रेडियोले तीजलाई दिइरहेको सन्देश : १५ वर्षदेखि अनवरत् जागरुक महिलाको खोजी

हेटौंडा- सामान्यतया आमनागरिकले मिडियालाई समाजमा घटेका सबै प्रकारका घटनाका समाचार र मनोरञ्जन दिने सहजै लिने गरेको पाइन्छ ।तर, मकवानपुरमा १५ वर्षदेखि एउटा रेडियोले हरितालिका तीजको अबसरमा समाजमा योगदान पु¥याउँदै आएका जागरुक महिलाको खोजी गर्दै तीजको सांस्कृतिक र परम्परागत महत्वबारे बुझाउँदै आएको छ । नागरिकलाई सूचना बाँडेर समाज सुसूचित गरिरहेको रेडियो दैनिक समाचार र मनोरञ्जनसँगै सामाजिक क्षेत्रको विकासमा योगदान पु¥याउँदै आएका महिला र संघसंस्थाको खोजी गरेर उनीहरुको योगदानको कदर पनि गर्दै आएको छ ।
सामाजलाई योगदान पु¥याएका महिलाको हौसला बढाउने कार्यमा दिव्यतारा बहुउेश्यीय सहकारी संस्था लिमिटेडबाट सञ्चालित जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो मकवानपुर लागेको छ । कोभिड–१९ को संकटको समयमा एकवर्ष छोडेर रेडियो मकवानपुरले १५ वर्षदेखि जागरुक महिला सम्मान गर्दै आइरहेको रेडियोका स्टेशन म्यानेजर गणेश दर्पण अधिकारीले बताए । पछिल्लो समय नेपाली समाजमा हरितालिका तीजलाई हेर्ने दृष्टिकोण दुई ध्रुवमा विभाजित छ ।
एउटा सांस्कृति परम्पराअनुसार सभ्य तीज र अर्को अनेकौं विकृतिले मडारिएको भद्दा तीज । तीजको नाममा परिवारसँगै बसेर सुन्न नसकिने गीत र नृत्यमात्र नभई खानपिनमा मादकपदार्थको प्रयोग बढ्नुले यसको महत्व मास्दै लगेको नागरिक समाजका अगुवाहरु बताउँछन् । यतिसम्म की, तीजको परिभाषा नै बिग्रिएर यसको सुधारका लागि बहससमेत हुने गरेका छन् ।तीज विशेषतः महिलाको पर्व हो । रेडियो मकवानपुरले विगत १५ वर्षदेखि तीजको अबसरमा सामाजलाई योगदान पु¥याएका महिला सम्झिँदै आइरहेको छ ।
‘तीजमा नाच्ने, गाउने मात्र नभई सामाजलाई नै सन्देश दिने महिलाको खोजी गर्नु र उनीहरुको योगदानको कदर गर्नु महत्वपूर्ण काम हो । यसले अन्य महिलाको हौसला बढाउँछ भने समाजमा महिलाको अगुवाईमा वृद्धिविकास हुन्छ । यो काम गरिरहेको रेडियो मकवानपुरलाई निरन्तरताको आग्रह गर्छु’ हेटौंडा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले भने । यसवर्ष २०८१ को तीजको अबसरमा डकर्मी र खेलकर्मी महिला सम्मानित भए । सम्मानित हुनेमा हेटौंडा–५ की खेलकर्मी सरेशा ढुंगाना र हेटौंडा–१९ बस्तीपुरकी डकर्मी गौरीमाया सिन्तान छिन् । ढुंगाना तीन दशकदेखि तेक्वान्दो खेलसँग आबद्ध छिन् भने सिन्तान १२ वर्षदेखि डकर्मी पेशामा सक्रिय हुन् ।
ढुंगाना मकवानपुरबाट तेक्वान्दो खेलको पहिलो महिला मेडलिष्ट हुन् । सिन्तान भने आर्थिक अवस्था कमजोर भएपछि घर बनाउने काममा लागेर महिला मिस्त्रीका रुपमा परिचित छिन् । दुवैजनालाई रेडियोले बुधवार जनही नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ र रेडियोका अध्यक्ष आनन्दराम पराजुली, हेटौंडा उपमहानगरका प्रवक्ता न्यौपानेलगायतले नगद, प्रमाणपत्र र दोसल्ला ओढाए ।
