विपन्न, अशक्त र असहायको सारथी बन्दै उपमहानगर

साझाकुरा
२०८१ मंसिर १२, बुधबार ११:५२

हेटौंडा- कुनैपनि नागरिकको स्वास्थ्यउपचारमा सरकार संबेदनशील हुनैपर्छ । आर्थिक अभावले स्वास्थ्यउपचारबाट बञ्चित बनेका बिपन्न समुदायका व्यक्तिलाई हेटौंडा उपमहानगरपालिकाले साथ दिएको छ ।दैनिक जीवनयापनका लागि पनि समस्यामा रहेको हेटांैडा–१८ थामीटोलका ४५ वर्षीय पशुपति थामीको उपचारमा उपमहानगरले साथ दिएको हो । केही समय अघिबाटै स्वास्थ्यसमस्या व्यहोरिरहेका थामीको पहिलोचरणको उपचार हेटौंडा अस्पतालमा भइरहेपनि स्वास्थ्यअवस्थामा सुधार नभएपछि अस्पतालले घरजान भनेपनि उनी गएका थिए ।

तीनदिन अघिबाट उपमहानगरका नगरप्रमुख मीनाकुमारी लामासँगको समन्वयमा हेटौंडा अस्पतालमा उपचार भएपनि चिकित्सकले घरजान भनेपछि अस्पतालबाट बाहिरीएका थामीलाई मंगलबार सिएमसी चुरेहिल अस्पताल पु¥याइएको छ । अस्पतालबाट घर गएका थामीलाई भेट्न मंगलबार नगरप्रमुख लामा र हेटौंडा–१८ का वडाअध्यक्ष अनिल बानियाँ सबेरै उनको घरमै पुगेका थिए ।

घरमा नगरप्रमुख लामा र वडाअध्यक्ष बानियाँलाई देखेपछि थामी सुतिरहेको ओछ्यानबाट उठेर मुस्कुराउँदै बसेका थिए । स्वास्थ्यमा समस्या भएका कारण बोली नआएपनि हातको इसारबाट उनले केही जानकारी नगरप्रमुख लामा र वडाअध्यक्ष बानियाँलाई गराएसँगै थप उपचारको लागि चुरेहील लगिएको हो । हेटौंडा अस्पतालको रिपोर्टअनुसार स्वास्थ्यमा अन्य समस्या नभएपनि ‘प्ल्याटिलेट’ को मात्रा घटेको देखिए बताइएको छ ।

उपचारको क्रममा पोषणयुक्त खानेकुराको अभावका कारण स्वास्थ्यमा सुधार हुन नसकेको आंकलनका साथ उनलाई स्थानीय हर्नामाडी स्वास्थ्यचौंकीमार्फत् सञ्चालनमा रहेको एम्बुलेन्समा थप उपचारका लागि चुरेहिल पु¥याइएको थियो । बिरामी थामीसँगै चुरेहिल पुगेका नगरप्रमुख लामा र अध्यक्ष बानियाँले चिकित्सक र व्यवस्थापनसँग समन्वय गर्दै उपचारमा कुनै समस्या हुन नदिन आग्रह गरेका थिए ।

जीवनयापनका लागि मजदुरी गनुपर्ने अवस्थामा रहेका उनको परिवारको लागि उपमहानगरपालिकाले आवश्यक खाद्यान्ह उपलब्ध गराएको छ । नगरप्रमुख लामा र वडाअध्यक्ष बानियाँले बिरामी थामीको परिवारका लागि चामल, दाल, तेल, सोयाबिन, कुखुराको अण्डालगाय हस्तान्तरण गरेका थिए । थामी समुदायको उपचारमा सहज अवस्था सृजना गर्नका लागि वडाको सिफारिसमा उपमहानगरले स्वास्थ्यबीमा गरी दिने नगरप्रमुख लामाले बताइन् ।

