आफ्नै अर्गानिक साबुन प्रयोग गर्दै वनकरिया
हेटौंडा- वनकरिया समुदायले भाँडा माझ्ने, लुगाधुने र नुहाउने साबुन बजारबाट खरिद नगरी आफ्नै उत्पादन प्रयोग गरिरहेका छन् । घ्यूकुमारी, तितेपाती र नीमको पातबाट अर्गानिक साबुन उत्पादन गरी घरायसी प्रयोजनका साथै बिक्री पनि गरिरहेका हुन् ।तीन दसक अघिसम्म फिरन्ते जीवन बिताइरहेका वनकरिया महिलाले एक वर्ष अघि घरेलु उद्योग दर्ता गरेर साबुन उत्पादन गर्न थालेका हुन् । गाउँघरमा पाइने जडिबुटीबाट अर्गानिक साबुन उत्पादन गर्न घरेलु उद्योगमा जोडिएका हुन् । मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापमा मात्रै बसोबास रहेको लोपोन्मुख सीमान्तकृत वनकरिया समुदायले घरेलु उद्योगकारुपमा उद्योग दर्ता गरेका छन् । उनीहरुले उत्पादन गरेका साबुन गाउँमा नै खपत हुने गरेको वनकरिया समुदायकी अगुवा महिला सन्तोषी वनकरियाले बताइन् ।
वनकरिया चेपाङ महिला साबुन उद्योगको नाममा २५ जना वनकरिया वनकरिया मिलेर उद्योग दर्ता गरेका हुन् । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उनीहरुलाई साबुन बनाउने तालिम दिएपछि आयआर्जनमा आफूहरु जोडिने अवसर प्राप्त भएको सन्तोषीले बताइन् । साबुन उत्पादन गर्नको लागि आवश्यक औजारसमेत मञ्चले उपलब्ध गराएको थियो । ‘साबुनका लागि नीमको बोट आफ्नै बारीमा रोपेका छन् । घ्यूकुमारी पनि उनीहरुकै बारीमा छ । तितेपातीको खासै दुःख छैन, जताततै पाइन्छ सन्तोषीले भनिन् ।
तालिम दिएको संस्थाले फर्मा र साबुन बनाउन आवश्यक सामग्रीसहित दुई लाख रुपैयाँ बीउपूँजी उपलब्ध गराएको थियो । उनीहरुले साबुन बनाउन बुटवलबाट फर्मा ल्याएका थिए । ‘साबुन बनाउन मिहेनत पर्छ, तितेपाती टिप्न जानुप¥यो, केलाउनुप¥यो पकाउनुप¥यो,’ सन्तोषीले भनिन् । यहाँ उत्पादन गरिएको साबुन घाउ खटिरा, चिलाउने समस्या भएका र छालाका रोगीलाई राम्रो हुने उनीहरुको बिश्वास छ । घ्युकुमारी, नीमको पात र तितेपातीको पेस्ट बनाएर, झन्डै एक घण्टा पकाएपछि त्यसलाई साबुन बनाउने फर्मामा हालिन्छ ।
मञ्चले समूहका लागि साबुन निर्माण गर्न पाँचवटा फर्मा दिएको छ । जसमा कुनैमा एक पटकमा ६ वटा साबुन बनाउन मिल्छ भने कुनैमा एकैपटक २४ वटासम्म साबुन उत्पादन गर्न सकिन्छ । सानो, मध्यम र ठूलो साबुन उत्पादन गरेका वनकरिया महिलाले प्रतिगोटा २० देखि ६० रुपैयाँसम्ममा साबुन बेच्ने गरेका छन् । तालिम दिन सहयोग गर्ने संस्थाले साबुन खरिद गरिदिने गरेको छ । ‘अहिले साबुन खरिद बिक्रीको समस्या छैन,’ सन्तोषीले भनिन्,–‘पालिकामा रहेका विभिन्न कार्यालय र गाँउमा मानिसले यही साबुन खरिद गर्ने गरेका छन्,’ । त्यतिमात्र होइन, वनकरिया बस्तीका २२ घर परिवारले यही साबुन प्रयोग गर्छन् । लगानी पुँजी न्यून भएकाले उत्पादन पनि न्यून हुने गरेको छ ।
साना किसान कृषि सहकारी, राष्ट्रिय आदिवासी महिला मञ्चले साबुन किनिदिएको छ । स्थानीय बजारमा विस्तारै पहुँच बढाउँदै छन् उनीहरु । लोपोन्मुख वनकरिया समुदायको नाममा एकधुर जमिन पनि छैन । उनीहरु धर्तीपुत्र भएपनि उनीहरूकै नाममा एक धुर जमिन नभएको मनहरी–४ का वडाध्यक्ष प्रकाश थापाले बताए । उनीहरु अहिले बसोबास गरिरहेको क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रको कबुलियती वन क्षेत्र हो । लोपोन्मुख वनकरिया समुदाय करिब तीन दशक अघिसम्म जंगलमा फिरन्ते जीवन बिताइरहेका थिए ।
उनीहरुको जीवनलाई सहज बनाउन सरकारले २०६२ सालमा मुसेधापस्थित कबुलियती वन उनीहरुलाई २० वर्षका लागि सम्झौता गरेर उपलब्ध गराएको थियो । शाही गृहमन्त्री कमल थापालेपहिलोपटक वनकरिया समुदायका १४ जनालाई नेपाली नागरिकता प्रदान गरेका थिए । अहिले बसोबास गरेकै स्थानको जग्गाको लालपुर्जा उपलब्ध गराइदिन सरकारसँग वनकरिया समुदायले माग गर्दै आएको छ । मुसेधापमा अहिले २२ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् । सरकारले २०६६ सालदेखि लोपोन्मुख दश वटा जातिलाई मुलुकको मूलधारमा ल्याउने उद्देश्यले वनकरिया समुदायलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ ।
वनकरिया समुदायका ६ जनाले स्थानीय पशुपतिनाथ माविबाट प्रबेशिका÷एसईई परीक्षा उत्तीर्ण गरेका छन् । पम्फा, सन्तोषी, अनिलले प्राबिधिक विषय अध्ययन गरेका छन् भने फूलमाया र मालतीले हाल मकवानपुर बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययन गरिरहेका छन् । पशुपतिनाथ माविमा अहिले १४ जना वनकरिया बालबालिका अध्ययन गरिरहेको विद्यालयले जनाएको छ ।







