बेमौसमी तरकारी उत्पादनमा पहिचान बनाएको थाहा, कृषिमा लगानी बढाईंदै
हेटौंडा- त्रिभुवन राजपथ संचालनमा आएपछि दामनपालुङ उपत्यकामा कृषि उत्पादनलाई बजारीकरण गर्न सहज भएको थियो । तर, परम्परागत खेतीबाट उत्पादित खाद्यबस्तु निर्यात गर्न पुग्ने अवस्था भने थिएन । २०५० सालको बाढीले ध्वस्त पारेको दामनपालुङ उपत्यकाको जनजीवन त्यतिबेला परिवर्तन भयो जतिबेला उनीहरुले परम्परागत खेतीबालीलाई बिस्थापन गरी बेमौसमी तरकारीमा आकर्षित हुँदै गए । ५० को दसकपछिका दिनमा दामनपालुङ उपत्यकामा धान रोप्ने खेतमा आलु, काउली, बन्दा, मुला, सिमी, खुर्सानी लहलहाउन थालेपछि किसानले धान रोप्न छोडेका थिए । मार्सी धान (हालजुम्लामा खेती गरिन्छ) फल्ने खेतमा दामन पालुङबासीले बेमौसमी तरकारी फलाउन थालेपछि आम्दानीको स्रोत बृद्धि हुँदै गयो ।
मुलुक संघीय संरचनामा गएपछि किसानलाई आवश्यक पर्ने प्राबिधिक सहयोग मात्र नभई मल, बीउबिजन, अत्याधुनिक प्रबिधिका मेशिरीमा पनि स्थानीय सरकारको सहयोग भएपछि किसानलाई पनि उत्साह थपियो । नगरपालिका घोषणा हुनुपूर्व दामनपालुङ संयुक्त आर्थिक विकास समितिले तरकारी निर्यातमा कर उठाउने गरेको थियो । नगरपालिका घोषणा भएपछि थप ब्यवस्थित बन्दै गएको स्थानीय बताउँछन् । थाहा नगरपालिकाले कृषिमा क्रान्ति गर्ने भन्दै किसानमैत्री कार्यक्रम संचालन गर्दै आएको छ ।
नगरपालिकाले संघ, प्रदेश तथा विभिन्न परियोजनाको सहकार्यमा किसान केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको पूर्वनगरप्रमुख लवशेर बिष्ट बताउँछन् । किसानलाई प्रबिधि र मेशिनरीमा अपनत्व महशुस गराउनका लागि नगरले लागत सहभागितामा आधारित अनुदान प्रदान गर्ने नीति अवलम्बन गरेको पूर्वनगरप्रमुख बिष्ट बताउँछन् । लागत सहभागितमा आधारित अनुदान नगरपालिकाले वर्षेनी बढाउँदै गएको छ । नगरपालिकाले गरेको आर्थिक वर्ष २०८०÷८१ को तथ्यांक अनुसार कृषि क्षेत्रमा वर्षेनी बजेट वृद्धि भएको देखिन्छ ।
नगरपालिकाले गत आर्थिक वर्ष २०८०÷८१ मा १२ वटै वडाको कुल ४ हजार १ सय ४ किसान परिवारलाई विभिन्न किसिमको अनुदान वितरण गरेको तथ्यांक छ । यो तथ्यांक गत आर्थिक वर्षको भन्दा १ हजार ३२ परिवार बढी हो । आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाले सबै वडाका कुल ३ हजार ७२ किसान परिवार कृषि अनुदानको लाभग्राही भएको कृषिअधिकृत प्रदीप गुरुङले जानकारी दिए । वि.सं. २०७८ को तथ्यांक अनुसार नगरपालिकाको कुल ९ हजार ७ सय ४९ परिवारमध्ये ७८ प्रतिशत किसान छन् । थाहाले आर्थिक वर्ष २०७९÷८० मा १ सय ६७ परिवारलाई ईएम झोल मल निःशुल्क वितरण गरेको छ ।
