‘थाहा पाउने थलो’ पुस्तकालयको कन्तबिजोग

साझाकुरा
२०८१ भाद्र १६, आईतवार ११:५४

हेटौंडा- रुपचन्द्र विष्ट (रुदाने) को जन्मथलो थाहा नगरपालिकामा जनताले थाहा पाउन भनेर खोलिएका वर्षौ पुराना पुस्तकालय अलपत्र अवस्थामा छन् ।थाहा नगरपालिकाभित्रक आधा दर्जन पुस्तकालय अलपत्रमात्र नभई जीर्ण भवन र पुस्तकमा धमिरा लाग्ने अवस्थामा गुज्रिइरहेका छन् । तर, ‘थाहा पाउने थलो’ पुस्तकालयको व्यवस्थित सञ्चालनमा सम्बिन्धत निकायको चासो परेको देखिँदैन । थाहा नगरपालिकासँग ‘थाहा’को अर्थपूर्ण साइनो छ । यी अव्यवस्थित पुस्तकालयले त्यो थाहाको साइनो कतै मेटाउने त हैन ? भन्ने चिन्ता यतिबेला थाहाका पुस्तकप्रेमीलाई परेको छ ।

मकवानपुरको उत्तरी ग्रामीणभेग थाहा नगरपालिकाको शिखरकोटस्थित नवजागृत पुस्तकालय, थाहा–६ बज्रबाराहीमा रहेको सुनौलो सामुदायिक सिकाइ केन्द्र, पालुङको जीवनज्योति, ओखरबजारको सूर्योदय लगायत सामुदायिक पुस्तकालयका संरचना लथालि· रहेका छन् । अधिकांश पुस्तकालयको अवस्था नाजुक छ । पुस्तकालय भवन छ, किताब पनि छन् तर, धमिरा लागिसकेको । पुस्तकालयमा पाठक न व्यवस्थापन लथालि· रहेको स्थानीय पुस्तकप्रेमीहरु गुनासो गर्छन् ।

पुस्तकालय अलपत्र हुँदा रुदानेको ‘थाहा’ अभियानलाई गिज्याइरहेको छ । विद्रोही स्वभावका रुदाने (रुपचन्द्र–दामन–नेपाल) पालुङका जनतालाई बारम्बार ‘थाहा’ पाउनुपर्छ भन्थे । रुदाने त्यतिबेला घरघरै पुगेर ‘जीवन, जगत, राजनीति र समाज ‘थाहा’ भएमा मान्छेले सुख पाउने र थाहा नपाए तिमीहरुकै जस्तो नारकीय जीवन पाउँछस् भातेहरु’ भन्दै हिँड्थे । ‘थाहा आन्दोलन’ अर्थात् जनताले थाहा पाउनै पर्छ भन्ने आन्दोलन उनले चलाएका थिए ।

त्यो आन्दोलनको मर्मविपरित रुदानेले खोलेका पुस्तकालयको संरक्षण र नियमित सञ्चालनको जिम्मा थाहा नगरपालिकाले लिनुपर्नेमा त्यसको ठीक उल्टो भएको स्थानीय गुनासो गर्छन् । १९९० मा दामनको घर्तीखोलामा जन्मिएर २०२२ मा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च निर्वाचित भएका थिए, रुदाने । ‘थाहा’ आन्दोलनकै क्रममा उनले सामुदायिक पुस्कालय खोले पालुङमा । पछि पनि दामनपालुङमा पुस्तकालय स्थापना भएका थिए ।

थाहा आन्दोलनको जगमा उभिएको थाहा नगरपालिकाको वर्षाै पुराना पुस्तकालय अलपत्र मात्र छैनन्, दयनीय अवस्थामा गुज्रिएका छन् । जीर्ण पुस्तकालयका किताबमा लागेको धमिराले रुदानेको ‘थाहा’ आन्दोलनलाई गिज्याइरहेको हो । थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्टले पुस्तकालयको अवस्था बारे अब बुझेर आवश्यक काम गर्ने बताए । उनले पुस्तकालय सञ्चालनको जिम्मेवारी लिएका बजार व्यवस्थापन समिति, क्लबहरुले जानकारी नगराएको बताए । ‘म अब बुझ्छु । के गर्नपर्छ हामी गर्छाै ।,’ उनले भने ।

