एसईई–२०८२ मकवानपुरको संक्षिप्त नतिजा बिश्लेषण

रमेश प्रसाद लामिछाने
२०८३ जेष्ठ ६, बुधबार १०:३१

कक्षा १२ सम्म विद्यालयतहको शिक्षा भनिएपछि कक्षा १० को अन्तमा लिईने एसईई परीक्षालाई बिगत झैं चर्चित बनाईनुमा परम्परागत ह्याङ ओभरले काम गरेको भन्न सकिन्छ । यो परीक्षालाई प्रदेशतहबाट संचालन तथा ब्यवस्थापन गर्ने भनि किटानी गरिएको छ । गत वर्षहरुकै निरन्तरता भएता पनि उत्तरपुस्तिका परिक्षणमा भने यो पटक चाँडो मात्र हैन, सम्बन्धित परीक्षा केन्द्रमै जाँच्ने काम भएको थियो । चैत्र १८ गतेबाट शुरु भै २७ गते सकिएको परीक्षाको नतिजा वैशाख २८ गते नै प्रकाशन हुनुलाई सकारात्मक मानिएको छ । गरे सकिन्छ भन्ने म्यासेज यो परीक्षाको नतिजाले सिद्ध गरेको छ । यद्यपि उपु परिक्षणमा सम्बन्धित विद्यालय तथा शिक्षकहरुको आपसी सल्लाह र हस्तक्षेपका प्रसंगहरु पनि बाहिर आएका थिए । शायद, उच्च ग्रेडको संख्या बृद्धिले कतिपय केन्द्रहरुमा केहि समझदारी भएछ भन्ने साबित गर्छ नै । गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बृद्धि भै यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थीहरु कक्षा ११ मा प्रवेशका लागि योग्य अर्थात ग्रेडेड भएका छन् ।

केन्द्राध्यक्षकै जिम्मेवारीमा भएको उपु परिक्षणले शिक्षकहरु आफ्नो कर्तब्यप्रति जिम्मेवार छन् भन्ने पुष्टि गरेको स्पष्ट छ । परीक्षा बोर्डका अनुशार नियमित तर्फ कूल ४,४१,५६६ जनाले परीक्षा आवेदन फर्म भरेकोमा परीक्षामा सहभागी भने ४,३०,६६७ जना भएको जनाईएको छ । फर्म भरेर १०,८९९ जना परिक्षार्थीहरु जाँचमा सहभागी देखिएनन् । वि.सं. २०८१मा एसईई नियमित तर्फको परीक्षा दिने ४,३८,८९६ जना भएको र वि.सं.२०८२ मा यो संख्या ८,२२९ ले घटेर ४,३०,६६७ जनाले मात्र परीक्षा दिएको पाईन्छ ।

परीक्षा बोर्डका अनुशार, प्रदेश स्तरबाट एसईईलाई हेर्दा सबैभन्दा बढि विद्यार्थी बागमती प्रदेशबाट ९८,८१७ जना सहभागी मध्ये ७८.०४ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भए भने २१,७०४ जना अर्थात २१.९६ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन् । दोश्रोमा सबैभन्दा बढि मधेश प्रदेशबाट ७६,३१७ जना सहभागी मध्ये ५८.४३ प्रतिशत मात्र ग्रेडेड भएका र बाँकी ३१,७२५ जना अर्थात ४१.५७ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएको देखिन्छ । त्यसैगरि तेश्रोमा सबै भन्दा बढि विद्यार्थी कोशी प्रदेशबाट ७२,२५६ जना सम्मिलित भएकोमा ७०.४३ प्रतिशत ग्रेडेड भएका र २९.५७ प्रतिशत अर्थात २१,३६६ जना मात्र नन ग्रेडेड भएको जनाईएको छ । चौथोमा लुम्बिनी प्रदेशबाट ७२, १४९ जना सहभागी भएकोमा ६१.३४ प्रतिशत ग्रेडेड र ३८.६६ प्रतिशत अर्थात २७,८९३ जना नन ग्रेडेड भएका छन् । पाँचौंमा सुदुर पश्चिम प्रदेशबाट ४२,२९९ जना मध्ये ५१.२२ प्रतिशत मात्र सफल भएका र बाँकी ४८.७८ प्रतिशत अर्थात २०,६३५ जना विद्यार्थीहरु नन ग्रेडेड भएको भनिएको छ ।

त्यसै गरि छैटौंमा गण्डकी प्रदेशबाट ३६,४९३ जना सम्मिलित भएकोमा ७२.७५ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका र बाँकी २७.२५ प्रतिशत अर्थात ९,९४३ जना नन ग्रेडेड भएको भनिएको छ । सात प्रदेश मध्ये सातौमा सबै भन्दा कम विद्यार्थी कर्णाली प्रदेशबाट ३२,३३६ जना सहभागी भएकोमा ५९.०५ प्रतिशत ग्रेडेड हुन सफल भएका र बाँकी १३,२४१ ज्ना अर्थात ४०.९५ प्रतिशत विद्यार्थीहरु नन ग्रेडेडमा परेका छन् । सबैभन्दा राम्रो नतिजा बागमती प्रदेशको देखिदा सुदुर पश्चिम प्रदेशको सबैभन्दा कमजोर नतिजा देखिन्छ । बागमती, गण्डकी र कोशी प्रदेशहरुको मात्र राष्ट्रिय पतिशत भन्दा माथि छ भने बाँकी ४ प्रदेशहरु लुम्बिनी, कर्णाली, मधेश र सुदुर पश्चिम प्रदेशहरुको नतिजा राष्ट्रिय प्रतिशत भन्दा कमजोर देखिएको छ ।

