कहिले रोकिन्छ मनमायाको बलिन्द्र आँसु ?

साझाकुरा
२०८१ मंसिर २४, सोमबार ११:२८

हेटौंडा- मनहरी गाउँपालिका घर भएकी मनमाया तामाङको आँसु नरोकिएकै २० वर्ष पूरा हुन लाग्यो । ७१ वर्षीया मनमायालाई आफ्नै जीवन साथी हराएको पीडा गहिरोसँग गाडिएको छ ।मनहरी–७ रमनटारकी उनी श्रीमान् कृष्णलाई पर्खिबसेको २० वर्ष पूराभयो । उनका श्रीमान कृष्ण ७ चैत २०६१ मा घर नजिकैबाट हराएका थिए । त्यतिबेला कृष्ण ६० वर्षका थिए मनमायालाई आफ्नो श्रीमान घर फर्किने आशा अझै बाँकी छ । भन्दैछिन्, ‘सरकार मेरो लोग्नेको लाश देखाइदेउ की सास पठाइदेउ ।’ आँसु भरिएर टिल्पिलाउँदो आँखा यताउति गर्दै मनमायाले सुनाइन्, ‘मैले मेरो लोग्ने कहाँ छ ? खोजिदेउ भनेकै २० वर्ष भइसक्यो । मेरा श्रीमान् कहाँ छन् ? भन्ने विषयमा कोही केही बोल्दैनन् ।’ कृष्ण तामाङ धादिङ गजुरीबाट ५० को दशकमा मनहरीको रमनटारमा बसाई आएका थिए । त्यहाँ वन फाँडेर टहरा बनाएर ज्यालादारी र पितृ
(झाँक्री) काम गरेर परिवार पाल्दै आएका थिए ।

गाउँ डुल्न निस्किएका तामाङ नेपाली सेनाको गाडीमा गएको यतिका वर्षसम्म घर फर्किएनन् । उनी हराउँदा देशमा सशस्त्र द्वन्द्व चर्किरहेको थियो । १ फागुन २०५२ बाट चलेको ११ वर्षे सशस्त्र द्वन्द्वले ५ मंसिर २०६३ मा विस्तृत शान्तिसम्झौतापश्चात् बिराम लियो । तामाङ हराएको दुई वर्षपछि भएको शान्तिसम्झौता भर्खरै १८ वर्ष पुग्यो । उमेरले ८० काटिसक्दा पनि तामाङ घर नफर्किँदा मनमायाको आँखा दिनहुँ रसाइरहन्छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच १२ बुँदे विस्तृत शान्तिसम्झौता भएर सशस्त्र युद्ध अन्त्य भएको थियो ।

शान्तिसम्झौताको जगमै टेकेर द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिको छानबीन गर्ने सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरेकै १० वर्ष (२७ माघ ०७१) भइसक्यो । आयोग बन्यो तर, मनमाया जस्ता कैयौं पीडितका आँखाको आँशु भने पुछिएन । मनमायाको जस्तै पीडा धेरै बेपत्ताा परिवारमा ब्याप्त छ । कतिपय परिवारले १२ वर्षसम्म घर नफर्के पछि कुशको शब बनाएर दाहासंस्कार र काजकिरिया पनि गरिसकेका छन् । तर, मनमायालाई भने आफ्ना श्रीमान् फर्कने आशा मरेको छैन ।

कृष्ण घर नर्फिएपछि खोज्न भौतारिइन् मनमाया । ‘गाउँकै कबुलियती वन छेउकै सडकबाट मेरो लोग्नेलाई सेनाको गाडीमा हालेर लगेको त्यहाँ कामगर्ने सडक विभागका कर्मचारीले पछि मलाई भने । म खोज्दै सुनाचुरी (चितवन र मकवानपुरको सीमाक्षेत्र) को ब्यारेकसम्म पुगेँ’, उनले भनिन्, ‘सुनाचुरी ब्यारेकमा फोटो माग्यो, त्यो भएको एउटा फोटो पनि उनीहरुले दिएनन्, मान्छेको खबर पनि पाइँन’ मनमायासँग कृष्णले छोडेर गएको चिनो भनेको नागरिकता मात्रै छ । ‘मसँग त अब फोटो पनि छैन’ उनी भन्छिन् । मनमायाले आफ्नो श्रीमान कहिल्यै राजनीतिमा नहिँडेको बताउँछिन् । ‘उ मान्छे पनि कांग्रेस निकट थियो । माओवादीले कुरा गर्थे उनले कहिल्यै निको मान्दैन थिए । नेता होइन उ सोझो थियो, कसैसँग दोहोरो बोल्दैनथ्यो । जाँडरक्सी, जुवातास खेलेकै थाहा छैन मलाई,’ मनमायाले कृष्णको विगत सम्झिइन् ।

