कारबाही माग्दै सिस्नेरी पहिरोपीडित खेलाडीका परिवारले भेटे प्रधानमन्त्री
हेटौंडा- मकवानपुरको उत्तरीक्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकामा ६ जना विद्यार्थी खेलाडीको पहिरोले पुरिएर मृत्यु भएको घटनाको छानबीन माग गर्दै दोषिलाई कारबाही गर्न परिवारले सरकारको ध्यानाकर्षण गराएका छन् ।मृतक बाल खेलाडीको परिवारले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर घटनाको छानबीन गर्न उच्चस्तरीय छानबीन आयोग गठनको माग गरेका छन् । सरकारसँग क्षतिपूर्तिलगायत मृतकको नाममा रंगशाला र अक्षयकोष स्थापनासम्म ६ बुँदामा परिवारले माग राखेको छ ।
गत १२ असोजमा इन्द्रसरोबर–३, सिस्नेरीस्थित बत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका ४० जना खेलाडीमध्ये ६ जनाको बिहान ६ बजे पहिरोले पुरिएर मृत्यु भएको थियो । कुलेखानी जलविद्युत केन्द्रबाट साढे ५ बजे दुई वटा ढोका खोलेर पानी छोडेपछि कुलेखानी खोलामा बाढी आएकाले खोला छेउको एकेडेमी भवनबाट टेकर गाउँतर्फ जान लाग्दा पहिरोमापुरिएका थिए ।
पहिरोमा पुरिएर सर्लाहीका १३ वर्षीय आदित्य बलमपाकी, काठमाडौं कलंकीका ११ वर्षीय प्रियान्स आचार्य, मकवानपुर हेटौंडाका १४ वर्षीय अनुपम घलान, मकवानपुरगढी घरभएका १४ वर्षीय साईमन योञ्जन, बारा निजगढका १४ वर्षीय विकल रेग्मी र मकवानपुर सिस्नेरीका १४ वर्षीय दिवस बानियाँको मृत्यु भएको थियो ।दुःखद् र भयानक घटना लापरबाहीका कारण सिर्जना भएको परिवारको ठहर छ । मृतक परिवारले नेपाल विद्युत प्राधिकरण, एकेडेमी सञ्चालक अखिल नेपाल फुटबल संघ (एन्फा) र एकेडेमीको यवस्थापकीय जिम्मेवारी लिएको बत्सलादेवी माविको ब्यवस्थापन समितिका कारण घटना हुन पुगेको जिकिर गरेको छ ।
मृतक हेटौंडाका अनुपम घलानका बाबुसमेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले दोषिमाथि कारबाही माग गर्दै सरकारको ध्यानाकर्षण गराइएको बताए ।६ जना बाल फुटबल खेलाडीको एकै थलोमा असामयिक देहावसान भएको विषय नेपालको खेलकुद इतिहासमा दुःखद घट्ना भएको बताउँदै घलानले दोषि उम्किन नदिन सरकारसँग अनुरोध गरे । जवाफमा प्रधानमन्त्रीले घटनाको छानबीन गरेर दोषिमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको घलानले बताए । ‘दिवंगत साना उमेरका खेलाडीको सुरक्षा र रेखदेख हुन नसक्नुका कारणतर्फ व्यापक चासो हुनु स्वाभाविक हो । यसर्थः बाल खेलाडीको उद्दार गर्न र पूर्व होशियारी अपनाउन के कुन कारणले बाधा परेको हो ? भन्ने विषयमा छानबीन गरेर दोषिउपर कारबाही हुनुपर्छ’ घलानले भने ।
‘यस्ता दुःखद् र भयानक घटना पुनः दोहोरिन हुँदैन । यस्ता चरम लापरबाहीतर्फ आँखा चिम्लने हो भने पुनः यस्ता पीडादायी घटना परिघटनाहरु नदोहोरिएला भन्न सकिँदैन ।’ मृतकका परिवारले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ । प्राधिकरण, एकेडेमी तथा व्यवस्थापन पक्षले पूर्व होशियारी अपनाएको भए यस्तो दुःखद् घटना नहुने परिवारको भनाई छ । परिवारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि ध्यानाकर्षण गराए ।
मृतकका परिवारले सरकारसँग मृतक खेलाडीको स्मृतिमा खेल आयोजना गर्न अक्षयकोष स्थापना गरी अक्षयकोषमा पर्याप्त रकमको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । एन्फा कम्प्लेक्स भवनको कम्पाउण्डभित्र मृतक खेलाडीका प्रतिमा निर्माण, मृतक खेलाडीको नाममा एन्फाको स्वामित्वमा सुविधायुक्त फुटबल एकेडेमी बनाउन परिवारले माग
राखेको छ ।एन्फाबाट संचालित कार्यक्रम उपयुक्त पूर्वाधारहरु भएको भौगोलिक स्थान, स्वास्थोपचार, सडकलगायतका सहज पहुँच हुनेगरी संचालन गर्न, मृतक बाल खेलाडीको स्मृतिमा प्रत्येक वर्ष राज्यको तर्फबाट राष्ट्रव्यापी फुटबल खेल सञ्चालन गर्न, मृत्यु हुनेहरुको लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्दै घाइतेको उपचार र घरबारविहीन भएका परिवारलाई यथाशीघ्र पुनस्र्थापनाको व्यवस्था गर्न परिवारले माग राखेका छन् ।
बिपद्को पूर्वसूचनालाई बेवास्था गर्दा गम्भीर दुर्घटना१२ असोज शनिवार बिहान ६ बजेको थियो । सिस्नेरी स्थित बत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका ४० जना बालकसहितको टोलीलाई सुरक्षित स्थानतर्फ जान भनियो ।जाँदाजाँदै ९ जना माथि पुगेर उनीहरु जोगिए । बीचमा रहेका ६ जनालाई पहिरोले पुरेको थियो । पछाडि रहेका अरु पनि बाँच्न सफल भए । विगत ६ महिनादेखि सिस्नेरीमा नियमित फुटबल सिक्दै आएका ६ जना बालकको ज्यान मात्रै गुमेन, फुटबलर बनेर देशको लागि खेल्ने कलिलो सपना पनि चुडिँएको छ ।
कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएर जुनसुकै बेला ढोका खोल्नुपर्ने सूचना अघिल्लो दिन अर्थात् शुक्रबार अपरान्ह नै दिएको थियो ।कुलेखानी प्रथम जलविद्युत केन्द्रको पत्राचारपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, इन्द्रसरोबर गाउँपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एकसाथ कुलेखानीको जलाशय भरिन लागेकाले जुनसुकै बेला ढोका खोलेर पानी छोड्नुपर्ने भन्दै तल्लो तटीयक्षेत्रमा सतर्कता अपनाउन अपिल गरेका थिए ।
कुलेखानीले अघिल्लो दिन नै तल्लो तटीयक्षेत्रमा उच्चसतर्कता अपनाउन सूचित गरेपनि कुलेखानी खोलासँगै जोडिएको बत्सलादेवी माविको एन्फा एकेडेमीका ४० जना बालकलाई रातभर विद्यालयमै राखिएको थियो । कुलेखानीले सूचना दिइरहँदा पनि बालकलाई सुरक्षित ठाउँमा नलगेको विषयमा विद्यालय व्यवस्थापन समिति र अखिल नेपाल फुटबल संघ (एन्फा)को चर्को विरोध भइरहेको छ । कुलेखानीको सूचनालाई विद्यालय व्यवस्थापन समितिले बेवास्था गरेको पाइएको छ ।