प्रादेशिक विश्वविद्यालय बालबोध मावि हटियामा

साझाकुरा
२०८१ मंसिर २१, शुक्रबार ११:३२

हेटौंडा- बागमतीको प्रादेशि विश्वविद्यालयको भवन हटियास्थित बालबोध माविको जग्गामा निर्माण हुने भएको छ । प्रशासनिक भवन निर्माण गर्न जग्गा खोजिरहेको विश्वविद्यालयलाई उपमहानगरले जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । हेटौंडा उपमहानगरको ५७ औं कार्यपालिका बैठकले विश्वविद्यालयलाई बालबोध माविको नाममा दर्ता रहेको कित्ता नं. ५१० को जमिन उपभोग गर्न दिने निर्णयगरेको छ । सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्धगराउने सम्बन्धी कार्यनीति, २०७९ को दफा (४) बमोजिमको प्रक्रियाको लागि हेटौंडा उपमहानगर–१७ स्थित बालबोध माविको कि.नं. ५१० को जग्गामा विश्वविद्यालयको भवन निर्माणकार्य अगाडि बढाउन सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र सम्बन्धित वडा कार्यालयको सिफारिसको आधारमा जग्गा उपलब्ध गराउने निर्णय भएको नगरप्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।

यसअघि प्रादेशिक विश्वविद्यालयका लागि हेटौंडा–११ को राप्ती नदीउकास जग्गामा भवन निर्माण गर्ने विषयमा चर्चा चलेको थियो । हेटौंडा–धरान–चतरा सडक, निजगढ–काठमाडौं दु्रतमार्गको पहुँच आदि कुराले हटिया उपयुक्त हुने भएकोले विश्वविद्यालयको भवन निर्माणका लागि उपमहानगरसँग पत्राचार भएको थियो । प्रदेश सरकारको एकल अधिकारको सूचीमा रहेको उच्चशिक्षालाई प्रयोग गर्दै विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले उच्चशिक्षा ऐन, २०७८ ले गरेको व्यवस्थाअनुसार सार्वजनिक विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनका लागि तयार गरिएको विधानमा विश्वविद्यालय सभा, विश्वविद्यालय संरक्षक समिति, प्राज्ञिकपरिषद्, कार्यकारीपरिषद् र सेवा आयोग गठनको व्यवस्था गरेको छ ।

गतवर्षको पुसमा बागमती प्रदेश सरकारले हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई ‘बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय’ बनाउने निर्णय गरेको थियो । प्रदेशको केन्द्रीय क्याम्पसको रुपमा मकवानपुर बहुमुखी क्याम्पसलाई विकास गरी प्रादेशिक विश्वविद्यालय बनाउने निर्णय गरेको तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिएका थिए । नेपालको संविधान–२०७२ को अनुसूची–६.८ मा प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन, स्थापना र सञ्चालन गर्न पाउने व्यवस्था छ । सोही संविधानको जगमा निर्माण भएको ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ अनुसार प्रादेशिक विश्वविद्यालय स्थापनाको नीतिगत छलफल अगाडि बढेको थियो ।

यस्तै, सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीतिबमोजिम प्रक्रियाको लागि हेटौंडा–१० मा रहेको खाली जग्गा सम्बन्धित वडा कार्यालयको सिफारिसमा बायोमेडिकल वर्कसपका लागि उपलब्ध गराउने उपमहानगरले निर्णय गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश सरकारको च.नं. ३१ को पत्रबाट खोप भन्डारगृह निर्माण र थप औषधि एवम् औषधिजन्य सामग्री भण्डारण तथा प्रादेशिक बायोमेडिकल वर्कसप सञ्चालन गर्नका लागि ३ कठ्ठा जग्गा माग गरेको थियो । उपमहानगरको यो निर्णयले प्रादेशिक बायोमेडिकल वर्कसप हेटौंडा–१० मा संचालन हुने भएको छ ।

हेटौंडा उपमहानगरको चालु आर्थिक वर्ष २०८१÷८२ को हिउँदे नगरसभाको १६ औं अधिवेशन आगामी पुस ५ गते शुक्रबारका दिन आह्वान गर्ने निर्णय गरेको पनि प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । उपमहानगरसँग भएको पुरानो बारुणयन्त्र बागमती गाउँपालिका झुरझुरेलाई दिने निर्णय गनि उपमहानगरले गरेको छ । उपमहानगरसँग भएको दमकल १ थान, पिकअप भ्यान १ थान, टाटासुमो १ थान माग गरेकोले सवारीसाधन नियमानुसार बागमती गाउँपालिकालाई निःशुल्क हस्तान्तरण गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताए ।

हेटौंडा उपमहानगरपालिकाबाट जारी भएको कृषिएम्बुलेन्स सेवा सञ्चालन कार्यविधि, २०८१ को व्यवस्था अनुसार हेटौंडा–१३ स्थित आधामार कृषक समूहलाई कृषिएम्बुलेन्स सञ्चालन गर्न दिने निर्णय गरिएको छ । उपमहानगरले खरिद गरेको कृषिएम्बुलेन्स सञ्चालनका लागि प्रस्ताव पेश गर्नका लागि गत कात्तिक २७ मा सूचना प्रकाशित भएको थियो । भविष्य कृषि सहकारी संस्था लि. हेटौंडा–१४ र आधामार कृषक समूह हेटौंडा–१३ को दुईवटा प्रस्ताव प्राप्त भएकोमा कार्यविधिको व्यवस्थाबमोजिम गठन भएको पालिकास्तरीय कृषिएम्बुलेन्स सेवा सञ्चालक समितिको निर्णयानुसार आधामार कृषक समूहलाई दिन उपयुक्त देखिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*