मउवा संघमा लाग्यो चुनाव, अध्यक्षमा दुई जनाको उम्मेदवारी घोषणा

साझाकुरा
२०८१ मंसिर २०, बिहीबार ११:३६

हेटौंडा- आगामी पुसमा हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा धमाधम भइरहेको छ । मकवानपुर उद्योग वाणिज्य संघको आगामी पुस २४–२७ मा हुन लागेको ५८ औं वार्षिक साधारणसभा तथा निर्वाचनले हेटौंडा बजार तातिएको छ निर्वाचनमा होमिएको ब्यवसायीले आफ्नो पक्षमा मतदाता रिझाउने क्रम सुरु भएको छ । उद्योगी व्यापारीहरु दुई खेमामा बिभाजन भएर प्रचारबाजी चलिरहेको छ । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष प्रमोदसिंह रानाभाटले अध्यक्षमा बुधबार उम्मेदवारी घोषणा गरेका छन् ।

रानाभाटले आफ्नो सम्पर्क कार्यालय उद्घाटन सहित अध्यक्ष पदको उमेद्वारी घोषणा गरेका हुन् । पुष २४ गतेदेखि २७ गतेसम्म संघको ५८ औँ साधारण सभाका तथा अधिवेशन हुँदैछ । संघको बर्तमान बरिष्ठउपाध्यक्ष अनिल अग्रवालले मंगलबार नै उम्मेदवारी घोषणा गरेका थिए । आउँदो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । यो अधिवेशनमा कम्तिमा दुइवटा प्यानलमा चुनाव हुने आंकलन गरिएको छ । अग्रवालले आफू अध्यक्ष पदमा उम्मेदवारी दिने साझाकुरासँग बताएका छन् ।

मकवानपुरे उद्योगी, व्यवसायीको छाता संगठनका रुपमा रहेको मउवासंघमा २ हजार भन्दा बढी उद्योगी व्यवसायी सदस्य आवद्ध छन् । संघमा ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनिन लागेको हो । रानाभाटले आफ्नो उम्मेदवारी घोषणाका साथमा हेटौंडा–२ स्थित पल्पसारोडमा सम्पर्क सचिवालय स्थापना गरेका छन् ।

प्रमोदसिंहका पिता डम्बरसिंहले रिबन काटेर सचिवालय उद्घाटन गरेका थिए । उम्मेदवारी घोषणापछि रानाभाटले व्यवसायीको हकहित र आर्थिक विकासका लागि आफूले ठोस काम गरेर देखाउने प्रतिवद्धता जनाएका छन् । व्यवसायीका समस्याको सम्बोधन गर्दै संस्थालाई थप उचाइमा पु¥याउने लक्ष्यका साथ आफू अध्यक्ष बन्न चाहेको रानाभाटको भनाइ छ ।

‘संघको नेतृत्व व्यवसायीले नै गर्नुपर्छ, व्यवसायीका हकहितका लागि ठोस योजना बनाएर संघलाई समृद्ध र प्रभावकारी बनाउन म निरन्तर क्रियाशील हुनेछु’ रानाभाटले भनेका छन् । रानाभाटको उम्मेदवारीसँगै मउवासंघमा निर्वाचनको सरगर्मी बढेको हो । बर्तमान बरिष्ठउपाध्यक्ष रहेका अग्रवालले उद्योग वाणिज्य संघको चुनावमा अध्यक्ष पदमा आफ्नो दाबी स्वाभाबिक हुने बताएका छन् ।

संघमा बिगत १७ वर्षदेखिको बिरासतको अग्निपरीक्षमा अग्रवाल उत्रन लागेका हुन् । अग्रवालको मोर्चामा महासचिव तेजराज अधिकारी,कोषाध्यक्ष माधब ज्ञवाली, वस्तुगत सचिव नेत्रप्रसाद खतिवडा रहेका छन् । रानाभाटले भने आफ्नो मोर्चाको बारेमा खुलाएका छैनन् । दुबै प्यानलका व्यावसायिक उमेद्वार मकवानपुरको बस्तीपुर, हटिया, हर्नामाडी, छतिवनलगायतका बजारका व्यवसायी मतदाता भेटघाट तीब्र पारेका छन् । बस्तुगत संघहरुमा पनि यतिबेला कस्को पक्षमा उभिने ? भन्ने विषयमा छलफल गर्ने क्रम बढेको छ ।

रानाभाट मकवानपुर उद्योग वाणिज्य संघमा २०६७ सालमा सदस्य पदमा निर्वाचित भएर निरन्तर आफ्नो व्यावसायिक नेतृत्वको यात्रामा सक्रिय छन् । सदस्य बनेसँगै व्यवसायीको हकहितमा लागिरहेका रानाभाट २०७१ को निर्वाचनमा कोषाध्यक्ष बने । उनी २०७४ को संघको निर्वाचनबाटमहासचिव बने । महासचिव बनेर जिल्लाभित्र मात्र नभई देशका विभिन्न उवासंघसँग सम्बन्ध कायम राख्नुका साथै आफ्नो अनुभवलाई थप वृद्धि गरे । हाल उनी मउवा संघको उद्योगतर्फका उपाध्यक्ष छन् । उनी २०७८ को निर्वाचनबाट उद्योग उपाध्यक्षमा रहेर कार्यसम्पादन गर्दै आइरहेका छन् ।

चरम् आर्थिक मन्दीका कारण ब्यवसायी निराश बनेको समयमा संघको नेतृत्व लिने कुरामा सहजता भने पक्कै छैन । हेटौंडा बजारको २५ मिटर सडक विस्तार, अटोभिलेज, घरबहालकर, अण्डरबिलिङ, हेटौंडा बजारक्षेत्रको पार्किङ, यातायात ब्यवसायीसँगको सम्बन्ध, ब्यवसायीका सबैखाले समस्या, स्थानीय सरकारको दबाव झेल्नुपर्ने अवस्थामा नयाँ नेतृत्वलाई चुनौती देखिएको छ । मकवानपुरमा रहेको संघको पश्चिमी क्षेत्र समिति, थाहानगर उवासंघसँगको सम्बन्ध, व्यवसायीको हकहितका लागि सहकार्र्य, जिल्लाका अन्य संघसस्थासँगको सकारात्मक सहकार्यमा पनि संघको नयाँ नेतृत्वलाई चुनौती देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*