हेटौंडा–१२ को उपनिर्वाचनमा कुन उम्मेदवार बलियो ?
हेटौंडा- हेटौंडा–१२ को स्थानीय तह उपनिर्वाचनका लागि आइतबार १४ जनाले वडाअध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।मनोनयन दर्तासँगै उम्मेदवारहरु आक्रामक ढंगले चुनावी अभियानमा होमिएका छन् । १२ नम्बर वडाको उपनिर्वाचन जिल्लाका १०२ वडामध्ये एकमात्र स्थानमा हुन लागेको हो । जसकारण पनि
राजनीतिक दलहरु कडा चुनावी अभियानका साथ आफ्ना उम्मेदवार जिताउन मैदानमा खटिएका छन् । उपनिर्वाचनले मकवानपुरमा दलहरुको पछिल्लो अवस्थालाई पनि चित्रण गर्ने भएकाले यसलाई विशेषरुपमा हेरिएको छ ।
०७९ वैशाखको निर्वाचनको अवस्थामा हाल ठूलो फेरबदल आइसकेको छ । त्यतिबेला राष्ट्रिय राजनीतिमा कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) एउटै चुनावीमोर्चामा थिए । १२ नम्बर वडामा भने काग्रेस, एमाले, माओवादी एक्काएक्लै भिडेका थिए । हाल पनि सबै दलले आ–आफ्नै उम्मेदवारी दिएको छ । गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कमल थापा नेतृत्वको राप्रपा नेपाल चुनावी मैदानमा थिएन ।
रास्वपाका उम्मेदवारले चुनाव जित्ने सम्भावना न्यून रहेतापनि ठूलो संख्यामा भोट काट्न सक्ने आंकलन गरिएको छ । राप्रपा नेपालका सम्भावित उम्मेदवार पछाडि हटेर दलले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । चुनावमा नयाँ पार्टी पनि सामेल हुनु र विगतको निर्वाचनपछि मात्रै झण्डै १६०० मतदाता थपिनुले १२ नम्बर वडाको निर्वाचनलाई विगतमा झैं सहजै अड्कल लगाउन मुस्किल छ ।
वडाअध्यक्ष पदका लागि नेकपा एमालेबाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेकपा माओवादी केन्द्रबाट रविकुमार प्रधान, रास्वपाका आशावीर बल, नेकपा (एकीकृत समाजवादी)बाट बलराम बल, नेपाल मजदुर किसान पार्टीबाट फूलमाया तितुङ, जसपा नेपालबाट छविलाल वाइबा र मंगोल नेशनल अर्गनाइजेसनबाट दीपा लामाको उम्मेदवारी दर्ता भएको छ ।
राप्रपाबाट प्रेमबहादुर भ्लोनसहित ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार, कुमार पोख्रेल, युनेश लामा सिंन्तान र अर्जुन घलान छन् । १४ जनाको उम्मेदवारी परेकोमा वडाअध्यक्षका लागि तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बीचमा रोचक त्रिपक्षीय भिडन्त पक्का छ ।
२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्षमा विजयी माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त पदमा १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । घलान २०७४ मा पनि वडाअध्यक्षमा विजयी भएका थिए । नगरकोटी र तिवारी ३० वैशाख ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि उठेका थिए । जसमा तिवारी दोस्रो र नगरकोटी तेस्रो भएका थिए । कांग्रेसका तिवारीले ०७४ को निर्वाचनमा घलानसँग नै पराजय भोगेका थिए ।
दोस्रोपटक लडिरहेका नगरकोटी र तेस्रोपटक चुनावमा होमिएका तिवारीका लागि यो निर्वाचन जसरी पनि जित्नुपर्नेछ । तिवारी कांग्रेस जिल्ला सदस्य र नगरकोटी एमाले निकट युवा संघको जिल्ला अध्यक्ष हुन् । माओवादीका रविनलाई चुनाव जितेर १२ नम्बर वडामा पार्टीको बिरासत जोगाइराख्ने चुनौती छ । उनले जित्दा यो वडामा तीनपटक माओवादीको जित हुनेछ ।
माओवादीलाई गुमेको वडाअध्यक्ष फिर्ता गर्ने चुनौतीका लागि एमालेलाई साख जोगाइराख्ने र कांग्रेसलाई पहिलोपटक जितको झण्डा गाड्ने अबसरका रुपमा हेरिएको छ । यस वडामा कांग्रेसले हालसम्म चुनाव नजितेको नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति माइकल रामचन्द्र अर्यालले जानकारी दिए । ‘अब कांग्रेसले जित्छ’ उनी भन्छन् ।१२ नम्बर वडामा राप्रपा उम्मेदवार भ्लोन र रास्वपाका बललाई कमजोर आँक्न नहुने ठूला दलका प्रतिनिधिहरु नै स्वीकार गर्छन् ।
राप्रपाका भ्लोनले विगतमा आएको पार्टीको मतलाई बढाउँदा र रास्वपाका बलले मत तान्दा गत निर्वाचनको भन्दा फरक मत परिणाम आउने देखिन्छ । २०७९ को निर्वाचनमा राप्रपाका शरनसिं थिङले १८३ मत पाएका थिए । कडा चुनावी प्रतिस्पर्धामा ठूलो मतअन्तरको हारजित नहुने आंकलन गरिएको छ ।
गत निर्वाचनमा कसको
कति मत ?
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा ललितबहादुर घलानले एक हजार ३७१ मत पाएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका तिवारीले एक हजार ३४० मत र एमालेक नगरकोटीले एक हजार ३२५ मत पाएका थिए । गत निर्वाचनमा तीन दलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन ।विजय भएका माओवादीका घलान र दोस्रो भएका कांग्रेसका तिवारी बीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्रो भएका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । दोस्रो भएका तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो ।
थपिएको मत नै निर्णायकत्यति मात्र नभई, वडामा थपिएका नयाँ मतदाताको मत कसलाई धेरै जान्छ भन्ने विषय महत्वपूर्ण छ । १२ नम्बर वडामा १५८८ जना नयाँ मतदाता थपिएका छन् । ३० वैशाख ०७९ मा भएको निर्वाचनपछि १२ नम्बर वडामा नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडाले जानकारी दिएको छ । थपिएको मत नै निर्णायक देखिन्छ ।
आयोगको कार्यालयले १२ नम्बर वडामा कुल ८ हजार ५३ मतदाता कायम गरेको छ । ३८७८ पुरुष, ४१७४ महिला र अन्य १ जना मतदाता छन् । यसअघि ६४६५ मतदाता थिए । दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा पाँचवटा बुथ र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा बुथ रहने कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।







