हेटौंडा–१२ मा तीन दलका उम्मेदवार नै मुख्य प्रतिस्पर्धी

साझाकुरा
२०८१ मंसिर १३, बिहीबार १०:१२

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१२ को वडाअध्यक्ष चयनक लागि १६ मंसिरमा हुन गइरहेको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् ।हेटौंडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राजेश नगरकोटी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रविन प्रधान उम्मेदवार छन् । तिवारी, नगरकोटी र प्रधान नै मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । गत निर्वाचनको मतपरिणामले पनि यी ती उम्मेदवारको मुख्य प्रतिस्पर्धालाई पुष्टि गर्दछ ।

यसअघि तीनजना उम्मेदवारको मत थोरै मात्रै फरक थियो । गत निर्वाचनमा लडेका तिवारी र नगरकोटी यस पटक पनि चुनावी मैदानमा छन् । गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा ललितबहादुर घलान निर्वाचित भएका थिए । उनी जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्न गएपछि रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

गत निर्वाचनमा घलानले एक हजार ३७१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका तिवारीले एक हजार ३४० मत ल्याउँदा एमालेका नगरकोटीले एक हजार ३२५ मत ल्याएका थिए । तिवारी घलानसँग २०७४ को निर्वाचनमा पनि उठेका थिए । समग्रमा तिवारीको तेस्रो र नगरकोटीको दोस्रो प्रतिस्पर्धा हुँदैछ । माओवादीका प्रधान भने नयाँ अनुहार हुन् । आगामी राजनीतिक भविष्यका लागि पनि तिवारी र नगरकोटीलाई जसरी पनि चुनाव जित्नुपर्ने दबाब छ ।

माओवादी केन्द्रबाट नयाँ उम्मेदवार हुँदा कांग्रेस र एमालेले पुरानै उम्मेदवारलाई मैदानमा उतार्नुले चुनावलाई रोचक बनाएको छ । माओवादी केन्द्रलाई गुमेको वडा फर्काउने चुनौती छ भने एमाले र कांग्रेसलाई पनि यो वडा प्रतिष्ठाको विषय बनेको छ । उम्मेदवारहरुले वडाको विकास, विद्यमान समस्या समाधानलाई मुद्दा बनाएर वडाबासीमाझ प्रतिबद्धता व्यक्त गर्दै विश्वास दिलाउन खोजिरहेका छन् ।
उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि ठूला दललाई चुनौती दिँदै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रास्वपाले आशावीर बल, एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेमबहादुर भ्लोनलाई उम्मेदवार बनाएको छ । उपनिर्वाचनका लागि ९ दलका ९ जना र स्वतन्त्र तीन जना गरी १२ जना उम्मेदवार चुनावी मैदानमा रहेको मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राप्रपाका भ्लोनलाई पनि बलियो उम्मेदवारका रुपमा हेरिएको छ । प्राविधिक क्षेत्रमा काम गरिसकेको अनुभव भएका भ्लोन तामाङ समुदायको भएकाले उनको प्रभाव रहेको आंकलन छ । १२ नम्बर वडा तामाङ समुदायको बाहुल्य क्षेत्र हो । सामाजिक संघसंस्थामा आवद्ध भएर निरन्तर काम गर्दै आएका भ्लोन प्रभावशाली उम्मेदवारका रुपमा हेरिएको छ । मुख्य प्रतिस्पर्धीका रुपमा रहेका तिवारी, नगरकोटी र प्रधानको फेरि पनि ठूलो मतान्तर नहुने अनुमानका बीच भ्लोनको प्रभाव उनीहरुको हारजितको निर्णायक बन्न सक्ने नेताहरु चर्चा गर्छन् ।

रास्वपाका आशावीर र नेकपा एसका बलरामले पनि राम्रै मत बटुल्ने आंकलन गरिएको छ । निक्कै कडा प्रतिस्पर्धा हुने देखिएकाले कुनैपनि उम्मेदवारले सहजै जित्ने भरोसा देखाउन नसकेको घरदैलोमा सक्रिय नेताहरु नै सुनाउँछन् । २ वर्षमा यस वडामा थपिएको १५८८ मतको हिसाब गर्न सबै दलहरुले सकिरहेका छैनन् । कतिपय नेताहरुलाई १५८८ मत कहाँबाट थपिएको भन्नेमा कौतुहल्ता छ । ‘यो मत कसरी थपियो, यति धेरै बसाईसराई भएको नहुन पनि सक्छ ।

त्यसैले थपिएको मतको कुनै भर छैन ।’ एक नेताले भने ।प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडाका अनुसार ०७९ मा भएको निर्वाचनपछि १२ नम्बर वडामा कुल ८ हजार ५३ मतदाता कायम गरेको छ । ३८७८ पुरुष, ४१७४ महिला र अन्य १ जना मतदाता छन् । यसअघि ६४६५ मतदाता थिए । दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा पाँचवटा बुथ र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा बुथ रहने कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*