थाहाको औद्योगिक ग्राममा छैन उद्योगीको चासो
हेटौंडा-सरकारले हरेक पालिकामा एउटा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेपनि प्रभावकारी कार्यान्वयन भने हुन सेकको छैन । मकवानपुरको थाहा नगरपालिकाले त्रिभुवनराजपथस्थित नौखण्डेको देउराली नजिकै औद्योगिक ग्राम स्थापना गर्ने तयारी गरेको पनि चार वर्ष भइसकेको छ । नगरपालिकाले औद्योगिक ग्राम स्थापनाको लागि बृस्त्रृत परियोजना पस्ताव (डीपीआर) तयार गरेको छ । नेपालकै पुरानो राजपथ मानिने त्रिभुवन राजपथसँगै थाहानगरको औद्योगिक ग्राम जोडिएको छ ।
त्रिभुवन राजपथबाट डेढ किमि पूर्वपट्टी चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा समाबेस गरी थाहा–११ नौखण्डेको देउरालीमा औद्योगिक ग्राम स्थापनाका लागि ९० लाख रुपैयाँको बोलपत्र आब्हान गरिएको नगरप्रमुख बिष्णु बिष्टले जानकारी दिए । स्थानीय घरेलु उद्योगलाई प्रोत्साहन गरी बिक्री कम हुने समयका तरकारीलाई सुख्खा बनाई स्वरुप परिवर्तन गरेर पुनः उपभोग गर्न मिल्ने गरी बिक्री गर्ने व्यवस्था गर्ने खालका औद्योगिक प्रतिष्ठानलाई प्राथमिकता दिइने नगरप्रमुख बिष्टले बताए ।
स्थानीय कच्चापदार्थको उपयोग गर्ने खालका औद्योगिक प्रतिष्ठान स्थापना गर्नका लागि औद्योगिक ग्रामको जमीन सम्याउने र सडक, विद्युत, खानेपानीको पूर्वाधार तयार गर्ने काम गर्न बोलपत्र आब्हान गरिएको नगरप्रमुख बिष्टले जानकारी दिए । नौखण्डेको मनकामना मन्दिर आसपासमा रहेको करिब एक सय रोपनी जमिनमा औद्योगिक ग्राम स्थापनाको लागि तयारी भइरहेको नगरप्रमुख बिष्टले बताए । नगरको ३५ लाख रुपैयाँ लगानीमा अहिले बाटोमा स्ल्याव ढलान गर्ने कार्य भइरहेको छ ।
‘हामीले जमिन हेरेर स्थानीयको रायसल्लाह लिएका छौं’–नगरप्रमुख बिष्टले भने । कच्ची सडक पुगेको भएपनि त्यसलाई स्तरीकरण गर्ने, पानी, विद्युत, टेलिफोन जस्ता पूर्वाधार उपलब्ध गराउनका लागि बोलपत्र भएको नगरप्रमुख बिष्टले जानकारी दिए । यो कामका लागि पूर्वनगरप्रमुख लवशेर बिष्टले पनि संवेदनशील भएर काम गरेको स्थानीयले बताएका छन् । थाहानगरबासीले उत्पादन गर्ने मौसमी तथा बेमौसमी तरकारीलाई स्वरुप परिवर्तन गरी त्यसलाई बजारमा लैजाने खालको उद्योग स्थापना गर्नुपर्ने पूर्वनगरप्रमुख बिष्ट बताउँछन् ।
कच्चापदार्थका लागि बाहिरी मुलुकमा निर्भर हुननपर्ने, गुन्द्रुक, मस्यौरा, मुलाको सन्दना, सिन्की उत्पादन गर्ने उद्योगमा लगानी गर्ने लगानीकर्ताको खोजी गरिरहेको उनीहरुले बताएका छन् । बाँसका परम्परागत घरेलु सामग्री, काठका सामग्री उत्पादन गर्ने औद्योगिक प्रतिष्ठानलाई प्राथमिकतामा दिने नगरपालिकाको नीति छ । थाहानगरले नीति तथा कार्यक्रममा पनि कृषिजन्य उत्पादन तथा पशुपालन, पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
