ग्रामीणबस्तीले ढाकेको हेटौंडा–१९ बालमैत्री वडा घोषणा

साझाकुरा
२०८१ मंसिर १५, शनिबार १३:०८

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको १९ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमबीच नगरप्रमुख मीनाकुमारी लामाले १९ नम्बरलाई बालमैत्री घोषणा गरिन् ।पूर्णखोपयुक्त, पूर्णसाक्षर, खुल्लादिसामुक्त वडा घोषणा भइसकेको १९ नम्बर वडाको अर्को एउटा परिचय पनि थपिएको हो । बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकमध्ये ४४ वटा सूचक १०० प्रतिशत, एउटा सूचक ९८ प्रतिशत, ३ वटा सूचक ९५ प्रतिशत र एउटा सूचक ९० प्रतिशत, एउटा सूचक ८५ प्रतिशत, एउटा सूचक ८० प्रतिशतसम्म १९ नम्बर वडाले नतिजा हासिलगरेको छ ।

अधिकांश भागहरु ग्रामीणस्तरका रहेको वडामा घरधुरी तथ्यांक संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको संख्या ३,३५० छन् । बालबालिकाको संख्यामध्ये १ हजार ७२७ बालक र १ हजार ६२३ बालिका रहेका छन् । बालबालिकाको संख्यालाई आधार मान्दा ४८.४४ प्रतिशत बालिका र ५१.५५ प्रतिशत बालक रहेको वडा अध्यक्ष नरनाथ सुवेदीले जानकारी दिए ।

वडामा सामुदायिक र संस्थागत गरी बालविकास केन्द्र सहितका १० वटा विद्यालय संचालनमा छ । १८ वटा बालसमूह र एक वडा बालसञ्जालमा ४५० जना बालबालिका आवद्ध छन् भने विभिन्न संरचनागत समितिमा समेत जम्मा ४९१ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको उनले बताए । वडा कार्यालयबाट करिब १ घण्टाको दुरीमा रहेको ज्यामिरेको शेरशेरमा बालमैत्री वडा घोषणासभा आयोजना गरिएको थियो ।

१९ नम्बर वडा नवौं निकृष्ट बालश्रममुक्त, बालबिबाहमुक्त तथा स्थानीय शासनयुक्त वडा घोषणा गरिएको उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाअध्यक्ष सविन न्यौपानेलेजानकारी दिए । यसअघि ८ वटा वडालाई बालमैत्री घोषणा गरिसकिएको छ ।बालमैत्री वडा घोषणा गर्दै नगरप्रमुख लामाले वडाको आधा भन्दा बढी भूभाग ग्रामीणक्षेत्रमा परेपनि कार्यक्रमलाई ग्रामीण भेगसम्म ल्याएर गर्नु महत्वपूर्ण भएको बताइन् । उनले घोषणामात्र प्रमुख नभएको भन्दै यसको कार्यान्वयन महत्वपूर्ण भएको बताइन् ।

घोषणा भएको कार्यलाई निरन्तररुपमा अघि बढाउनु प्रमुख जिम्मेवारी रहेको उनको भनाई थियो । ग्रामीणमा भएपनि उत्साहका साथ कार्यक्रममा भएको सहभागिताले विषयप्रतिको गम्भिरतालाई स्थानीयले बुझेको महशुस आफूलाई भएको उनले बताइन् ।हेटौंडा–१९ का वडाअध्यक्ष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगरउपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अघिकृत सूर्यप्रसाद गौतम, उपमहानगरका प्रवक्ता एवम् १ नम्बर वडाका अध्यक्ष तथा नगरप्रवक्ता न्यौपाने, उपमहानगरका बिभिन्न वडाका अध्यक्षहरु, सामाजिक संघ÷सस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

लामा गुरुको प्रतिबद्धता
वडालाई बालमैत्री घोषणा गरेसँगै जनजातिको बाहुल्यता रहेको हेटौंडा–१९ शेरशेर ज्यामिरेक्षेत्रका लामा गुरुहरुले बालबिवहमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् ।वडा बालश्रम र बालबिवाहमुक्त घोषणा भएकोले अब, गाउँमा हुने कुनैपनि बालबिवाहको कार्यक्रममा सहभागी नहुँने प्रतिबद्धता जनाएका हुन् । बालमैत्री घोषणामा बौद्ध धर्मको बिधिअनुसार पूजा गर्दै स्थानीय लामा तथा पोन्बो समूहले २० बर्ष मुनीका बालबालिकाबीच हुने बैवाहिक कार्यक्रममा सहभागिता नजनाउने प्रतिबद्धता जनाएका थिए ।

पहिला गाउँका कार्यक्रम भनेर पूजाआजा तथा बैवाहिक कार्यक्रममा सहभागिता जनाए पनि अब बालमैत्री घोषणालाई असहज हुने कुनैपनि बैवाहिककार्यमा
सहभागी नहुने यहाँ रहेका गुम्बा र झाँग्रीबीच सहमति भएको ध्यूमिग्य छोलिङ गुम्वाका दोर्जे लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*