हेटौंडामा मनाइयो संविधान दिवस, खेलाडी र विद्यार्थी पुरस्कृत

सभामुख पाठकको अघोषित बहिष्कार
साझाकुरा
२०८१ आश्विन ४, शुक्रबार १०:१६

हेटौंडा- बागमती प्रदेश सरकारले हेटौंडामा संविधान दिवस मनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा एक समारोहबीच संविधान दिवसको अबसरमा औपचारिक कार्यक्रम गरिएको थियो ।बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको औपचारिक कार्यक्रममा मुख्यमन्त्री बहादुरसिं लामा र बागमतीका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेलको विशेष आतिथ्यता थियो । बागमती प्रदेशका प्रदेशप्रमुख देवकोटाले संविधानले जनताको अधिकारलाई आत्मसात् गरेको बताए । संविधानले राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई संरक्षण गरेको देवकोटाले बताए ।

उनले इतिहासमा पहिलो पटक जनताद्वारा निर्वाचित जनप्रतिनिधिले संविधानसभामार्फत् जारी भएको संविधान आफैँमा उत्कृष्ट रहेको दाबी गरे । जनताको प्रतिस्पर्धामक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, निष्पक्ष तथा सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा संविधानको मुख्य विशेषता रहेको उनको भनाई छ । ‘संविधानले नागरिक स्वतन्त्रता, मौलिकअधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्रताको विशेषता बोकेको छ ।’ उनले भने ।

मुख्यमन्त्री लामाले संविधानले सार्वभौमसत्ता जनतामा निहित गरेको बताए । मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व प्राप्त भएको बताए । संविधानले तीन तहका सरकारले पुरा गर्ने गरी जिम्मेवारी निर्दिष्ट गरेको उनले जनाए । संविधान जारी भएपश्चात् स्थापना भई शून्य अवस्थाबाट प्रदेश सरकारले आफैले कानुन निर्माण गरी सेवाप्रवाह गर्दै आइरहेको बताएका छन् ।

प्रदेश सरकार स्थापना भएपछि बजेट र कानुनमा जनताको पहुँच विस्तार भएको बताउँदै विगतमा सामथ्र्य र पहुँचको अभावमा सिंहदरबारको गेटबाटै फर्कने योजना, गुनासो र सुझावहरु हाल प्रदेश सरकारबाट सम्बोधन भएको मुख्यमन्त्री लामाले दाबी गरे । तथ्यगत विश्लेषण गर्दा प्रदेश सरकार खर्चप्रणालीमा मितव्ययी रहेको पुष्टि हुँदै गएको उनले बताए । बागमती प्रदेशको आर्थिक क्षमताको तुलनामा भएका प्रगतिहरु उपलब्धिमूलक रहेको उनले बताए ।

यसैगरी, समारोहमा निमन्त्रणा गरिएका बागमतीका सभामुख भुवनकुमार पाठक अनुपस्थित रहे । २०७९ मा सभामुख नियुक्त हुनुअघि पाठक राप्रपामा आवद्ध थिए । २०७९ यता बागमती प्रदेश सरकारको आयोजनामा हुँदै आएका संविधान दिवस र गणतन्त्र दिवसका अबसरमा आयोजित कार्यक्रममा सभामुख पाठक अनुपस्थित रहने गरेका छन् । उनी विगतमा आवद्ध रहेको दल राप्रपाले २०७२ मा बनेको संविधानको राजनीतिक एजेण्डाका रुपमा विरोध गर्दै आइरहेको छ । जब की, पाठक नै सोही संवैधानिक व्यवस्थाबाट गठित प्रदेश संरचनाको महत्वपूर्ण ओहदा सभामुख पदमा आसिन छन् ।

प्रदेशमा यसअघि मनाइने गरेको संविधान दिवस र गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा सभामुख पाठकका लागि मञ्चमा सोफा राखिने गरेकोमा कार्यक्रमभर सोफा खाली नै रहने गरेको थियो । यस वर्षदेखि सभामुखका लागि छुट्टै सोफा नराखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।खेलाडी र विद्यार्थी पुरस्कृतसंविधान दिवसका अबसरमा खेलकुद प्रतियोगितामा ऐतिहासिक पदक जित्ने खेलाडीदेखि प्रदेशका उत्कृष्ट विद्यालय र विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिएको छ । पारा ओलम्पिकमा ऐतिहासिक कास्यपदक विजेता पलेशा गोवद्र्धनलाई १० लाख रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

उनलाई युवा तथा खेलकुद मन्त्रालयले हेटौंडा नगर परिक्रमा गराइएको थियो । सम्मानस्वरुप पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई एक लाख रुपैयाँ प्रदान गरिएको छ ।करातेमा १९ औं एसियाली खेलकुदअन्तर्गत् महिला ६८ केजी तौल समूहमा रजतपदक जितेकी एरिका गुरुङलाई ५ लाखसहित पुरस्कृत गरिएको छ । एरिकाको प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाख र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई एक लाख रुपैयाँ प्रदान गरिएको छ । एरिका र कुशल भने एसियाली च्याम्पियनसिप खेल्न चीनमा छन् ।

यसैगरी, गत वर्षको एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको छ । काठमाडौं उपत्यकाका १३ र चितवनका दुई गरी १५ जना विद्यार्थीलाई पुरस्कृत गरिएको सामाजिक विकास मन्त्रालयले उल्लेख गरेको छ । प्रदेशप्रमुख देवकोटा, मुख्यमन्त्री लामा र पूर्वमुख्यमन्त्री पौडेलले संयुक्तरुपमा उत्कृष्ट विद्यार्थीलाई नगद २०, १५ र १० हजार रुपैयाँसहित प्रमाणपत्र दिए ।

संविधान दिवस मूल समारोह समितिद्वारा संविधान दिवसका अबसरमा चार दिनसम्म विविध कार्यक्रम आयोजना गरिएको थियो । समारोहकै बीच भलिबल प्रतियोगिता, क्याम्पसस्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । ३ र ४ असोजको साँझ विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय एवम् सर्वसाधारण नागरिकले आआफ्नो घरमा दीपावली गरी संविधान दिवस मनाउन आव्हान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*