हेटौंडा–१२ मा वडाअध्यक्ष बन्न १४ जना इच्छुक, जित्छ कसले ?

साझाकुरा
२०८१ मंसिर ३, सोमबार १२:१०

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको १२ नम्बर वडामा स्थानीय तह उपनिर्वाचनका लागि १४ जनाको उम्मेदवारी परेको छ ।वडाअध्यक्ष बन्न यति धेरैले इच्छा देखाए । जसमा ५ जना स्वतन्त्र उम्मेदवार छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय, हेटौंडा–१२ मा आइतबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), जसपा, नेपाल मजदुर किसान पार्टीसहित स्वतन्त्र उम्मेदवार गरी १४ जनाले मनोनयन दर्ता गराएको कार्यालयका कमल संजेलले जानकारी दिए ।

२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्तपदमा उपनिर्वाचन हुन लागेको हो । घलान माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।वडाअध्यक्ष पदका लागि नेकपा एमालेबाट राजेश नगरकोटीले उम्मेदवारी दर्ता गराए । बखानसिंह घलान प्रस्तावक र अर्जुनप्रसाद अर्याल समर्थक छन् । नेपाली कांग्रेसबाट अर्जुन तिवारीले सुदर्शनप्रसाद लामाको प्रस्ताव र सरणबहादुर घलेको समर्थनमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नगरकोटी र घलान ३० वैशाख ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि उठेका थिए । जसमा तिवारी दोस्रो र नगरकोटी तेस्रो भएका थिए ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट रविकुमार प्रधानको उम्मेदवारी परेको छ । प्रधानले उम्मेदवारीमा माधव प्रसाद प्रस्तावक र चन्द्रप्रसाद घलान समर्थक छन् । रास्वपाका आशावीर बलले उम्मेदवारी दर्ता गराए । राजदेव लामाको प्रस्ताव र चन्द्रबहादुर स्याङ्तानको समर्थनमा बलले उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपाले पहिलोपटक वडामा निर्वाचन लड्दैछ ।नेकपा (एकीकृत समाजवादी)बाट बलराम बलको मनोनयन दर्ता भएको छ । नेपाल मजदुर किसान पार्टीबाट फूलमाया तितुङ, जसपा नेपालबाट छविलाल वाइबा र मंगोल नेशनल अर्गनाइजेशनबाट दीपा लामाको उम्मेदवारी दर्ता भएको छ ।

राप्रपाबाट प्रेमबहादुर भ्लोनले मनोनयन दर्ता गराए । राप्रपा उम्मेदवार भ्लोनलाई कमल थापा नेतृत्वको राप्रपा नेपालले समर्थन गर्ने भएको छ ।राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह र राप्रपा नेपाल मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटाबीच आइतबार बसेको बैठकले भ्लोनलाई राप्रपा नेपालले समर्थन गर्ने सहमति जुटेको राप्रपा सहकोषाध्यक्ष सन्दिप सापकोटाले बताए । २०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका सरणसिंह थिङले १८३ मत ल्याएका थिए ।

५ जना स्वतन्त्र उम्मेदवार१२ नम्बर वडाको उपनिर्वाचनमा ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार, कुमार पोख्रेल, युनेश लामासिंन्तान र अर्जुन घलानको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।वडामा थपिए १५८८ मतदाता१२ नम्बर वडामा १५८८ जना नयाँ मतदाता थपिएका छन् ।

३० वैशाख ०७९ मा भएको निर्वाचनपछि १२ नम्बर वडामा नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडाले जानकारी दिएको ।आयोगको कार्यालयले १२ नम्बर वडामा कुल ८ हजार ५३ मतदाता कायम गरेको छ । ३८७८ पुरुष, ४१७४ महिला र अन्य १ जना मतदाता छन् । यसअघि ६४६५ मतदाता थिए ।दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा पाँचवटा बुथ र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा बुथ रहने कार्यालयप्रमुखहरिप्रसाद ढकालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*