आर्थिक अभावका कारण स्वास्थ्यउपचारमा समस्या हुने, शिक्षाबाट बिमुख हुनपर्ने, दैनिक जीनवयापनमा समस्या व्यहोर्न पर्ने अवस्थालाई निराकरणका लागि उपमहानगर तयार रहेको उनले बताइन् । हेटौंडा–१८ मा रहेका थामीटोलका बासिन्दा दैनिक जीवनयापनका लागि मजदुरी गर्दै आएका छन् । त्यहाँ १७ घर परिवार थामी समुदायको बासोबास रहेको वडाअध्यक्ष बानियाँले बताएका छन् ।

केहीदिन अघि हेटौंडा उपमहानगरपालिका–१५, भोर्लेका मनिष थिङ र एञ्जिला स्याङ्तानको १८ महिने छोराको मलद्वारको उपचारमा उपमहानगरले सहयोग गरेको थियो । नाबालक छोरा आरोनको उपचार खर्च जुटाउन भौतारिँदै मनिष र एञ्जिलाले गाउँघर छिमेकमा सहयोगको याचना गरेको लामो समय बितिसक्दा पनि पर्याप्त रकमको जोहो गर्न नसकेकाले अस्पताल जानबाट रोकिएका थिए ।

खर्चको अभावका कारण परिवारले नाबालकको उपचार गर्न नसकेकोले उपचारको जिम्मा नै उपमहानगरले लिएको हेटौंडाकी नगरप्रमुख लामाले बताइन् । बाबु मनिष विगतमा बसको सहचालकको भूमिका निर्वाह गरेर छाक टार्दै आएका थिए । सहचालकको जागिर छोडेर उनी छोराको उपचारखर्च जुटाउन भौतिररहेका थिए । उपमहानगरले मलद्वार नै नभएका नाबालकको उपचारमा आर्थिक सहायता उपलब्ध गराउने निर्णयगरेको थियो ।

१८ महिनाकाआरोनको सबै उपचार खर्च व्यहोर्ने निर्णय हेटौंडा उपमहानगरको कार्यपालिकाबाट भएको नगरप्रवक्ता सबिन न्यौपानेले बताए ।हेटौंडा–१५ का वडाअध्यक्ष सुनिल मोक्तानले ल्याएको प्रस्ताव कार्यपालिका बैठकले स्वीकृत गरेको थियो । चिकित्सकको सल्लाह अनुसार उनको उपचारमा लाग्ने करिब ३ लाख ५० हजार रुपैयाँ खर्च व्यहोर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिए । २०८० जेठ २ गते मनिष र एञ्जिलाले आरोनलाई पहिलो सन्तानको रुपमा जन्म दिएका थिए । तर, जन्मेको केही घण्टामै बालक आरोनले बान्ता गर्न थालेको उनका बुवा मनिषले बताए ।

त्यसपछि उनलाई हेटौंडा अस्पताल लगियो । चिकित्सकले छोराको मलद्वार छैन भनेपछि संसार नै अँध्यारो महशुस भएको उनी सुनाउँछन् ।नेपालको संविधानको मौलिक हकअन्तरगत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्थागरिएको र यसै धाराको उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्यसेवा निःशुल्क प्राप्त गर्ने हक हुने उल्लेख गरिएको छ । आकस्मिक स्वास्थ्यसेवाबाट कसैलाई वञ्चित नगरिने आधारभूत मौलिक अधिकारकारुपमा स्वास्थ्य सेवालाई सुनिश्चितता गरिएकोले उपमहानगरले सहयोग गरेको बताइएको छ ।

त्यसै गरी उपधारा (२) मा प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने उल्लेख गरिएको छ । उपधारा (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्यसेवामा समान पहुँचको हक हुने र (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था गरिएको छ । स्थानीय सरकारले नागरिकको रक्षाका लागि कुनैपनि भेदभाव नराखी काम गर्ने प्रयास गरिरहेको उपमहानगरका प्रवक्ता न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*