघले टोकेका प्वाल नै प्वाल मात्र भेटिए, भैंसीको आक्रमणमा नमरेको भए पनि बढीमा अबको एक सातामा यो बाघ मर्न सक्थ्यो’, क्षत्रीले भने । यो बाघको पोस्टमार्टममा सहभागी अर्का पशुचिकित्सक अमिर सडौलाले शिकार गर्न नसकेकै कारण भोकै परेको बताए ।

एक साताभन्दा बढीको घाउ बोकेर गाउँ पसेको बाघ भैंसीलाई देखेपछि शिकार गर्न झम्टिएको र त्यक्रममा उसले भैंसीमाथि सीधै घाँटीमा आक्रमण गरेको पाइएको डा. सडौलाले बताए । ‘घाँटीमा समातेपछि भैंसीले बलगर्ने क्रममा सिङले लागेर बाघ त्यहीँ ढल्न पुगेको देखियो । बाघ घाँटीमा झुन्डिएको अवस्थामा भैंसीको सिङले उसको च्यापुभन्दा माथि, कानभन्दा तल र आँखाभन्दा मुनि ठूलो चोट दियो । त्यहीक्रममा ढलेको बाघले प्राण गुमायो ।,’ उनले सुनाए ।

डा. क्षत्रीले पनि भैंसीले झट्का दिएर प्रतिकार दिँदा सिङले च्यापुमा लागेर बाघ मर्न पुगेको जानकारी दिए । ‘घुमेको सिङ भएको भैंसीले हान्दा पहिले नै घाइते भएको बाघका लागि काल बन्यो । आफ्नो खेलखोर गुमाइसकेपछि यो बाघ जंगलतिर जानै सकेन,’ उनले भने ।सन् १९९५ यता नेपालमा पाटेबाघको संख्या क्रमिकरुपमा बढेको छ । सन् १९९५ मा गरिएको बाघ गणनामा ९८ वटा बाघ रहेको थियो । सन् २००० मा गरिएको गणनामा १०९, सन् २००५ मा गरिएको गणनामा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ पुगेको थियो । राष्ट्रिय निकुञ्जका जंगलक्षेत्र सीमित भएकाले बाघको संख्यामा वृद्धि हुँदा स्वाभाविकरुपमा बाघले आहारको खोजीमा मानवबस्तीतिर प्रबेश गर्ने दर बढिरहेको बिज्ञहरुले बताएका छन् ।

पाटेबाघ नेपालसहित १३ वटा मुलुकमा मात्र पाइन्छ । यी मुलुकका सरकार तथा राष्ट्रप्रमुखको रसियाको सेन्टपिटर्समा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । सन् २०१८ को गणना अनुसार नेपालमा बाघको संख्या २३५ पुगेको छ । चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवम् मध्यवर्ती र आसपासका वनक्षेत्रमा १६ वटा बाघ भेटिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*