थाहानगरको कृषि विकास शाखाप्रमुख संजय तिवारीका अनुसार सिल्पोलिन टनेल प्लाष्टिक वितरण ९० जिएसएमको ७२ वर्गमीटरको ५० प्रतिशत अनुदानमा १ सय १ परिवारलाई वितरण गरियो । आर्थिक वर्ष २००÷८१ मा १ सय ६० परिवारलाई वितरण गरियो । ५० प्रतिशत अनुदानमा मल्चिङ प्लाष्टिक ३ सय किसान परिवारलाई वितरण गरियो । आर्थिक वर्ष २०८०÷८१ मा २ सय ४० परिवारलाई बढाउँदै ५ सय ४० परिवारलाई वितरण गरिएको छ ।
१६ लिटरको स्प्रेयर डियुल टुइनवान पम्म ५० प्रतिशत अनुदानमा २ सय १६ परिवारलाई वितरण गरिएकोमा आर्थिक वर्ष २०८०÷८१ मा ३ सय २३ परिवारलाई वितरण गरिएको शाखा प्रमुख तिवारीले जानकारी दिए । नमुना टनेल र थोपा सिंचाइसहित ५० प्रतिशत अनुदानमा ५ सय वर्गमिटरको टनेल आर्थिक वर्ष २०७९÷८० मा ५४ परिवारलाई वितरण गरेको थियो । नमुना टनेल र थोपा सिंचाइसहित ५० प्रतिशत अनुदानमा १ हजार वर्गमिटरको टनेल आर्थिक वर्ष २०७९÷८० मा १८ परिवारलाई वितरण गरिएको थियो ।
थाहानगरको कृषि विकास शाखाले ५० प्रतिशत अनुदानमा तरकारी नर्सरी स्थापनाका लागि आर्थिक वर्ष २०७९÷८० मा २ वटा नर्सरीलाई अनुदान दिएको छ । कृषि यान्त्रिकरणतर्फ दुई आर्थिक वर्षमा ३ सय ७५ वटा मिनी टिलर(ट्याक्टर) वितरण गरेको छ । कृषि विकास शाखा तथा संघ प्रदेश र विभिन्न परियोजनाको समेत आर्थिक वर्ष २०७९÷८० मा १ सय २३ वटा मिनीटिलर वितरण गरेको पालिकाले आर्थिक वर्ष २०८०÷८१ मा २ सय ५२ वटा वितरण गरेको छ ।
कृषि शाखाले ७५ प्रतिशत अनुदानमा बायोटिन कृषिचुन आर्थिक वर्ष २०७९÷८० मा २ सय ६ परिवारलाई वितरण गरेकोमा आर्थिक वर्ष २००÷८१ मा ६ सय ६५ परिवारलाई वितरण गरेको छ । धान र मकैको उन्नत तथा हाइब्रिड बीउमा नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको छ । बीउ आर्थिक वर्ष २०७९÷८० मा ५ सय २५ परिवारलाई वितरण गरेकोमा आर्थिक वर्ष २०८०÷८१ मा १ हजार ३३ परिवारलाई वितरण गरेको छ ।
त्यसैगरी ५० प्रतिशत अनुदानमा हिउँदे तथा वर्षे फलफूलको विरुवा दुई आर्थिक वर्षमा २ सय ७० परिवारलाई वितरण गरेको छ । आकस्मिक बालीसंरक्षण सेवाअन्तर्गत निःशुल्क बिषादि २ हजार ७ परिवारलाई वितरण गरिएको कृषि शाखाप्रमुख तिवारीले जानकारी दिए ।किसानको माग अनुसार नै कार्यक्रम संचालन भइरहेको थाहा नगरप्रमुख बिष्णु बिष्ट बताउँछन् । थाहानगरलाई बेमौसमी तरकारी उत्पादनसँगै पर्यापर्यटन प्रबद्र्धन गर्ने कार्यक्रमका लागि पनि नगरपालिकाले काम गरिरहेको नगरप्रमुख बिष्टले जानकारी दिएका छन् ।