कुनैबेला परीक्षा हेर्न परे मकवानपुर जानु भन्ने कथन मुलुकभर चलेको थियो । बिगतमा परीक्षाको सबालमा राष्टूकै ध्यान आकर्षण गर्न सफल मकवानपुर जिल्लाको एसईईको नतिजा गत वर्ष भन्दा करिब ५ प्रतिशतले वृद्धि हुँदा यस वर्ष शुन्य ग्रेडेड हुने विद्यालयको संख्या ७ बाट घटेर ४ मा झरेको छ । राष्ट्रिय नतिजाको प्रतिशत भन्दा १४.९९ प्रतिशतले कम नतिजा देखिनु पक्कै राम्रो भन्न सकिन्न । यद्यपि ६ वटा संस्थागत विद्यालयले शत प्रतिशत नतिजा निकालेका छन् । जिल्लाको १० वटा स्थानिय तहमध्ये राक्सीराङ गाउँपालिकाका ३ वटा विद्यालयहरु नील भएका छन् भने भिमफेदी गाउँपालिकाको १ विद्यालय निल भएको छ ।

अन्य पालिकाहरुको पनि नतिजा कमजोर देखिएका छन् । विद्यालयहरुको प्रयास नभएको होईन । कतिपय पालिकाले परिक्षार्थीलाई क्लोज क्याम्पमा राखेर धेरै मेहनत गरेका थिए । हेटौंडा नगर लगायतका अधिकाँश पालिकामा अतिरिक्त कक्षाहरु सत्र भरि नै चलिरहेका थिए । हेटौंडा उपमहानगर र थाहा नगर लगायतका अधिकांश विद्यालयहरुमा विषयगत शिक्षक ब्यवस्थापन सबल भएको स्विकार्नै पर्दछ । नतिजा सुधारका लागि भएका मिटि·, गोष्ठि, भेला, छलफल, वर्कशप, अन्तरक्रियाहरुमा सम्बन्धित पालिकाहरुको चासो, जाँगर र लगानीलाई सकारात्मक रुपमा हेरिएको थियो । राम्रा विद्यालयहरुको भ्रमण, अवलोकन, शेयरि· र असल अभ्यासहरुको अनुशरण पनि नभएका होईनन् । यी सबै प्रयत्नहरु नतिजामा किन देखिएनन् भन्ने सबाल नै गम्भिर बनेको छ ।

अन्तमा, प्रस्तुत नतिजा हाम्रो सन्दर्भमा सन्तोषजनक पटक्कै छैन । एउटा मात्र कोणबाट नभै नतिजा बिश्लेषणका आधारहरु धेरै हुन सक्छन् । विद्यार्थी संख्यालाई पहिलो आधार मानिन्छ । यो ग्रेडेड प्रतिशत हो । त्यस्तै उच्च जिपिए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या अर्को आधार हो । यो नतिजाको गुणस्तरका कोणबाट बुझिन्छ । कक्षा ९को नतिजालाई पनि यो नतिजा संग जोडेर हेर्न पर्छ भन्ने अर्को अधार पनि छ । मकवानपुरको एसईई नतिजाले यस पटक पनि सम्बन्धित स्थानीय तह र विद्यालयहरुको गम्भिर ध्यानाकर्षण गरेको छ । हामी कहाँ चुक्यौ भनेर गम्भिर समिक्षा गरिनु पर्दछ । कक्षा १० मा पुगेपछि मात्र मेहनत गर्ने गराउने संस्कार नै मूल समस्या हो । जग कमजोर भए घर बलियो हुँदैन भन्ने हामी नै हौं । तर, कक्षा १ देखि नै शिक्षण सिकाई क्रियाकलापहरुमा दिनुपर्ने जोड र ध्यान नपुगेकै कारणले आजको अवस्था आईपुगेको हो । कक्षा ३ सम्म लिखित जाँच पर्दैन भन्यौं । अहिले कक्षा ५ सम्म लिखित परीक्षा आवश्यक छैन भनिरहेका छौं । कक्षा ७ सम्म उदार कक्षोन्नती भन्दै वर्ष बितेपछि कक्षा प्रमोशन गर्ने गराउने पनि अरु त होईनन् ।

शिक्षण सिकाईका सीपहरु सुनाई,बोलाई, पढाई र लेखाई यी चारै सीपहरुको निरन्तर अभ्यास नभएकाले र नगराएकाले आजको नतिजा देख्न परेको हो । निरन्तर मूल्याड्ढनलाई औपचारिकतामा सिमित गरिनु पनि यस्को प्रमुख कारक भन्नै पर्दछ । स्थानिय तहमा संचालन हुने कक्षा ८ को परीक्षामा पनि गम्भिरता देखिइको छैन । शिक्षक तथा अभिभावकले विद्यार्थीको कक्षा प्रमोशन भन्दा पनि सिकाई उपलब्धिलाई प्राथमिकता दिनु पर्दछ । विद्यार्थीको ब्यवहारमा सिकाई उपलब्धिका कारणले आउने परिवर्तन निश्चय नै राम्रो नतिजाका लक्षण मानिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*