गाँजा बोक्ने र चोरीमा संलग्न ९ जना पक्राउ, आरोपी सबै युवा

१४ वर्षीय बालक बने सहयोगी
साझाकुरा
२०८१ कार्तिक ९, शुक्रबार ०९:५६

हेटौंडा- मकवानपुरबाट अबैध लागूऔषध गाँजा ओसारपसार गरेको आरोपमा एक र चोरीका घटनामा संलग्न ८ जना पक्राउ परेका छन् ।प्रहरीले हेटौंडा र मकवानपुरगढीमा भएका चोरी र लागूऔषध गाँजा ओसारपसार घटनाका आरोपी ९ जनालाई बिहीवार एकैपटक सार्वजनिक गरेको छ । आरोपित ९ जनाकै उमेर ३० वर्ष भन्दा कम रहेका छन् । युवा अवस्थामै अपराधको दुनियाँमा होमिएका ९ जना सरकारी उद्योगमा तार चोरी गर्ने, मोटरसाइकल, नगद चोरी गर्ने र लागूऔषध गाँजा ओसारपसारमा संलग्न युवक हुन् ।

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगबाट लाखौं मूल्यको बिजुलीको तार चोरी गर्ने गिरोहका तीनजना हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिका २२ वर्षीय मनिराम थोकर, सोही ठाउँका २८ वर्षीय सन्तबहादुर तितुङ र भारत घर भएका कबाड व्यवसायी दिलखुशकुमार साह पक्राउ परे ।

साहको उमेर नखुले पनि उनी ३० वर्ष भन्दा मुनीको रहेको मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले बताए ।‘९ जना सबै ३० वर्ष मुनीका हुन् । यसमध्ये एक जनाको घर, परिवार नै छैन । अर्का एकजना परिवार भन्दा बाहिर एक्लै रहेको र अपराधमा संलग्न भएको पाइयो’ डिएसपी अर्यालले भने । उनका अनुसार सिमेन्ट उद्योगको तार चोरी गर्न हेक्सो ब्लेड खरिद गर्ने मनिराम थोकर परिवारको नियन्त्रण बाहिरै रहेर अपराधको दुनियाँमा सक्रिय भएका युवक हुन् । उनी एक्लो दुनियाँमा रहँदै आएको पाइएको उनले बताए ।

यस्तै, ३ कार्तिक बिहान ४ बजे हेटौंडा–८ कर्णावतीमार्गस्थित शिव गौतमको निर्माणाधीन घरबाट बिजुलीको तार चोरी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । प्रहरीले ७ कार्तिकमा हेटौंडा–८ कमाने बस्ने २६ वर्षका सुमन राई, २५ वर्षका समिर घिमिरे र ८ कार्तिकमा २४ वर्षका सुशान्त क्षेष्ठलाई स्थानीय निर्माणाधीन चर्चको भवनमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो ।

श्रेष्ठ तीनवटा चोरीको घटनामा संलग्न भएका युवक हुन् । डिएसपी अर्यालका अनुसार श्रेष्ठको घर र परिवार दुवै छैन । ‘श्रेष्ठको घर पनि छैन र परिवार तै छैन रहेछ । उ यसैगरी चोरीको घटनामा पहिल्यैदेखि संलग्न रहेको पाइयो ’ उनले भने । आरोपित श्रेष्ठमाथि १६ असोजमा राति हेटौंडा–८ क्याम्पाडाँडास्थित हेटौंडा फन भिल्लाबाट ६० हजार मूल्य बराबरको साउण्ड सिस्टम र २० हजार नगद चोरी गरेको आरोप छ । यस्तै, हेटौंडा–२, स्थित शान्तिटोलबाट ना ३ प ४७३ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल चोरी भएको घटनामा पनि श्रेष्ठ संलग्न रहेको भेटिए ।

यसैगरी, आज बिहीवार बिहान ५ बजे मकवानपुरगढी–२ शिखरकटेरीस्थित कान्तिलोकपथ सडकखण्डबाट तराई–काठमाडौं द्रुतमार्गमा वेल्डिङको काम गर्ने दुईजनामिस्त्रीलाई तार चोरी गरेको आरोपमा पक्राउ गरेको डिएसपी अर्यालले बताए । कञ्चनपुर बेलडाडी गाउँपालिका–३ का २४ वर्षीय राजेश्वर चौधरी र उनको मामा राहुल चौधरी लेनडाँडाबाट ३७ दशमलव २३ किलो धातुको बिजुलीको तार चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।

आरोपित राहुल चौधरी पनि ३० वर्ष मुनीको रहेको डिएसपी अर्यालले जानकारी दिए । तार बिक्री गर्न भन्दै हेटौंडातर्फ आउँदै गर्दा उनीहरु कान्तिलोकपथ सडकबाटै पक्राउ परे ।मकवानपुरमा गतवर्ष २०८०÷८१ को अपराधिक घटनामा संलग्न आरोपितको तथ्यांक हेर्दा ६० प्रतिशत ३५ वर्ष मुनीका रहेको डिएसपी अर्याल बताउँछन् । धेरै युवाहरु अपराधिक घटनामा संलग्न हुनुमा मुख्यतः शिक्षाको अभाव, अभिभावकविहीन, बेरोजगारी र साथीसंगत कारण रहेको उनले बताए । अपराधिक घटनामा संलग्न युवा उमेरका आरोपितसँग चेतनास्तर नै कमि रहेको पाइएको अर्याल बताउँछन् ।

१४ वर्षीय बालक बने सहयोगी मकवानपुर प्रहरीलाई चोरीको घटनामा संलग्नहरु पक्राउ गर्न १४ वर्षीय बालक सहयोग बन्न पुगे । उनै बालकले चोरीमा संलग्नहरुको जालो बारे प्रहरीलाई सूचना दिएका थिए । डिएसपी अर्यालले १४ वर्षीय बालककै सहयोगमा चोरीका घटनाको अनुसन्धानमा सहयोग पुगेको बताए । प्रहरीले बालकको परिचय गोप्य राखेको छ । उनलाई तारेखमा छोडिएको डिएसपी अर्यालले बताए । उनी कुन घटनामा संलग्न भएका हुन भन्ने सूचना प्रहरीले दिएन ।

यसमा तपाइको मत

Your email address will not be published.


*