मकवानपुरका कान्छा मल्लको चितवनमा पौरखः गाउँलाई तरकारी खेती सिकाए, वडाध्यक्ष पनि भए
हेटौंडा- चितवनको भरतपुर महानगरपालिका–२४ जगतपुरको नयाँबस्तीमा छ, कान्छा मल्लले नेतृत्व गरेको केरुङ्गा सामूहिक तरकारी खेती तथा कृषि तालिम केन्द्र ।२०७६ मा कान्छा मल्लको योजनामा ९३ जना शेयरसदस्य भएर केरुङ्गा तरकारी खेती समूह गठन गरिएको थियो । ९३ जना शेयरसदस्य रहेता पनि संस्था मल्लकै योजना र मिहेनतमा अडिएको छ । अहिले त्यो समूहको सम्पति ५ करोड भन्दा बढी पुगेको छ । यहाँ उत्पादित तरकारी काठमाडौं, पोखरा, हेटौंडा, बीरगञ्जदेखि बुटवलसम्म पुग्छ । २०५८ सालसम्म फाट्टफुट्ट घर भएको जगतपुरको नयाँबस्ती अहिले भरतपुर महानगरको तरकारीको ‘हब’ बनेको छ ।
जगतपुरको नयाँ बस्तीलाई तरकारी पकेटक्षेत्र बनाउने मुख्यपात्र मल्ल नै हुन् । उनलाई यहाँ ‘किसान नेता’का रुपमा सम्बोधन गरिन्छ । मल्लले २०५८ पछि गाउँलाई नै तरकारी खेती गराउन सिकाएको जगतपुरका किसान अगुवा सूर्यप्रकाश जम्कट्टेल बताउँछन् । ‘मल्लदाइ यहाँ नआएको भए सायद यो ठाउँ अहिलेसम्म पनि तरकारी उत्पादनको केन्द्र हुँदैनथ्यो होला, उहाँको मेहनतको कारण अहिले यहाँको मानिसको जीवनस्तरमा ठूलै परिवर्तन आएको छ,’ उनले सुनाए ।
समग्रमा भरतपुर जस्तो सुगम र विकसित महानगरको नयाँबस्तीक्षेत्र तरकारी किसानको राजधानी हो । यहाँको तरकारी सयौंको भान्सामा प्रत्येक दिन पाकिरहेको छ । यो सफलताको एउटै पात्र हुन् मल्ल । मल्ल मकवानपुरको तत्कालीन हाँडीखोला गाविसको भुन्द्रुङ (हालको मनहरी गाउँपालिका–३) का किसान हुन् । २०४५ सालबाट मकवानपुरको तरकारीको हब मानिने हाँडीखोलामा व्यावसायिक तरकारी खेती गरेर बचेको नाफाले उनले भरतपुरको नयाँबस्तीमा ४८ कठ्ठा जग्गा किनेका थिए ।
झाडी भएपनि यहाँ पानीको व्यवस्थापन भयो भने तरकारी खेती गर्न सकिन्छ भन्ने अनुमान गरेका मल्लले जग्गा जोडेका हुन् । उनी हाँडीखोलाबाट नयाँबस्तीमा जानुको अर्को कारण थियो त्यो क्षेत्रमा मकवानपुरको हर्नामाडी र हटियालगायत क्षेत्रबाट स्थानान्तरण भएको ५७६ घरधुरी बस्ती । २०३२ सालतिर वनक्षेत्रमा रहेको हटिया र हर्नाका ५७६ घरधुरीलाई सरकारले नयाँबस्ती आसपासको क्षेत्रमा स्थानान्तरण गरेको थियो ।
चारैतिर रुखो झाडी, केही तिल र तोरीको मात्र उत्पादन हुने नयाँबस्ती क्षेत्रमा अहिले जताततै विभिन्न थरीका हरिया तरकारी देख्न सकिन्छ । यहाँका मनिस आफ्नो तरकारी बारीमा मेहनतको साथमा काम गरिरहेका भेटिन्छन् । उनीहरुलाई वर्षको १२ महिना सिजनल तरकारी रोप्ने, गोडमेल गर्ने र बजारसम्म लग्नेको चटारो हुन्छ । नयाँबस्तीमा अचेल दिनमा दर्जनौ गाडी तरकारी ओसारपसारमा व्यस्त हुन्छन् ।
हाँडीखोलामा तरकारी उत्पादन गर्दागर्दै उनी २०५८ मा स्थायीरुपमा नयाँबस्ती सरे र सुरु गरे तरकारी खेतीको अभियान । यही अभियानले उनलाई २०७४ सालको वडाअध्यक्ष पनि बनायो । मल्ल २०७४ मा २४ नम्बर वडाको वडाध्यक्ष विजयी भए । उनलाई किसान नेताको रुपमा यहाँका स्थानीयले चिन्छन् । किसान नेताको परिचयले नेकपा एमालेबाट उनी अध्यक्ष भएपनि २०७९ को निर्वाचनमा गठबन्धनका उम्मेदवारसँग पराजित भए ।
कान्छाले मकवानपुर हाँडीखोलाबाट यहाँ आएर आफ्नो ३२ कठ्ठा जमिनमा तरकारी व्यवसाय सुरु गरे । आफैंले सामान्य पानीको बोरिङ गरेर उनले झाडीमात्र रहेको रुखो जमिनलाई फाँडेर मलिलो बनाए र तरकारी फलाए । उनी त्यतिकै रोकिएनन् । तरकारी खेती गर्ने किसान बढ्न थालेपछि अब तरकारीको बजारलाई व्यवस्थित गर्नुपर्छ भन्ने सोचको साथ उनले केरुङ ताजा तरकारी सहकारीको नाउँमा सहकारी बनाए र त्यसैमार्फत् तरकारी किसानको बचत र बजारीकरणको लागि सहज स्थितिको निर्माण गरिदिए ।
त्यतिबेलासम्म मल्ललाई यो क्षेत्रमा किसान नेताको रुपमा चिन्न थालिसकेको थियो । आफैं पनि मेहनत गर्ने र अरुलाई पनि मेहनत गर्न सिकाउने मल्लले हालको भरतपुरको २३ र २४ नम्बर वडालाई तरकारी केन्द्रको रुपमा स्थापित गरेरै छाडे । सामूहिक तरकारी फर्मले यसबीचमा १३ कठ्ठा आफ्नै जमिन जोडिसकेको उनले बताए । जमिनमा प्रदेश र स्थानीय सरकारको ५० प्रतिशत लगानीमा कार्यालय भवन, स्टोर घर निर्माण हुनु सुखद पक्ष रहेको भन्दै सामूहिक फर्मको माध्यमले यहाँका दर्जनौ मानिसले रोजगारीसमेत पाएका छन् । तरकारी रोप्ने र टिप्ने समयमा त २५–३० जनाको हारहारीले रोजगार पाउने उनले बताए ।
फर्मले अहिले आफ्नै निजी ढुवानी सवारीसमेत किनिसकेको र पाँचवटा बोरिङ बनाएको उनको भनाइ छ । तरकारी उत्पादन र प्रवद्र्धनमा बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि कार्यालय, ज्ञानकेन्द्र, स्थानीय वडादेखि भूमिगत जल सिंचाई आयोजना समेतको महत्वपूर्ण सहयोग रहेको मल्ले जानकारी दिए ।







