पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा ५ जनाको उम्मेदवारी
हेटौंडा- नेपाल पत्रकार महासंघ मकवानपुरको नयाँ कार्यसमिति चयनका लागि बुधवार मनोनयन दर्ता भएको छ ।२८ मंसिर अर्थात् भोलि शुक्रबार निर्वाचन हुँदैछ । महासंघ मकवानपुरको अध्यक्षका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले जानकारी दिए । अध्यक्षमा बालकृष्ण अधिकारी, अञ्जली थापा, शिवकुमार काशी, पोष्टराज अधिकारी (कुमार) र सुरेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएको संयोजक आचार्यले बताए ।
अधिकारी प्रेस चौतारी र प्रेस युनियन संस्थाको साझा उम्मेदवार बनेका छन् । थापा प्रेस सेन्टर, समाजवादी प्रेसलगायतका संगठनको प्यानलबाट उम्मेदवार बनेकी छन् ।रिजाल, कुमार अधिकारी र श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिए । उम्मेदवारी दर्ता गराएका पाँच जनामध्ये बालकृष्ण अधिकारी दोस्रो पटक अध्यक्षमा चुनाव लड्दैछन् । बाँकी चार जना पहिलोपटक अध्यक्षको निर्वाचनमा होमिएका हुन् ।
यसैगरी, पत्रकार महासंघ मकवानपुरको उपाध्यक्ष (खुल्ला)मा चौतारी–युनियन प्यानलबाट गणेश अधिकारी (दर्पण), सेन्टर–समाजवादी प्यानलबाट ध्रुव अधिकारी र रविन्द्र गौतमले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । उपाध्यक्ष (महिला) तर्फ चौतारी–युनियन प्यानलबाट प्रतिक्षा न्यौपाने र सेन्टर–समाजवादी प्यानलबाट भावना रिजालको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक आचार्यले जानकारी दिए ।
सचिव पदका लागि ३ जनाले उम्मेदवारी दिए । जसमा चौतारी–युनियन प्यानलबाट केशव समर्पण सुवेदी, इन्द्रबहादुर बञ्जारा (रमेश) र अशोक सुजन श्रेष्ठ रहेका छन् । कोषाध्यक्षमा चौतारी– युनियन प्यानलबाट प्रदीप अधिकारी र सेन्टर–समाजवादी प्यानलबाट एमपी शर्मा, सहसचिव (खुल्ला)मा चौतारी–युनियन प्यानलबाट विश्वराम अधिकारी र सेन्टर–समाजवादी प्यानलबाट शिवप्रसाद चौलागाईको उम्मेदवारी दर्ता भएको छ ।
सहसचिव (समावेशी)मा चौतारी–युनियन प्यानलबाट सन्नु रिजाल र सेन्टर–समाजवादी प्यानलबाट रुपा गुरुङ, सदस्य (दलित) मा सञ्जीव सुनार र सुमित विश्वकर्मा, सदस्य (महिला) मा स्मिता अर्जेल र जमुना थिङ, सदस्य (जनजाति) मा सानुमाया गुरुङ र जयराम मोक्तानले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । ६ जनाको खुल्ला सदस्यका लागि १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
खुला सदस्यमा जीवराज बख्रेल, कृष्णा विष्ट (सुनिता), कुमारमणि हुमागाईँ, मञ्जिता मैनाली, श्रीराम अर्जुन दाहाल, रविन ढुंगाना, सरोज पौडेल, सुमन दाहाल, विवेक सिन्तान, अशेष ढुंगाना, अनिल पराजुली र नवराज वाइबाको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक आचार्यले जानकारी दिए । यस्तै, महासंघ केन्द्रीय परिषद् सदस्यमा कमलचन्द्र सुमन, नवराज शर्मा र सुजन विडारीको उम्मेदवारी परेको छ ।
८ जना निर्विरोध निर्वाचित
८ जना निर्विरोध निर्वाचित भएका छन् । जिल्ला कार्यसमिति सदस्य (मधेसी)मा मनिल महतो निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय परिषद् सदस्य (समावेशी) तर्फ कृष्णराम परियार निर्विरोध निर्वाचित भए । प्रदेश परिषद् सदस्यमा ६ जना निर्विरोध निर्वाचित भए । जसमा सुनिल शिवाकोटी, कपिल खड्का, अनिष लुइँटेल, सरला अधिकारी, बलराम पुडासैनी र नवीन आलेमगर निर्विरोध भएको संयोजक आचार्यले बताए ।
महासंघको निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार हेटौंडा–५ रिगल हेटौंडा रिसोर्टमा मतदान कार्य हुने निर्वाचन समिति सदस्य तथा जिल्ला बार एसोसिएसन अध्यक्ष अप्सरा बस्नेतले जानकारी दिइन् । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको १८ सदस्यीय समिति चयनका लागि निर्वाचन हुन लागेको हो । ३ वर्षे कार्यकालका लागि एक सय १७ जना मतदाताले मतदान गर्नेछन् ।
यसैगरी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशको नयाँ नेतृत्वका लागि पनि मकवानपुरका कृष्ण सारुमगर र नुवाकोटका शिव देवकोटाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन समितिका अनुसार सोमबार अपरान्ह प्रकाशित अन्तिम मनोनयन नामावलीअनुसार प्रदेश अध्यक्षमा देवकोटा र मगरको आबेदन परेको हो । नेपाल प्रेस युनियन र प्रेस चौतारीको प्यानलबाट देवकोटा पुनः अध्यक्षका लागि मैदानमा आएका हुन् । प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायतका संगठनको साझा उम्मेदवार सारुमगर छन् ।
देवकोटाको प्यानलबाट प्रदेश खुला उपाध्यक्षमा हरिप्रसाद हुमागाईं र सारुमगरको प्यानलबाट भोलाप्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । मकवानपुरका हुमागाईं पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष पनि हुन् । उपाध्यक्ष (महिला) मा देवकोटाको प्यानलबाट बिमला पाण्डे र सारुमगरको प्यानलबाट गीता अधिकारी छन् ।यस्तै, महासचिवमा देवकोटाको प्यानलबाट राधेश्याम खतिवडा र सारुमगरको प्यानलबाट राजन दाहाल तथा सदस्य (खुला)मा मकवानपुरबाट उज्वल अधिकारीले उम्मेदवारी दिएका छन् ।