रेडियो मकवानपुरले विगतका वर्षमा जागरुक महिला सम्मानबाट दक्षिण एसियाकी पहिलो महिला रेफ्रि तथा पूर्वराष्ट्रिय महिला फुटबलर कल्पना शर्मा, महिलाअधिकारकर्मी माइती नेपालकी माया लामा, शक्ति समूहकी अस्मिता तामाङ, साहित्यकार शान्तिप्रिय बन्दना, मनहरीको तत्कालीन हाँडीखोला गाविसमा झोलुङ्गे पुल बनाउने ईश्वरी (योगमाया) न्यौपाने लगायतका समाजमा योगदान पु¥याएका २८ जनालाई सम्मानित गरिसकेको स्टेशन म्यानेजर अधिकारीले बताए ।
रेडियोले तीजमा मात्र नभई १६ माघमा वार्षिकोत्सवको अबसरमा सामुदायिक सम्मान नाम दिएर दुईजना (महिला वा पुरुष) लाई सम्मान गर्दै आएको छ । सामुदायिक सम्मानबट यसअघि अन्तराष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्लेक्याम्पा रंगशालाको निर्माणकर्ता सुशील घिमिरे (हाल हेटौंडा–५ वडाध्यक्ष), मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, मामाघर नेपालका संरक्षक अपर्ण पराजुली, लैगिंकअल्पसंख्यकको क्षेत्रमा सक्रिय किरण थापा, दुव्र्यसनमुक्त समाज निर्माणको अभियानमा लागेका सन्दीप शाक्यलगायत थुप्रै व्यक्तित्वलाई सम्मान प्रदान गरिसकेको स्टेशन म्यानेजर अधिकारीले जानकारी दिए ।
बुधवार तीजको अबसरमा आयोजित महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले रेडियोले फरक क्षेत्रमा चुपचाप काम गरिरहेका महिलालाई सम्मान गर्नु सकारात्मक पक्ष भएको बताए । सामान्य कामबाट पनि महिलाको जीवनलाई प्रेरित गर्ने जागरुक महिला सम्मान गर्ने रेडियोको कदमको प्रशंसा गर्दै उनले सञ्चारजगतका यस्ता काममा प्रदेश सरकारको साथ रहने उल्लेख गरे । रेडियोका सञ्चालक समिति अध्यक्ष पराजुलीले समाजमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वको कामको सम्मान गर्दै उनीहरुको हौसला बढाउनु सामुदायिक सञ्चारमाध्यमको जिम्मेवारी समेत भएको बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कांग्रेस मकवानपुरका उपसभापति आनन्द कठायत, हेटौंडा–१ का वडाध्यक्ष तथा उपमहानगरका प्रवक्ता न्यौपाने, ११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष ध्रुव अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाट, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, दिव्यतारा बहुउद्देश्यीय सहकारीका अध्यक्ष डा.गणेश लामालगायतले संस्कृतिको जगेर्ना गर्दै तीजलाई सभ्य र भव्य तवरले मनाउनुपर्ने धारणा राखे ।
रेडियोले आयोजना गरेको जागरुक महिला सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा कलाकारले प्रत्यक्ष दोहोरी प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने १० जना सहभागीलाई रेडियोले पुरस्कृत समेत गरेको छ । केदारनाथ सुनचाँदी पसल हेटौंडाको मुख्य प्रायोजनमा भएको कार्यक्रमलाई विभिन्न संघसंस्थाले सहयोग एवम् सहकार्य गरेका थिए ।