हेटौंडामा दैनिक साँढे तीन करोड लिटर पानी वितरण
हेटौंडा-हेटौंडा खानेपानी व्यावस्थापन बोर्डअन्तर्गतका २८ हजार धारामार्फत दैनिक साँढे तीन करोड लिटर पानी वितरण भइरहेको बताइएको छ । बोर्डले आर्थिक वर्ष २०८०÷८१ को प्रगति विवरण तथा आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै यसका विषयमा जानकारी दिएको हो ।बिगतका दिनमा खानेपानी अभाव भएपनि अहिले पानीको अभाव भएको छैन । बोर्डले समवेल निर्माण गरी आवश्यक पानी उत्पादन गरिरहेको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । बोर्डबाट मासिक एक करोड १६ लाख रुपैयाँको बिलिङ हुने गरेको अध्यक्ष बिष्टले बताए । उपमहानगरका खानेपानी उपभोक्ता समितिलाई पनि बोर्डमा ल्याउने र उनीहरुलाई पानी वितरणमा सहज बनाउँदै लगिएको छ ।
बोर्डले एक वर्षभित्र एक करोड लिटरभन्दा बढी पानी उत्पादन गरेको छ । समबेल, डिपबोरिङ र गाभिएका उपभोक्ता समितिबाट १ करोड लिटर खानेपानी थप भएको बोर्डले जानकारी दिएको छ । सामरी समबेलबाट ६० लाख लिटर, मैदाटोलको समबेलबाट १५ लाख लिटर, लामसुरे डिपबोरिङबाट १२ लाख लिटर र उपभोक्ता समिति हस्तान्तरण भई थपिएको खानेपानी १४ लाख १७ हजार लिटर गरी एक करोड १ लाख १७ हजार लिटर खानेपानी एकवर्षमा थपिएको अध्यक्ष विष्टले जानकारी दिए ।बोर्डले प्रतिदिन ३ करोड ५७ लाख लिटर पानी उत्पादन गरी दैनिक सरदर ७ देखि ८ घण्टा २७ हजार ७ सय २१ धारामार्फत वितरण गर्दै आइरहेको छ ।
हेटौंडामा दैनिक ३ करोड ४० लाख लिटर पानीको माग छ । हेटौंडाको मुख्य नगरक्षेत्रभित्र २४ सै घण्टा पानी वितरण गर्न बोर्ड सफल भएको अध्यक्ष विष्ट बताउँछन् । हेटौंडा उपमहानगरको ७० प्रतिशत भूभागमा बसोबास गर्ने १ लाख ६० हजार नगरबासीलाई ३ करोड ५७ लाख लिटर खानेपानी वितरण गरिरहेको हो । खानेपानी संस्थान हुँदा दैनिक ५० देखि ६० लाख लिटरसम्म आपूर्ति हुन्थ्यो खानेपानीको माग भने दैनिक १ करोड लिटरभन्दा बढी थियो । सुख्खा समयमा पानीको ठूलो हाहाकार हुन्थ्यो । संस्थान हस्तान्तरण भएर बोर्ड बनेपछि २०७० यताका १० वर्षमा खानेपानी आपूर्तिमा निकै सुधार भएको छ । नगरमा बसोबास गर्ने नगरवासीलाई स्वच्छ र सर्वसुलभ किसिमबाट गुणस्तरीय रुपमा एउटै शुल्कमा खानेपानी उपलब्ध गराउनु बोर्डको उद्देश्य रहेको अध्यक्ष विष्टले बताए ।
बोर्डमा हालसम्म १६ वटा उपभोक्ता समिति हस्तान्तरण तथा सेवाक्षेत्र विस्तार गर्दा ११ हजार धारा संख्या थपिएको छ । हेटौंडा उपमहानगरले नगरबासीलाई राहत दिने उद्देश्यले न्यूनतम खानेपानी महशुलमा १० हजार लिटसम्म खपतमा छुटको व्यवस्था गरेसँगै खानेपानी बोर्डमा उपभोक्ता समिति हस्तान्तरण हुने क्रम बढेको छ । बोर्डले हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरी सेवाक्षेत्रमा सुधार गर्दै नयाँ क्षेत्रमा नयाँ आयोजनाको थालनी गरिरहेको बोर्डका आर्थिक प्रशासन प्रमुखसमेत रहेका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिए ।
गत आर्थिक वर्षमा हेटौंडा–८ मैदाटोलमा सशस्त्र प्रहरी बलको कम्पाउण्डभित्र समबेल, मकवानपुरगढी गाउपालिका–४ स्थित सामरीपुल नजिकै प्रतिदिन ६० लाख लिटर पानी उत्पादन क्षमताको समवेल संचालनमा आएपछि सहज भएको हो । शक्तिखोलामा पानीको स्रोत पर्याप्त भएकाले हेटौंडा–१५, १६, १७ र १८ मा वितरण गर्न सकिने सम्भावना देखिएको बोर्डका अध्यक्ष विष्ट बताउँछन् ।बोर्डले गत आर्थिक वर्षमा १९ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
बोर्डले ग्राहकबाट पानी महसुल संकलनलगायत समग्र आन्तरिक आम्दानी लक्ष्यअनुसार संकलन गर्न सफल भएको छ । २०८१ असार मसान्तसम्म पानी महसुल, जरिवाना, नयाँ धारा जडान, थप पाइप तथा फिटिङ, मिटर जडान, मर्मत, नामसारी, निवेदन तथा अन्य दस्तुर र बैंक व्याज गरी वार्षिक कुल लक्ष्यको तुलनामा आन्तरिक आयतर्फ १०२.७५ प्रतिशत अर्थात १५ करोड ४ लाख ३६ हजार रुपैयाँ संकलन गरेको छ ।बोर्डले बाह्य आम्दानी तर्फ हेटौंडा उपमहानगर र मकवानपुरगढी गाउँपालिकासँगको सहकार्यअन्तर्गत १ करोड ७९ लाख ९४ हजार रुपैयाँ प्राप्त गरेको अध्यक्ष विष्टले बताएका छन् । बोर्डको बैंक २ करोड ३२ लाख रुपैयाँ मौज्दात छ । गत आर्थिक वर्ष ०८०÷८१ को असार मसान्तसम्मको बिलिङ रकम १३ करोड ९७ लाख रुपैयाँमध्ये १३ करोड ५८ लाख २५ हजार अर्थात ९७.२२५ महशुल उठाउन बोर्ड सफल भएको सूचना अधिकारी न्यौपानेले बताए ।







