‘कैलाशमा धार्मिक पर्यटनको सम्भावना, सरकार केन्द्रित हुनुपर्छ’
हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेश सांसद ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । सम्भावनालाई हातमा लिन प्रदेश सरकार केन्द्रित हुनुपर्ने उनको धारणा छ ।‘धार्मिक महत्वका क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्नुपर्छ । पर्यटन, कृषिउद्यमलाई प्रोत्साहन हुने गरी भौतिक पूर्वाधार विकासका कामहरु अघि बढाउनु अपरिहार्य रहेको छ’ उनले भने । नेता बानियाँले सरकारको लगानीलाई उत्पादनमा जोडेर अघि बढ्नुपर्ने पनि बताएका छन् । बानियाँले कृषि, पर्यटन र अन्य क्षेत्रमा गरिएको लगानीलाई उत्पादन केन्द्रित गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
मकवानपुरको कैलाश गाउँपालिका–९ नामटरमा रहेको स्यार्सेकालिका मन्दिरको उद्घाटन गर्दै उनले सेवा प्रवाहलाई गुणस्तरीय बनाउने र नागरिकको आयआर्जन वृद्धिका लागि सरकारले कृषि, पर्यटन तथा औद्योगिक उत्पादनमा सरकारले जोड दिनुपर्ने उनले बताए । जिल्लाको विकट क्षेत्रको रुपमा रहेको कैलाशको विकासका लागि आफूले पहल गर्ने उनले बताए । प्रदेश सरकारसँग पहल गरेर सडक पूर्वाधार निर्माण, पर्यटन तथा आर्थिक उपार्जनका लागि आवश्यक योजनाहरु सञ्चालनका लागि बजेट व्यवस्था गरिने उनको भनाई छ ।
कार्यक्रममा कैलाश गाउँपालिका अध्यक्ष लोक मोक्तानले नामटार क्षेत्रलाई नै पर्यटकीय क्षेत्रको रुपम विकास गर्नेगरी आवश्यक पूर्वाधार निर्माणका लागि योजना बनाइरहेको बताए । उनले नामटार क्षेत्रको विकासको लागि स्थानीयको समेत सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले नामटार कैलाश गाउँपालिकाकै आर्थिक क्षेत्रको रुपमा विकास गर्न सकिने भएकाले पालिकाले समेत प्राथमिकतामा राखेको दावी गरे ।
२०५० सालको बाढीले मन्दिर भत्किएको र कालिकाको मूर्ति पुरिएको थियो । सोही स्थानमा नयाँ मन्दिर निर्माण गरिएको गाउँपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिंह घलानले जानकारी दिए । २५ लाख रुपैयाँमा निर्माण भएको मन्दिर निर्माणको लागि गाउँपालिकाले १० लाख र प्रदेश सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । यस्तै मन्दिर संरक्षणका लागि प्रदेश सरकारले १० लाख, विभिन्न व्यक्ति र संस्थाबाट ५ लाख रुपैयाँ प्राप्त भएको पनि उनले जानकारी दिए ।
वडाध्यक्ष घलानका अनुसार मन्दिर संरक्षण योजना अन्तर्गत खोला नियन्त्रण, चौर सम्याउने, पर्यटकीय तीर्थस्थलको रुपमा विकास गर्न अझै करिब १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । चालू आवमा प्रदेश सरकारकाबाट १४ लाख रुपैयाँ मन्दिर संरक्षणका लागि बजेट विनियोजन भएको पनि वडाध्यक्ष घलानले बताए । यो मन्दिरलाई परापूर्वकालदेखि नै आस्थाकी देबीको रुपमा मानिदै आएको छ ।
कुनैपनि ब्यक्तिले गरेको भाकल यो मन्दिरमा पूजाआजा गरेपछि भाकल पूरा हुने विश्वासका साथ मकवानपुरका विभिन्न पालिका सहित छिमेकी जिल्ला र भारतका सीमावर्ती सहरबाट समेत भक्तजन आउने गरेको वडाअध्यक्ष घलानले बताए । मन्दिरमा चण्डीपूर्णिमा र धान्यपूर्णिमामा विशेष पूजाआजा हुँदै आएको छ । परापूर्वकालमा यसस्थानमा १००८ ऋषिमुनिले तपस्या गरेको जनश्रुति समेत रहेको उनको भनाई छ । स्यार्सेखोला, मनहरीखोला र खादेखोलाको त्रिबेणीमा रहेको मन्दिर मकवानपुरकै प्राचीन खुला शिलामध्ये एक हो ।
साबिक नामटार गाविसमा रहेको स्यार्सेकालिका मन्दिरमापरापूर्व कालदेखि पुजाआजा हुँदै आएको स्थानीयले बताएका छन् । स्यार्सेकालिकादेवीसामु मागेको कुरा पूरा हुने जनविश्वाससहित पूजाआजा गर्न भक्तजन टाढाटाढाबाट आउने गरेका छन् । भाकल गरेकाहरु मन्दिरमा धान्यपूर्णिमाका दिन बिशेषरुपमा आउने गरेका छन् । धान्यपूर्णिमाको समयमा मन्दिरमा जान नभ्याउनेहरु चण्डीपूर्णिमा जाने गरेका छन् । २०५० साल अघि यो मन्दिर रहेको स्थानमा प्राकृतिक शीला थियो ।
त्रिभुवनराजपथको चुनियाँबाट करिव ६ किमि यात्रापछि स्यार्सेकालीका पुग्न सकिन्छ । बिगतका दिनमा साबिक नामटारलाई अन्नभण्डारको रुपमा लिइन्थ्यो । मकवानपुरमा पहिलोपटक ‘तारपुल’ ग्र्याबिटी रोप–वे मार्फत् ग्रामीण क्षेत्रमा उत्पादन भएको तरकारी तथा फलफूल बजार लैजाने र बजारबाट उपभोग्य तथा कृषिका लागि आवश्यक बस्तु ढुवानी गरिएको थियो । २००९ सालमा त्रिभुवन ग्रामविकास केन्द्र खुल्दा नामटारमा विकासको लहर सुरु भएको थियो ।
२०११ मा पनि ठूलो बाढी आएर यस क्षेत्रमा ठूलो नोक्सान गरेको थियो । यो क्रम २०५० मा पनि दोहोरिएको थियो । २०२४ सालमा गाउँफर्क राष्ट्रिय अभियान सुरु हुँदा चुनियाँ–नामटार मोटर चल्ने सडकको सुरुवात भएको थियो । तर, यो सडकखण्डमा सवारी साधन निकै पछि अर्थात् २०४४ ताका चलेको थियो । २०१३ सालमा नामटार क्षेत्रमा एकसाथ तीनवटा विद्यालय स्थापना भएको थियो । बासुकी, जलेश्वर र कटुञ्जेमा विद्यालय खुलेको थियो । अहिले नामटारमा कक्षा १२ सम्मको अध्यापन हुने गरेको छ।