सुँघेरै जडिबुटी चिन्छन् दृष्ट्रिबिहीन बजगाईं
हेटौंडा- मकवानपुरगढी गाउँपालिका–६ बाग्दली निबासी केदार बजगाईंका आँखामा जन्मजात नै समस्या थियो । तर, आफूले आँखाको ज्योति नै गुमाउनुपर्छ भन्ने कहिल्यै सोचेका थिएनन् उनले । एकदिन यस्तो कहालीलाग्दो समय आयो । केदारको आँखाको ज्योति अन्ततः मन्द हुँदै गयो, र उनका आँखा बन्दै भए ।बजगाईले रातदिन सोच्न थाले, ‘मेरो आँखाले संसार देख्न सक्दैन भने म के गर्न सक्छु ?’
यो सोचले उनको मनलाई चर्को पीडा दियो । उनी पराजित भइ सबै कुरामा असफल भएको महसुस गर्दै थिए । तर, केदारले हिम्मत भने हारेनन् । आफूले संसार देख्न नसकेपछि उनी आफू जस्तै साथीहरुको खोजीमा लागे र दृष्टिविहीनहरुको संस्थामा पुगे ।त्यहाँ पुगेपछि उनको मन केही सम्हालियो । दृष्टिविहीन साथीहरुसँग उनी राष्ट्रिय अपा· महासंघमा पुगे जहाँ थुप्रै अपा· साथीहरुलाई भेटे र सहानुभूति पनि पाए ।
आफ्नी श्रीमतीसँग राष्ट्रिय अपाङ्ग महासंघमा अपाङ्ग साथीहरु भेट्न पुगेका बजगाईंलाई त्यहाँका साथीहरुको अवस्था थाहा पाएपछि सम्हालिन सजिलो भएको बताए । त्यसपश्चात बजगाईको मन बलियो भयो । उनले केही गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढ्ने सोचे । विसं २०१८ सालमा ललितपुरको खरीडाँडामा जन्मिएका बजगाई २०२८ सालमा १० वर्षको उमेरमा परिवारका साथ मकवानपुरको बाग्दली आएका थिए । आँखाको ज्योति गुमाउनु अगावै उनी जडीबुटी खेती र जडीबुटीको औषधिहरु बनाउने काम गर्थे । हजुरबुबाहरु मदनबहादुर बजगाईं र गंगाबहादुर बजगाईंबाट जडीबुटीबारे बाल्यकालदेखि नै ज्ञान लिएका उनले जडीबुटीमै भविष्य देखे ।
जडीबुटीको संकलन गर्दै आफ्नो बाग्दलीमा रहेको जग्गामा रोप्न थाले अनि औषधि बनाएर बिक्री पनि गरे । यसरी काम गरेको केही वर्ष बित्न नपाउँदै उनका कमजोर आँखाका ज्योति नै गए । आँखाका ज्योति गुमे पश्चात उनले जडीबुटी रोप्ने र औषधि बनाउने काम गर्न सकेनन् । आँखाको ज्योति गुमेपछि चिन्तित बजगाईंलाई उनको श्रीमतीले कहिल्यै साथ छाडिनन् । श्रीमतीको साथ र अन्य दृष्टिविहीनको सहयोगले उनलाई फेरि हौसला प्रदान ग¥यो र उनी पुनः जडीबुटीको औषधि बनाउनतिर लागे ।
उनले जडीबुटीको औषधि मात्र बनाएनन् अन्य दृष्टिविहीन साथीहरुलाई साथमा लिएर अचार उत्पादनतर्फ पनि लागे । हाल हेटौडा उपमहानगरपालिका कमाने–८ मा दृष्टिबिनहरुको संस्था स्थापना गरेर उनले अचार र मसला उत्पादन गर्दै बजारीकरण गरिराखेका छन् । लामो समयदेखि जडीबुटी सम्बन्धी ज्ञान राख्दै आएका बजगाईंले ग्यास्टिक, अल्सर, पाइल्स, सुगर, दम, डायरिया लगायत घाँटीसम्बन्धी रोग, पेटसम्बन्धी रोग, पाठेघरसम्बन्धी रोग, प्रोस्टेटसम्बन्धी रोग आदिको लागि जडीबुटी औषधि तयार पार्छन् ।
