हेटौंडा–१२ को उपनिर्वाचनमा मुख्य तीन दलले टुंग्याए उम्मेदवार

साझाकुरा
२०८१ कार्तिक २४, शनिबार १३:३४

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा उपनिर्वाचन हुँदैछ । २०७९ वैशाखमा भएको निर्वाचनबाट वडाअध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।आगामी १६ मंसिरमा देशभर विभिन्न कारणले जनप्रतिनिधि विहीन स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा पनि हो ।

मकवानपुरको यही वडामा मात्र निर्वाचन हुने भएकाले दलहरु कसरी जित्ने भन्ने रणनीति र उम्मेदवार छनोटमा लागेका छन् । वडाध्यक्षको निर्वाचनमा मुख्यतः तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने गतनिर्वाचनको मतपरिणामले देखाउँछ । माओवादीलाई गुुमेको वडाअध्यक्ष फिर्ता गर्ने चुुनौती छ । एमाले र कांग्रेसलाई नयाँ वडामा विजयको झण्डा गाड्ने चुनौती रहेको छ ।

अन्य साना दल पनि निर्वाचनको तयारीमा जुुटिरहेका छन् । जसले गर्दा उपनिर्वाचन रोचक हुने देखिएको छ । माओवादी, कांग्रेस र एमालेले उम्मेदवारको टुंगो लगाएर चुनावी रणनीति तयार गर्न लागिसकेका छन् । माओवादीले रविन प्रधानलाई वडाअध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी प्रदेश उपाध्यक्ष तथा प्रदेश सांसद प्रेमबहादुर पुलामीले जानकारी दिए ।एमालेले युवा संघ मकवानपुरका अध्यक्षसमेत रहेका राजेश नगरकोटीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । गतस्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका नगरकोटी यसपटक पनि सर्वसम्मत उम्मेदवार छनोट भएका हुन् ।

गतनिर्वाचनमा नगरकोटीले तेस्रो स्थान हासिल गरेका थिए ।कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए । उनी गत निर्वाचनमा उम्मेदवार थिए । काग्रेसको वडा समितिबाट पाँच जनाको नाम सिफारिस भएर जिल्लामा गएको थियो । वडाबाट अर्जुन तिवारी, शरण घिसिङ, कुमार पोखरेल, गीता न्यौपाने, सुुर्दशन लामाको जिल्लामा सिफारिस भएको जनाइएको छ । पाँच जनाबीच सहमतिमै उम्मेदवारको टुंगो लगाइएको चौलागाईंले बताए ।

राप्रपा र नेकपा एसले पनि वडाअध्यक्षको उम्मेदवार चयनमा लागेका छन् । यो निर्वाचनले मकवानपुरमा दलहरुको पछिल्लो अवस्थालाई पनि चित्रण गर्ने भएकाले विशेष रुपमा हेरिएको छ ।२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा ललित बहादुर घलानले १ हजार ३ सय ७१ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३ सय ४० मत पाएका थिए । यस्तै एमालेका राजेश नगरकोटीले १ हजार ३ सय २५ मत पाएका थिए । गतनिर्वाचनमा तीन दलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन ।

विजय भएका माओवादीका घलान र दोस्रो भएका काँग्रेसका तिवारीबीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्रो भएका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । दोस्रो भएका तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो । गत निर्वाचनमा तीनै दलका उम्मेदवारले पाएको मतलाई हेर्दा चुनावमा कसले बाजी मार्छ अनुमान लगाउन सक्ने अवस्था नरहेको देखिन्छ ।

उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मङ्सिर २ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छ भने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।

मंसिर ३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । ५ मंसिर बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*