पत्रकार महासंघ निर्वाचन : बागमती प्रदेश अध्यक्षमा सारुमगर र देवकोटाको उम्मेदवारी
हेटौंडा- नेपाल पत्रकार महासंघ बागमती प्रदेशको नयाँ नेतृत्वका लागि मकवानपुरका कृष्ण सारुमगर र नुवाकोटका शिव देवकोटाको उम्मेदवारी परेको छ ।प्रदेश निर्वाचन समितिका अनुसार सोमबार अपरान्ह प्रकाशित अन्तिम मनोनयन नामावलीअनुसार प्रदेश अध्यक्षमा दुई जनाको आबेदन परेको छ । अध्यक्षमा नेपाल प्रेस युनियनका देवकोटा र प्रेस सेन्टरका सारुमगरको भिडन्त पक्का भएको हो । नेपाल प्रेस युनियन र प्रेस चौतारीको प्यानलबाट देवकोटा पुनः अध्यक्षका लागि मैदानमा आएका हुन् । प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायतका संगठनको साझा उम्मेदवार सारुमगर छन् । उनी वर्तमान महासचिव पनि हुन् ।
निर्वाचनमा होमिएका देवकोटा र मगर दुवैले बागमती प्रदेशका १० जिल्ला (उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाहेक) मा मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । देवकोटाको प्यानलबाट प्रदेश खुला उपाध्यक्षमा हरिप्रसाद हुमागाईं र सारुमगरको प्यानलबाट भोलाप्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । मकवानपुरका हुमागाईं पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष पनि हुन् । उपाध्यक्ष (महिला) मा देवकोटाको प्यानलबाट बिमला पाण्डे र सारुमगरको प्यानलबाट गीता अधिकारी छन् ।
यस्तै, महासचिवमा देवकोटाको प्यानलबाट राधेश्याम खतिवडा र सारुमगरको प्यानलबाट राजन दाहालले उम्मेदवारी दिए । खतिवडा पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष र दाहाल पत्रकार महासंघ मकवानपुरका पूर्वसचिव हुन् । खुला सचिवमा देवकोटा प्यानलबाट श्यामप्रसाद खतिवडा र सारुमगर प्यानलबाट शशिधर सुमन गैरेले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन समिति संयोजक प्रताप विष्टले जानकारी दिए ।
सचिव (समावेशी)मा काजी श्रेष्ठ र चन्द्रकला खत्री, कोषाध्यक्षमा सन्तोष भुजेल र शंकर अधिकारीले उम्मेदवारी दर्ता गराए । श्रेष्ठ र अधिकारी देवकोटा प्यानलबाट तथा खत्री र भुजेल सारुमगर प्यानलबाट उठेका छन् । ३ जना महिला सदस्य चाहिनेमा ६ जनाले उम्मेदवारी दिए । निर्वाचन समितिकाअनुसार श्रीजा थापा, मिना श्रेष्ठ, रुपा अर्याल, समिक्षा पाण्डे, सुनिता रखालमगर र सुनिता सापकोटाले मनोनयन दर्ता गराए । १ जना सदस्य (दलित)का लागि केशव नेपाली र यात्री छिदाल परियार, २ जना सदस्य (जनजाति)का लागि उमेश राई, सुवर्णलाल श्रेष्ठ, ज्ञानेन्द्र तामाङ तथा १ जना सदस्य (अल्पसंख्यक)का लागि गौतम जिरेल र राजन थामीको उम्मेदवारी परेको छ ।
५ जना खुला सदस्यका लागि उज्ज्वल अधिकारी, केदार माझी, तारानाथ न्यौपाने, प्रज्वल पौडेल, बालगोविन्द न्यौपाने, राजेन्द्र गजुरेल, वरुण लामिछाने, सन्तोष अधिकारी, सन्तोष चौलागाईं र सुनिल विष्टको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक विष्टले जानकारी दिए ।नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको २८ मंसिरमा एकैदिन निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान सकिएपछि सोही दिन मतगणना हुनेछ । प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार जिल्लाका मतदाताले पनि केन्द्र र प्रदेशमा उम्मेदवारलाई मत दिन पाउनेछन् । केन्द्रीय समितिका लागि २१ मंसिरमा नै मनोनयन दर्ता भइसकेको छ । केन्द्रीय अध्यक्षमा युनियन र चौतारीको साझा उम्मेदवार निर्मला शर्मा र प्रेस सेन्टर, समाजवादी प्रेसलगायतका ६ वटा संगठनबाट रमेश विष्ट उम्मेदवार रहेका छन् ।
सदस्यता विवादका कारण पटक–पटक महासंघको महाधिवेशन स्थगित हुँदै आएको थियो । सदस्यता विवादकै कारण अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्षबाट रमेश विष्टले पदबाट राजीनामा दिएका थिए । उपाध्यक्ष बाला अधिकारीले कार्यबाहकको रुपमा महासंघको निर्वाचन गराउँदैछिन् । बागमती प्रदेशको चितवनमा पनि सदस्यता विवादको निरुपण भइसकेको छैन ।
मकवानपुरको मनोनयन बुधवार
नेपाल पत्रकार महासंघ मकवानपुरको नयाँ कार्यसमिति चयनका लागि भोलि २६ मंसिर बुधवार मनोनयन दर्ता हुने जिल्ला निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले जानकारी दिए ।जिल्ला अध्यक्षका लागि हालसम्म प्रेस सेन्टर, समाजवादी प्रेसलगायतका संगठनबाट अञ्जली थापा र स्वतन्त्र पत्रकार संघबाट सुरेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । प्रेस चौतारी र प्रेस युनियनको साझा उम्मेदवार टुंगिन बाँकी रहेको छ ।
दुई संगठनको सहमतिअनुसार मकवानपुरमा चौतारीबाट नेतृत्व गर्ने लगभग पक्कापक्की भइसकेको छ । नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको मतदान कार्यक्रम हेटौंडा–५, स्थित हेटौंडा रिगल रिसोर्टमा गर्ने निर्णय जिल्ला कार्यसमितिले गरेको अध्यक्ष मणिराज गौतमले जानकारी दिएका छन् ।