नगरपालिकाले कृषिजन्य उत्पादन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेकोले औद्योगिक ग्राममा पनि स्थानीय कच्चापदार्थमा आधारित उद्योगलाई प्राथमिकता दिइने बताइएको छ । औद्योगिक ग्राममा औद्योगिक प्रतिष्ठान स्थापनाका लागि हालसम्म कसैले पनि आवेदन नदिएको नगरप्रमुख बिष्टले जानकारी दिएका छन् । ‘हामीले पूर्वाधार तयार गर्नै पनि केही बाँकी भएकोले उद्योगमा लगानीकर्ताले चासो नदेखाएको हुनसक्छ । उद्योग राख्नका लागि लगानीकर्तालाई आब्हान गरिरहेका छौैं’–नगरप्रमुख बिष्टले भने ।
नगरबासीले उत्पादन गरेका तरकारी तथा खाद्यान्नको बजार व्यबस्थापनमा जोड दिइने नगरपालिकाले जनाएको छ । औद्योगिक ग्राममा घरेलु तथा साना उद्योग संचालन गर्न चाहने व्यक्ति वा फर्मलाई अनुदान र मेशिन उपलब्ध गराउने व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको नगरप्रमुख बिष्टले बताए । स्थानीयलाई रोजगार सृजना गरी नगरभित्रै पुँजी परिचालन गर्ने र उत्पादित वस्तुलाई बिक्री वितरणको लागि बजारको खोजी नगरपालिकाले पनि गर्ने नीति लिइएको नगरप्रमुख बिष्टले जानकारी दिए ।
औद्योगिक ग्राममा बैदेशिक रोजगारीबाट फर्केका युवालाई स्थानीय कच्चापदार्थमा आधारित औद्योगिक प्रतिष्ठान स्थापना गर्न तालिम, सहजीकरण गर्न आफूहरुले स्थानीय सरकारलाई आग्रह गरेको थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले बताए । स्थानीय सरकारले उद्योग वाणिज्य संघको कुरामा खासै चासो नदेखाएको गुनासो अध्यक्ष खत्रीको छ । थाहा नगर बेमौसमी तरकारीका लागि प्रख्यात ठाउँ हो । थाहानगरको तरकारी काठमाडौं, हेटौंडा, बीरगंज, भरतपुर, जनकपुरलगायतका सहरमा पुग्ने गरेको छ ।
थाहानगर कृषि तथा पर्यापर्यटन क्षेत्रमा राम््रो सम्भावना बोकेको क्षेत्र हो । कृषि र पर्यटन उद्योग संचलन गर्न अनुदान दिने व्यवस्था नगरपालिकाले गर्ने तयारीका साथ कार्यबिधि निर्माण भइरहेको बताइएको छ । यसका लागि ऋणकोष स्थापना गरिने नगरप्रमुख बिष्टले जानकारी दिए । थाहानगरको बज्रबाराहीमा तीनवर्ष अघिमात्र स्थानीय कल्पना बलामीले २५ लाख रुपैयाँको लगानीमा कल्पना थाहा कपडा उद्योग संचालनमा ल्याएकी छन् । यो उद्योगमा ५ जना स्थानीयले रोजगारी पाएका छन् । तत्काल ५० लाख रुपैयाँ लगानी पु¥याएर १० जना महिलालाई रोजगारी दिने लक्ष रहेको सञ्चालक बलामीले जानकारी दिइन् ।
थाहानगरमा बैशाखजेठमा पनि जाडो हुने भएकोले सुती र उलन कपडाको माग धेरै रहेकोले आफूले यो उद्योग सुरु गरेको कल्पनाले बताइन् । हाईनेकको माग अत्यन्तै रहेको उनले जानकारी दिइन् । यस प्रकारका उद्योगप्रति सबैको आकर्षण बढाउन सहयोग गर्ने नगरप्रमुख बिष्टले विश्वास व्यक्त गरे । स्थानीय कच्चापदार्थ (अल्लो) को प्रयोग गरी कपडा उत्पालन गर्ने लक्ष्य रहेको कल्पनाले बताइन् ।
रोजगारको आधारशीला उद्योग भएकाले यस्ता उद्योगको विकासमा नगरपालिका सधै साथ रहने नगरप्रमुख विष्टले बताए ।