लेखपढ गर्न नजानेकी मनमायालाई २० वर्ष अघि श्रीमान खोज्नु सजिलो थिएन । पानी चुहिने छाप्रोमा ५ जना बालबच्चामध्ये ३ नाबालक र १० वर्षमुनीका दुई छोराछोरी छोडेर उनी कृष्णलाई खोज्न चितवनदेखि हेटौंडा पटकपटक धाइरहिन् । मनमाया मनहरीदेखि धादिङको गजुरी पैदल हिँडेरै पुग्थिन् । त्यसरी नै हिँडेर उनी धेरैपटक चितवन पुग्ने गरेकी थिइन् । एक वर्षसम्म खोज्दा पनि खबर नभेट्टाएकी उनलाई गाउँकै एकजना छिमेकीले कृष्ण चितवनस्थित राष्ट्रिय निकुञ्जको कसरामा छ भनेर हल्ला सुनेको कुरा कानमा पारिदिए । मनमाया कसरा पुगिन् । ‘कसरामा गएर सोध्दा श्रीमानको कसैसँग गाउँघरतिर रिसिबी थियो, कसैसँग दुश्मनी थियो ? भनेर भन्नुभयो । मैले कसैसँग पनि दुश्मनी गर्ने, झगडा गर्ने मान्छे होइन भनेँ’ मनमाया भक्कानिइन् ।

मनहरीको पश्चिमीक्षेत्र चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको बफरजोनमा पर्छ । चितवन राष्ट्रिय निकुञ्जको वरिपरीका चितवन, नवलपरासी, मकवानपुर र पर्साको ७५० वर्गकिलोमिटर क्षेत्रफललाई समेटेर २०५३ सालमा मध्यवर्ती क्षेत्र घोषणा गरिएको हो । वि.सं २०३० मा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जको रुपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि यसको सुरक्षा नेपाली सेनाको जिम्मेवारीमा छ । रमनटारमा घर बनाउँदा रुख ढालेको र स्थानीय वनको वनपालेसँग भनाभन भएको कुरा आजसम्म पनि मनमा गाडिएको उनले सुनाइन् ।

कृष्णले कुम्भीको रुख ढालेर घरको खामो हालेका थिए । वनपालेहरु चार दिनसम्म कराउन आएपछि कृष्णले रिशको झोकमा साल ढालेको पनि होइन, कुम्भी ढाल्दा कति कराएको भनेर काट्दिन्छु भनेको मनमाया बताउँछिन् । वनपालेहरुले एकदिन कसैले थाहा नपाउने ठाउँमा पु¥याइदिन्छु भनेर धम्कि दिएको बताइन् । भनाभन भएको ५ महिनापछि कृष्ण बेपत्ता भएको उनले जानकारी दिइन् । आफूले त्यतिबेला वनपालेहरुलाई तिमीहरुले मेरो श्रीमान् बेपत्ता पारेको हो ? भनेर सोध्दा हामीलाई थाहा छैन भन्ने जवाफ फर्काएको उनको भनाई छ ।

श्रीमानको खोजी गर्ने क्रममै कृष्ण हराएको १० महिनापछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भेट्न आउँदा निकुञ्जको कसराबाट चिठ्ठी आएको मनमायाले थाहा पाइन् । आफूले चिठ्ठी कैलाश गाउँपालिकाको निवर्तमान अध्यक्ष टंक मोक्तानको भार्ता गाविसस्थित घरमा पाएको उनको भनाई छ । कृष्ण नाम गरेको मान्छे यहाँबाट बेपत्ता भएको होइन भनेर चार महिनाससम्म चिठ्ठी त्यतिकै राखेको उनले बताएकी छन् ।कैलाश गाउँपालिका निवर्तमान अध्यक्ष मोक्तानले चिठ्ठीबारे आफूलाई थाहा नभएको बताए । कृष्णलाई चितवनस्थित कसरामा नेपाली सेनाले लगेर राखेको घटना साँचो भएको उनको भनाई छ । ‘त्यतिबेला कृष्ण तामाङलाई कसरामा राखेको कुरा हो । उहाँमाथि गैंडा मारेको आरोप लगाइएको थियो’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*