अस्पतालमा जलन उपचार केन्द्र स्थापनाको लक्ष्य:हेटौंडामा आजबाट राष्ट्रिय भेट्रान्स फुटबल, तयारी पूरा
हेटौंडा- खेलकुद प्रतियोगिताको आयोजना खेलाडीको वृद्धिविकाससँगै व्यक्तिगत स्वास्थ्य सुधार र मनोरञ्जनका लागि आयोजना हुँदै आइरहेको सामान्य बुझाई छ ।पछिल्ला दिनमा खेलकुद मनोरञ्जनका लागि मात्र नभई समाजसेवाका लागि आयोजना हुन थालेका छन् । हेटौंडामा आज सोमबारबाट स्वास्थ्यउपचारको क्षेत्रमा महत्वपूर्ण संरचना स्थापनाको लक्ष्य राखेर तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना हुँदैछ ।
रोटरी क्लब अफ मकवानपुरको आयोजनामा हुन लागेको राष्ट्रिय भेट्रान्स फुटबलको सबै तयारी पूरा भएको आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । शिक्षा, स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा काम गरिरहेको रोटरीले खेलकुदबाट पनि समाजसेवाको लक्ष्य लिएको हो ।१५ टिमको सहभागिता रहने प्रतियोगिता हेटौंडा उपमहा नगरपालिका–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुनेछ । ४० वर्षदेखि माथि उमेरसमूहका खेलाडीले सहभागिता जनाउनेछन् । आज दिउँस प्रतियोगिताको उद्घाटनमा साविक विजेता चितवन भेट्रान्स र नागस्वती भेट्रान्स हेटौंडाबीच प्रतिस्पर्धा हुने आयोजक रोटरीले जनाएको छ ।
प्रतियोगितामा चितवन र नागस्वतीसहित हेटौंडा भेट्रान्स क्लव, आयोजकको रोटरी पिप्ले भेट्रान्स, सिमरा भेट्रान्स, नवजनजागृति भेट्रान्स सिमरा, वीरगञ्ज एकेडेमी भेट्रान्स, युनिटी भेट्रान्स वीरगञ्ज, निजगढ भेट्रान्स, हरिवन भेट्रान्स, पूर्वेली भेट्रान्स क्लव झापा, एसएन केसी काठमाडौं, फ्रिडम फाइटर काठमाडौं, अभिषेक चर्च नवलपरासी र पोखरा भेट्रान्सको सहभागिता रहेको छ ।यसअघि २०७२ र ०७३ सालमा खेल आयोजना गरेको रोटरीले लामो समयपछि फेरि प्रतियोगितालाई निरन्तरता दिन लागेको हो ।
भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसअघिको दुई संस्करणमा विजेतालाई १ लाख र उपविजेतालाई ७५ हजार पुरस्कार थियो ।प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालले बताए ।
हेटौंडामा जलन प्राथमिक उपचार केन्द्र (आगोले पोलेकाहरुको तत्काल उपचार गर्ने) निर्माणका लागि राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । जलन प्राथमिक उपचार केन्द्र अभियानलाई सहयोग जुटाउन २०७३ सालपछि प्रतियोगिता गर्न लागिएको रोटरी क्लबका अध्यक्ष अग्रवालले जानकारी दिए । उपचार केन्द्र हेटौंडा अस्पताल भित्र सञ्चालनको तयारी भइसकेको अग्रवालले बताए ।
रोटरी मकवानपुरका पूर्वअध्यक्ष कबिन संगाामीले अबको दुई महिनाभित्र अस्पतालसँगको समन्वयमा उपचार केन्द्र सञ्चालन गरिने उद्देश्य राखिएको जानकारी दिए । ‘अहिललाई करिब दुई महिनामा अस्पतालसँगको सहकार्यमा उपचार केन्द्र चलाउँछौं । करिब दुई वर्षमा छुट्टै उपचार केन्द्र स्थापनाको उद्देश्य छ,’ संगाामीले भने । उनकाअनुसार मकवानपुरमा आगोले पोलेकाहरुको तत्काल उपचार गर्ने छुट्टै व्यवस्था छैन ।
प्रतियोगिताको पिप्ले युवा क्लब सहआयोजक र सहकार्य रोट¥याक्ट क्लब अफ मकवानपुर रहेको छ । हेटौंडामा २०७२ र २०७३ मा क्रमशः प्रथम र दोस्रो राष्ट्रिय भेट्रान्स कप ‘८ ए’ साइड फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । दुवै संस्करण चितवन भेट्रान्स क्लबले जितेको थियो । विगतमा दुई संस्करण ‘८ ए’ साइड प्रतियोगिता भएकोमा यसवर्ष ‘११ ए’ साइड खेलाइने अध्यक्ष अग्रवालले जानकारी दिए ।
निःशुल्क जलन
उपचारको तयारी
विश्व स्वास्थ्य संगठनले गतवर्ष सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार विश्वमा बर्सेनि एक करोड १० लाखभन्दा बढी मानिस जलनमा पर्ने गरेका छन् ।नेपालमा पनि सानाठुला गरेर हरेक वर्ष ७६ हजारको हाराहारीमा जलनका घटना हुँदै आएको छ । आगोको जलन, ग्यास लिक भएर हुने जलन, एसिडको जलन, विद्युतीय जलन र आगोमा पकाइएका तथा उमालिएका चिजवस्तु पोखिएर आमरुपमा हुने जलनका घटना अधिक छन् । यस किसिमका गम्भीर प्रकृतिका बिरामीको उपचार सहजरुपमा हुन सक्ने वातावरणको व्यवस्थापन मुलुकमा नहुनु विडम्बनापूर्ण थियो । अब भने सरकारले निःशुल्क उपचारको व्यवस्था गर्न लागेको छ ।
चालु अधिवेशनमा प्रतिनिधिसभामा यससम्बन्धी विधेयक नै दर्ता गरिएको छ भने सरकारले जलनका बिरामीको उपचार निःशुल्क गर्ने गरी तत्काल तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनका बिरामीका लागि निःशुल्क उपचार गर्ने गरी कार्यविधि तयार पारेर तत्काल लागु गर्न लागेको जनाइएको छ । प्रतिनिधि सभामा यसअघि मानव शरीर जलन नियन्त्रण तथा सजायसम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको थियो ।
मुलुकी अपराधसंहिता र तेजाब तथा अन्य घातक रासायनिकपदार्थ (नियमन) ऐनमा भएका विषयसमेत समेटेर नयाँ कानुन निर्माणको प्रस्ताव गर्दै १७ जना सांसदले विधेयक दर्ता गराएका थिए । स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधिअनुसार जलनका बिरामीको प्राथमिक उपचार जिल्ला अस्पतालमा र थप उपचार आवश्यक भएमा केन्द्रीय अस्पतालमा सिफारिस गर्नुपर्ने प्रावधान राखिएको छ । उपचारको प्रयोजनका लागि ७७ वटै जिल्ला अस्पताललाई प्राथमिक तह निर्धारण गरेर जलनका बिरामीको उपचार हुने कार्यविधिमा उल्लेख छ ।







