एलिसा हत्या आरोपमा श्रीमानसहित परिवारका चार जना पक्राउ

साझाकुरा
२०८१ भाद्र १८, मंगलवार ११:२९

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाकी २२ वर्षीया एलिसा न्यौपाने हत्याका आरोपित श्रीमान समिर खान भनिने चाँद खाँ पठान पक्राउ परेका छन् ।मकवानपुर प्रहरीले आरोपित हेटौंडा–४ कमलडाँडा बस्ने खानलाई आज साँझ ६ बजे हेटौंडा–५, स्थित लटीनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो । घटनापछि खानलाई भगाउन सहयोग पु¥याएको अभियोगमा प्रहरीले परिवारका अन्य चारजनालाई पनि पक्राउ गरिएको मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

आरोपित खानलाई घटनापछि भाग्न सहयोग पु¥याएको अभियोगमा उनका आमा ५५ वर्षकी सैरुन खान, खानको श्रीमती २६ वर्षीया रविना खातुनलाई १५ भदौमा हेटौंडा–४, कमलडाँडास्थित घरबाट र खानको ससुरा पर्सा बीरगञ्ज महानगरपालिका–३० लालपर्साका ५६ वर्षीया लालबाबु खाँ पठान र लालबाबुका छोरा खानको जेठान ३० वर्षीय फैयाज अहमदलाई पक्राउ गरिएको डिएसपी भण्डारीले बताए ।

उनीहरु चार जनालाई मकवानपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानको मतियारको रुपमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्ना होटलमा ९ भदौमा एलिसा न्यौपानको हत्या गरेको आरोप खानमाथि छ । प्रहरीले होटलको २०५ नम्बर कोठामा १० भदौ बिहानमात्रै एलिसालाई मृतअवस्थामा फेला पारेको थियो । आरोपित खान एलिसाको हत्या गरी ९ भदौ बेलुका नै होटलबाट निस्किएको प्रहरीको निश्कर्ष छ ।

घटनाको मकवानपुरका प्रहरी प्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालको नेतृत्वमा अनुसन्धान भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ९ भदौ अपरान्ह ५ बजे समिर खान र एलिसा बा ६४ प १३५ नम्बरको स्कुटरमा बसपार्कस्थित रत्ना होटलमा आएर बसेको खुलेको छ । सोही दिन रातको सवा ९ बजे आरोपित खान केही समय होटल बाहिर गएर पुनः कोठामा फर्किने बताउँदै होटलको काउण्टरबाट स्कुटरको चाबी लिइ गएको डिएसपी भण्डारीले बताए । एलिसाका परिवारले आरोपित खान पक्राउका लागि दबाब दिँदै आएका थिए ।

उनले फरार रहेकै अवस्थामा मृतक एलिसाका भाइसँग कुराकानी गरिरहेको र आफू भारतको गोरखपुर आइपुगेको बताएका थिए । परिवारका अनुसार एलिसा र समीर ७÷८ वर्षदेखि श्रीमान् श्रीमतीका रूपमा बस्दै आएकाथिए । परिवारका सदस्यका अनुसार एलिसा ९ भदौमा मात्रै काठमाडौंबाट हेटौंडा फर्किएकी थिइन् । त्यही दिन उनको हत्या भएको थियो । साझाकुरालाई प्राप्त भिडियो फुटेजमासमीरलेएलिसालाई घरमा लगेपछि झगडा परेको देखिन्छ ।

घर झगडाको दृश्य एलिसाको मोबाइलबाट खिचिएको थियो । एलिसाले भाइसँगको फोन सम्पर्कलाई पनि रेकर्डमा राखेकाले घर झगडामा भएका कुराकानी सुनिन्छ ।भिडियोबाट समीर, उनको परिवार र एलिसाबीच विवाद भएको बुझिन्छ । त्यसै दिन हेटौंडाको होटलमा एलिसाको हत्या भएको थियो । अडियो र भिडियोका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरिरहेको डीएसपी भण्डारीले जानकारी दिए ।

समीर–एलिसा सम्बन्ध ?

एलिसा र उनका भाइ सानै हुँदा आमा दोस्रो विवाह गरेर गइन् भने बाबुको मृत्यु भएको थियो । एलिसाका भिनाजु गणेशबहादुर खत्रीले उनीहरुलाई लालनपालन र शिक्षादीक्षाको व्यवस्था गरेका थिए ।
१५ वर्षको उमेरमै एलिसाले समिरसँग भागेर विवाह गरेको खत्रीले बताए । ‘१५ वर्ष जतिको थिइन् समीरसँग भागेर पोखरातिर गएर होटल चलाएको भन्थिन मलाई । बिहे गरेपछि मेरो घर २÷३ पटक आए । पछिल्ला वर्षमा भने कुनै सम्पर्क थिएन’, खत्रीले भने ।

समीरको पहिल्यै श्रीमती र बालबच्चा रहेको कुरा एलिसालाई जानकारीमा नभएको खत्रीको दाबी छ । समीरले विगतमा एलिसालाई घरमै लगेर राखेको र सुरुआती दिनमा दुवै श्रीमती मिलेर बसेको पनि खत्रीले बताए । तर, पछि सम्बन्ध बिग्रिएपछि एलिसा र समीर काठमाडौं गएर बसेका थिए । समीर काठमाडौंमा वैदेशिक रोजगारीको एजेन्ट काम गर्थे भने एलिसा दुबई गएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*