‘एक आमा, एक अभिभावक’ अभियान संचालन गरिने : मनहरीमा ८ करोड खर्चिएर ‘आमाघर’ तयार

साझाकुरा
२०८१ भाद्र ३०, आईतवार १०:४३

हेटौंडा-असहाय ज्येष्ठनागरिकको सेवागर्ने उद्देश्यले मकवानपुरको मनहरी गाउँपालिका–८ मा निर्मित आमाघर आश्रमको भौतिक निर्माणको कामले पूर्णता पाएको छ ।विभिन्न तहका सरकार, दातृनिकायको सहयोगमा करिब ८ करोड खर्चिएर आश्रमको भवन निर्माण भएसँगै अब आश्रमले पूर्णक्षमतामा असहायको सेवागर्न सक्षम बनेको हो । ब्रम्हकुमारी राजयोग उपसेवाकेन्द्र मनहरीको व्यवस्थापनमा सञ्चालित आमाघरमा एकसय जनासम्म असहाय नागरिकलाई निःशुल्क सेवादिन सक्षम बनेको शनिबार पत्रकारसँगको भेटमा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले बताएका छन् । २०७४ सालदेखि निर्माण सुरु भएको आश्रममा ३० वटा सुविधासम्पन कोठाहरु निर्माण गरिएको छ भने साढे तीनसय जना अट्ने सभाहल, म्युजियम, ध्यानकक्ष, पुस्तकालय, बाबाकक्ष स्थापना गरिएको छ ।

आश्रमको भवन ३ कठ्ठा जग्गामा फैलिएको छ भने आश्रमसँगै १२ बिगाहा जग्गामा पिसपार्क निर्माण भएको छ । पार्कको डिपिआरअनुसारका अन्य संरचना तयार गर्ने काम भइरहेको छ । आध्यात्मिक चिन्तनमार्फत् मानिसलाई खुशी र सुखी बनाउन आमाघर तल्लीन रहेको आश्रमका अध्यक्ष उप्रेतीले बताए । कोही ज्येष्ठनागरिक सहाराबिहीन भएको पाइएमा आफूहरु उहाँहरुलाई सेवा गर्न तयार रहेको उप्रेतीले बताए । असहायलाई रेखदेख र लालनपालनका अतिरिक्त आमाबुबाको महत्वबारे बालबालिकामा बुझाउने कार्यक्रमहरु आगामी दिनमा राखिने उनको योजना छ ।

आश्रममा हाल ९ जना आमा, ७ जना बुबा र ४ जना भाइले सेवा लिइरहेको ब्रम्हकुमारी राजयोग सेवाकेन्द्रका उपाध्यक्ष विजयराज सिग्देलले जानकारी दिएका छन् । पत्रकारसँगको अन्तरक्रियामा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले आमाघर आश्रममा पालिकाका साथै संघ र प्रदेश सरकारलेसमेत लगानी गरिरहेको र आगामी दिनमा पिसपार्कको संरचना थप गर्न स्थानीय सरकारले काम गर्ने बताए । आमाघर आश्रम र पिसपार्कले मनहरीको पहिचान सशक्त बनाउन सहयोग पुगेको भन्दै उनले खुशी व्यक्त गरे । अग्रज पत्रकार बीरगंजका जगदीश शर्मा, हेटौंडाका नवराज शर्मा र भरतपुरका ईश्वर जोशीलाई आश्रमले सम्मान गरेको थियो ।

नेपालका इन्जिनियरिङ टिमले सहयोग नगरेपछि भारतीय ईन्जिनियरबाट यसको डिजाइन गरेको अध्यक्ष उप्रेतीले बताएका छन् । भवन निर्माण सम्पन्न भएपछि आश्रममा आवासीयरुपमा आमाहरुलाई सेवाप्रदान गर्ने कार्यको थालनी भइसकेको छ । आश्रममा आवासीय सेवा लिइरहेका सबै निःशुल्क बसिरहेका छन् । शुल्क तिरेर बस्न चाहनेलाई पनि आश्रमले आश्रयको ब्यवस्थापन गर्ने तयारी गरिएको उपाध्यक्ष सिग्देलले जानकारी दिए । ‘हामी शुल्क लिदैनौं भन्दैनौं, दिन सक्नेको लिन्छौं, नसक्नेलाई हामी राख्छौं, आमाहरुको सेवा गर्न नै हामी आश्रम संचालनमा ल्याएका हौं’–सिग्देलले बताएका छन् ।

२५ वटा कोठा रहेको भवनमा एउटा कोठामा ३ वटा बेड राखिएको छ । भवन निर्माणका लागि स्वेच्छिक चन्दा संकलन गरिएको थियो । आश्रम संचालनका ४ सय भन्दा बढीको आजीवन सदस्य बनाइएको छ । भवनसँगैको एक कठ्ठा जमिन केन्द्रले खरिद गरेको छ । केन्द्रले सिमपानी देवकोटा सामुदायिक वनसँगको सहकार्यमा १२ बिघा क्षेत्रफलमा पार्क निर्माण गरेको हो । यहाँ एउटा पोखरी निर्माण गरिएको छ । छिट्टै ढुंगा चलाउने तयारी भइरहेको बताइएको छ । यस पार्कको सम्पूर्ण निर्माणको काम अन्तिम चरणमा छ ।

यो एउटा परोपकारी संस्था भएकाले यसका क्रियाकलाप मूलतः व्यक्ति वा समूहबाट हुने दानबाट नै संचालन हुन्छ । देशविदेशमा रहेका परोपकारी, सहयोगी हातबाट बिनासर्त प्राप्त हुने नगद वा जिन्सी स्वीकार गर्ने संस्थाको नीति रहेको छ । यो अभियानमा सदिच्छा राख्ने शुभचिन्तकहरुको स्वइच्छाको सेवा र योगदानबाट आश्रमको बिबिध क्रियाकलाप संचालन हुने केन्द्रले जनाएको छ । तिनै तहका सरकारबाट प्राप्त हुने अनुदान रकम र अन्य सहयोग पनि स्वीकार गरेर आश्रम संचालन गरिने बताइएको छ ।

पितृहरुको वार्षिक पुण्यतिथि, संस्थाको वार्षिकोत्सव, पदोन्नती, पर्व, जन्मदिन वा मातृत्वप्रेमले गराउने भोजनसेवा, खाजासेवाका लागि सप्रेम प्राप्त हुने नगद वा जिन्सी सहयोगबाट पनि यो आश्रम संचालन हुनेछ । यो अभियान सफल बनाउन भोजनसेवा, नगद र जिन्सी सहयोग उपलब्ध गराउन सकिन्छ । ‘एक आमा, एक अभिभावक’ अभियानअन्तरगत एक आमाको मासिकरुपमा लाग्ने सेवाखर्च योगदान गरी सम्मानित अभिभावक बन्न सकिने प्रावधान राखिएको छ ।

मासिक भान्छा सहयोगी सदस्यता ग्रहणगरी आफ्नो इच्छा कटौती गरी मासिकरुपमा इच्छा अनुसारको नगद वा जिन्सी सामग्री सहयोग गर्न सकिने बताइएको छ । माता–पिताको स्मृतिमा अक्षयकोष श्रीवृद्धिका लागि स्वइच्छाले रकम जम्मा गर्न सकिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*