ऐतिहासिक ‘शंखमूल’को समग्र विकासमा जुट्यो थाहानगर
हेटौंडा- मकवानपुरको सांस्कृतिक सहरको परिचय बनाएको थाहा नगरपालिकामा अवस्थित ऐतिहासिक शंखमूलको समग्र विकासमा पाइला अगाडि बढाइएको छ ।थाहा नगरपालिकाको उपप्रमुख भरत गोपालीको पहलमा काठमाडौंस्थित शान्तिधामका मठाधीश १००८ स्वामी चतुभुजाचार्य चूडामणि महाराजले शंखमूलको नेपाल महात्मे हिम्मवत खण्डमा उल्लेख भएको पौराणिक धार्मिक महत्व बारे स्थानीयलाई जानकारी गराएका छन् । मंगलबार शंखमूलमै आयोजना गरिएको एक कार्यक्रमबीच चूडामणिले थाहा–३, स्थित पौराणिक ऐतिहासिक शंखमूलको शास्त्रीय प्रमाणका आधारमा संरक्षण तथा विकास गर्ने उद्देश्यसम्बन्धी धार्मिक महत्वबारे प्रकाश पारेका थिए ।
चूडामणि महाराजको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरप्रमुख विष्णुबहादुर विष्टको अध्यक्षता रहेको थियो । कार्यक्रमको उद्देश्यमाथि उपप्रमुख गोपालीले प्रकाश पारेका थिए । उनै उपप्रमुख गोपालीले विश्वका तीन शक्तिशाली शंखमूलमध्ये थाहामा रहेको यस शंखमूलको समग्र विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले शंखमूलको पूर्वाधारसँगै धार्मिक पर्यटनका हिसाबले विकास गरिने योजना प्रस्तुत गरे । शंखमूल नजिकै रहेका ऐतिहासिक पाण्डुकेश्वर मन्दिर भद्रतीर्थको पनि विकास गरिने गोपालीले उल्लेख गरेका छन् ।
त्रिवेणी शंखमूल थाहानगरको प्रशिद्ध धार्मिकस्थल हो । पालुङको शंखमूलसहित काठमाडौंको पशुपतिनाथको शंखमूल र भारतको एउटा शंखमूललाई विश्वको तीन शक्तिशाली शंखमूलको रुपमा लिइने गरिएको उपप्रमुख गोपालीले बताए । पौराणिक महत्वअनुसार पालुङको शंखमूलको समग्र विकास आवश्यक रहेको र यसलाई तीव्रता दिइने उनी बताउँछन् । शंखमूलमा मन्दिर, पुष्पबाटिका, किरियापुत्री घर, धर्मशाला लगायत पूर्वाधारका संरचना निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए ।
शंखमूलसँगै रहेको पुरानो सरस्वती मन्दिरको पनि संरक्षण गरिने उनले बताए । ‘यो विश्वको तीन मुख्य शंखमूलमध्ये एक हो । यसको पौराणिक महत्व छ । शंखमूललाई थाहा नगरपालिकाको प्रमुख धार्मिक पर्यटनको दृष्टिकोणले विकास गर्ने योजनामा छौं’–उपप्रमुख गोपालीले भने । शंखमूलको विकासका लागि यसअघि नै विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण भइसकेको छ । लवशेर बिष्ट नगरप्रमुख भएको समयमा बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले डीपीआरअनुसारका पूर्वाधार निर्माण गर्न शिलान्यास गरेका थिए ।
दामनपालुङको घट्टेखोला, घर्तीखोला, फेदीगाउँबाट बग्ने खोलाको त्रिबेणी रहेको शंखमूल संरक्षणका लागि तटबन्ध गर्ने, शंखमूलमा एक सय आठ धारा निर्माण गर्ने, किरियापुत्री बस्ने सेड निर्माण गर्ने, स्थानीय गोपाली समुदायका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने कार्य पूर्वनगरप्रमुख बिष्टले सुरुवात गरेका थिए । पर्याप्त बजेटको अभावका कारण समयमै निर्माण गर्न नसकिएको भएपनि आगामी दिनमा सबै मिलेर शंखमूललाई उच्चकोटीको धार्मिक पार्क बनाउने कार्य गर्न जरुरी रहेको पूर्वनगरप्रमुख बिष्टले साझाकुरालाई बताए ।
चतुभुजाचार्य चूडामणि महाराजले शंखमूलको समग्र विकासमा लाग्न स्थानीय सरकार र नगरबासीलाई अनुरोध गरेका छन् । उनले धार्मिक पर्यटनको सम्भावना बोकेको शंखमूलको पौराणिक महत्वअनुसार विकास गर्नुपर्नेमा जोड दिए । चूडामणि महाराजले शंखमूलको धार्मिक प्रमाणहरु प्रस्तुत गरेका थिए । धार्मिक हिसाबले थाहा नगरपालिका यसै प्रख्यात छ । शंखमूल मात्र नभई यहाँ ऐतिहासिक ऋषेश्वर मन्दिर, पाण्डुकेश्वर मन्दिर, इन्द्रायणीमाई, बज्रवाराहीमाई, स्वचन्दभैरव, पाथीभरा मन्दिर, गोरखनाथधाम प्रमुख धार्मिक क्षेत्र हुन् । धार्मिक क्षेत्रले प्रख्यात थाहाले सांस्कृतिकसहरको परिचय पनि बनाएको छ । यहाँ हरेक वर्ष थुप्रै धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुने गरेको छ ।
पर्यटकीय दृष्टिकोणले थाहानगर सम्भावना भएको क्षेत्र हो । चित्लाङ, टिस्टुङको नर्वेढुंगा, खुकुरीपार्क, मुलाबारीचौर, दामन, सीमभञ्ज्याङ, कोटथुम्की पर्यटकीय क्षेत्रमा प्रकृतिले दिएका वरदान हुन् । थाहानगरका अधिकांश नागरिकको मुख्य पेसा कृषि हो । थाहानगरको अर्को महत्वपूर्ण विशेषता भनेको कृषिपर्यटन पनि हो । स्थानीय सरकारले कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बनाउने गरेको उपप्रमुख गोपाली बताउँछन् ।







