हिमाल, पहाड, तराइ जोड्दै छठ पर्व
हेटौंडा- हिन्दु महिलाको पवित्रपर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ । छठ पर्वको मुख्य दिन अर्थात आज बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ । कात्तिक शुक्लचतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मनाइएको हो । बागमती प्रदेश राजधानी हेटौंडाको राप्तीतटीयक्षेत्रमा व्रतालु तथा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गरेका हुन् । साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ भने भोलि शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गरी छठपर्व मनाइन्छ । हेटौंडाको राप्ती तटीयक्षेत्रमा मकवानपुरबासी व्रतालु तथा श्रद्धालुहरुको बाक्लो उपस्थिति रहेको थियो ।
मकवानपुरका राजनीतिक दलका प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकारीहरु, जनप्रतिनिधिहरु छठपर्वको अवसरमा राप्तीतट पुगेका थिए । राप्तीपुलको उत्तरतर्फ खोलाकिनारमा पण्डाल टाँगेर खोलाकिनारसम्म पूजाका लागि भक्तजन र दर्शनार्थीको भीड लागेको थियो । छठ पूजा समारोह समितिका संयोजक रवि गुप्ताका अनुसार हेटौंडाको बुद्धचोकदेखि राप्तीतटसम्म सडकको दायाँबायाँ बत्ती बालेर झिलिमिली बनाइएको छ । बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनका लागि ६ सय २० फिट लामो पन्डाल टाँगिएको थियो । राप्तीतटमा टाँगिएको पन्डालमा हजारौं व्रतालुले पूजाआजामा सहभागी भएका थिए ।
व्रतालुहरु बिहीबार रातभर त्यही पन्डालमुनि जाग्राम बसेर पूजा गर्नेछन् । छठ पर्वमा व्रतालु र अवलोकन गर्न जानेहरुको संख्या हजारौंको थियो । राजमार्गमा सवारी सुचारु गर्न ट्राफिक प्रहरीलाई निकै समस्या भएको थियो । गत वर्ष ६० हजारभन्दा बढीको सहभागिता रहेको आयोजकको दाबी छ । तराई÷मधेश, पहाड र हिमाल जोड्ने छठ पर्व अहिले सेतुको रुपमा रहेको छ । कतिपय छठको रौनक अवलोकन गर्नका लागि मात्रै भएपनि राप्तीतटमा उपस्थित भएका देखिन्थे ।
हेटौंडामा बर्सेनि छठपर्व मनाउनेको संख्या बढ्दै गएको छ । यहाँ बसोबास गर्ने मधेशका हुन् वा पहाडीया समुदायका अधिकांश छठपर्वको दिन राप्तीतट पुग्ने गर्छन् । सूर्यदेवको आराधना र उपासना गर्ने कयौं व्रतालुहरु पहाडीया छन् । छठपर्व विशेषगरी तराईबासीले मनाउने गरे पनि पछिल्लो समय हेटौंडामा तराई तथा पहाडीया दुवै समुदायले भक्तिभावले मनाउनेगरेको पाइएको छ ।
नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन हिजो आइतबार व्रतालु महिला आत्मशुद्धि गरेका थिए । लसुन र प्याज समेत नखाने, अरुवाअरुवाइन अर्थात् शुद्ध भोजन गरेका थिए । यसलाई ‘नहायखाय’ भनिने गरिएको छ । दोस्रो दिन सोमबार दिनभर उपवास बसेर बेलुकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने र सोही खीर घरको देवीदेउतालाई अर्पण गरेपछि परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी व्रतालुले आफू पनि प्रसादकै रुपमा ग्रहण गरेर व्रतलाई निरन्तरता दिने गरिन्छ ।
पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चार दिनको यो पर्व विधिवत्रुपमा सम्पन्न हुनेगर्छ । यस पर्वको मुख्य विशेषतामा शक्तिरुपी माता छठ र संसारलाई प्रकाशमान पार्ने सूर्यदेवको संयुक्त रुपमा पूजा गरेर पर्व मनाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको संयुक्त मधेशी सेवा समाजका सचिव नन्दलाल दासले बताएका छन् । यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास छ ।