‘जडीबुटी प्राकृतिको देन हो, कतिपय जडीबुटी हाम्रै वरिपरि नै पाइने भएपनि त्यसलाई हामीले पहिल्याउन सक्दैनौँ जडीबुटीको नकारात्मक असर भन्दा पनि सकारात्मक पक्ष धेरै छ । निरोगीले अन्य जडीबुटी खान मिल्छ, बकाइनो र निम भने धेरै खानाले शरीरमा नकारात्मक असर पर्छ’ उनले भने ।बजगाईंले अगाडि भने– ‘यी जडीबुटीहरु केमिकलरहित हुन् कतिपय औषधिहरु पिनेर राख्दा बिग्रन सक्छ । घरमै सबै सामानहरु भएपछि औषधि आवश्यक पर्ने बेलामा मात्रै बनाउँछौं । हामी औषधि तयार पारेर राख्दैनौँ । कसैले आवश्यक प¥यो भनेपछि मात्र बनाइदिन्छौं ।
प्रायः प्रयोगमा आइरहने ग्यास्ट्रिकको औषधि भने हामीले अतिरिक्त बनाएर राख्ने गर्छौं’ । मकवानपुर नेत्रहिन सघंको अध्यक्ष समेत रहेका बजगाईले १०८ थरिका जडीबुटी संकलन गर्दैछन् । जसबाट बन्ने औषधिले जुनसुकै रोगको लागि पनि काम गर्ने बताउँछन् । आँखा नदेख्ने बजगाईंले जडीबुटीहरु छामेर र सुँघेर पत्ता लगाउँछन् । जडीबुटीहरु पिस्नेदेखि लिएर प्याक गर्नेसम्म गर्छन् उनी । उनले औषधिको बट्टा पत्ता लगाउनको लागि ब्रेललिपिबाट लेखेको कागजलाई बट्टामा टास्ने गर्छन् । घरमा कोही नभएको बेला औषधि किन्न ग्राहक आउने र आफूलाई चिन्न सजिलो होस् भनेर यसरी राखेको उनले बताए ।
ब्रेललिपि दृष्टिविहीनले पढ्ने भाषा हो । उनले आँखाको ज्योति गुमाइसकेपछि बुढेसकालमै भएपनि ब्रेललिपि सिकेको उनले बताए । तीन छोरा र तीन छोरीका धनी बजगाईले कसैको सहारा लिँदैनन् । उनी एक्लै श्रीमतीका साथ हेटौडाको कमानेमा डेरा गरी बस्छन् । दृष्टिविहीन साथीहरुको सरसंगत मिल्ने र आफूले उत्पादन गरेको अचार तथा जडीबुटी बजारीकरण गर्न सजिलो हुने भएकाले डेरा गरी बसेको बताए ।
मकवानपुरमा रहेका सम्पूर्ण दृष्टिविहीनको आँट, साहस र हौसलाको प्रतीक बनिरहेका बजगाईले आफूसँगै अन्य २८ जना दृष्टिविहीनलाई डो¥याइराखेका छन् । केदार बजगाईंको संघर्ष र साहसले हामीलाई जीवनका कठिनतम परिस्थितिमा पनि आशा र दृढता नगुमाउने प्रेरणा दिन्छ । आँखाको ज्योति गुमाएपछि पनि उनले आत्मसमर्पण नगरेर जडीबुटी उत्पादन र अन्य दृष्टिविहीन साथीहरुसँगै उद्यमशीलतातर्फ अघि बढे । आफ्नो काम र संघर्षको माध्यमबाट उनले केवल आफ्नो जीवनमा मात्र सुधार ल्याएनन्, बरु अरुलाई पनि सशक्त बनाउने बाटो खोलिदिए ।
उनको यात्रा अझै जारी छ । उनीसँगै हेटौंडामा रहेका अन्य दृष्टिविहीन साथीहरु पनि आफ्नो भविष्यलाई नयाँ दिशा दिइरहेका छन् । केदारको साहस र संघर्षले प्रस्ट्याइदिएको छ कि ‘मनमा दृढ इच्छाशक्ति हुने हो भने कुनै पनि अड्चनलाई पार गर्दै जीवनमा सफलताको शिखर चुम्न सकिन्छ ।’ संघर्षमा रमाउने बजागाईंको पछिल्लो दिनचर्यालाई नजिकबाट नियाल्ने हो भने सहज जिन्दगी बिताउने प्रेरणा मिल्ने छ ।