पालुङमा स्थापना गरिएको जीवनज्योति पुस्तकालय ३ दशकदेखि बन्द छ । पुस्तक धमिराले खाइसकेको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले बताए । यो पुस्तकालय भवन टेको लगाएर राखिएको छ । रुपचन्द्र विष्टको सक्रियतामा वि.सं. २०२२ सालमा पालुङमा स्थापना गरिएको जीवनज्योति पुस्तकालय २०३५ सालसम्म आंशिक चलेको भएपनि २०४८ सालपश्चात् पूर्णरुपमा बन्द भएको उनले जानकारी दिए । पुस्तकालयमा झन्डै पाँच हजार पुस्तक थिए । अहिले धुलिया लागेका केही पुस्तहरु मात्र छन् ।

बाहिरैबाट हेर्दा २०७२ सालको भुकम्पले चरचरी चर्काएको भवन ढल्ने अवस्थामा पुगेको छ भने पुस्तक सबै धमिराले खाएर धूलैधूलो भएका छन् । रुपचन्द्रले विभिन्न क्षेत्रबाट इतिहास, जीवनी, समाजशास्त्र, दर्शनलगायत किताब ल्याएर पुस्तकालयमा राखेका थिए । पाँच सयभन्दा बढी पुस्तकालयका सदस्य थिए । पुस्तकालयले यस क्षेत्रका बासिन्दालाई पढ्ने बानी बसालेको स्थानीयवासी ध्रुव श्रेष्ठले बताए ।

शिखरकोटमा पनि रुपचन्द्रले नवजागृत पुस्तकालय २०२५ सालमा स्थापना गरेका थिए । त्यो पनि लामो समयसम्म बन्द भयो, अहिले आंशिक सञ्चालनमा छ । अहिले पनि पाठकका लागि पुस्तकालय खुल्ने गरेको बताइन्छ । नवजागृत पुस्तकालय गोपाल गोपाली र तीर्थदास श्रेष्ठलगायतको प्रयासमा शुभारम्भ भएको पुस्तकालयको आफ्नै भवन छ । घर भाडामा लगाएर पुस्तकालयले स्रोत संकलन गर्दै आएको छ ।

थाहा नगरपालिकाको ओखरबजारमा रहेको सूर्योदय पुस्तकालय बन्द अवस्थामा छ । वि.सं. २०४८ सालमा स्थापना भएको पुस्तकालयको आफ्नै भवन छ । भवन भाडामा लगाइएको छ । पुस्तकालय सञ्चालनमा छैन । थाहा नगरपालिका वडा नं ६ को बज्रबाराहीमा रहेको सुनौलो सामुदायिक सिकाइ केन्द्र मार्फत पुस्तकालय सञ्चालनमा रहेको छ । थाहाको अन्य पुस्तकालय भन्दा यो पुस्तकालय फरक छ ।

वि.सं. २०७० सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालय मकवानपुरको मातृत्वमा स्थापना भएको यो पुस्तकालय अहिले थाहा नगरपालिका शिक्षाशाखा मातहतमा छ । दैनिक विहान र बेलुका नै पुस्तकालय खुल्ने अध्यक्ष रुपचन्द्र गोपालीले जानकारी दिए । सरकारले पुस्तकालय दिवस मनाउने भनिरहँदा थाहा नगरपालिका मात्र नभई मकवानपुरमा रहेका पुराना पुस्तकालयहरुको अवस्था दयनीय
छ । वि.सं. २००९ सालमा भीमफेदीमा स्थापना गरिएको ज्योति पुस्तकालयको अवस्था पनि नाजुक छ । यो पुस्तकालय मकवानपुरको पहिलो हो ।

२०१८ सालतिर हेटौंडामा स्थापना गरिएको हाम्रो पुस्तकालय, २०२८ सालमा तत्कालीन हटिया गाविसमा स्थापना गरिएको धरणीधर पुस्तकालय, २०२५ सालमा नगरपालिका रोडमा स्थापना गरिएको मानस पुस्तकालय र २०३५ सालमा स्थापना गरिएको जनपुस्तकालय पनि उस्तै हालतमा छ । हेटौंडाको पुरानो पुष्पलाल पार्कमा रहेको पुस्तकालय भने सञ्चालनमा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*