पत्रकार महासंघ मकवानपुरको अध्यक्ष चयनका लागि आज मतदान
हेटौंडा- नेपाल पत्रकार महासंघ मकवानपुरको नयाँ कार्यसमिति चयनका लागि आज शुक्रबार मतदान हुँदैछ ।निर्वाचनका लागि बुधवार मनोनयन दर्ता भएको थियो । बिहीवार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समयभित्र चारजनाले मनोनयन फिर्ता लिएको जिल्ला निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले जानकारी दिए । महासंघ मकवानपुरको अध्यक्षका लागि चारजना चुनावी प्रतिस्पर्धामा छन् ।
बुधवार अध्यक्षमा बालकृष्ण अधिकारी, अञ्जली थापा, शिवकुमार रिजाल काशी, पोष्टराज अधिकारी (कुमार) र सुरेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये काशीले उम्मेदवारी फिर्ता लिएर बालकृष्ण अधिकारीलाई समर्थन गरेका छन् । बालकृष्ण प्रेसचौतारी र प्रेस युनियन संस्थाको प्यानलबाट साझा उम्मेदवार बनेका छन् ।थापा प्रेस सेन्टर, समाजवादी प्रेसलगायतका संगठनको प्यानलबाट उम्मेदवार बनेकी हुन् । कुमार अधिकारी र श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका थिए । बालकृष्ण अधिकारी दोस्रोपटक अध्यक्षमा चुनाव लड्दैछन् । बाँकी तीन जना पहिलोपटक अध्यक्षको निर्वाचनमा होमिएका हुन् ।
यसैगरी, पत्रकार महासंघ मकवानपुरको उपाध्यक्ष (खुल्ला)मा चौतारी–युनियन प्यानलबाट गणेश अधिकारी (दर्पण), सेन्टर–समाजवादी प्यानलबाट ध्रुव अधिकारी र रविन्द्र गौतमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । जसमा गौतमले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ । उपाध्यक्ष (महिला) तर्फ चौतारी–युनियन प्यानलबाट प्रतिक्षा न्यौपाने र सेन्टर–समाजवादी प्यानलबाट भावना रिजालको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक आचार्यले जानकारी दिए ।
सचिव पदका लागि चौतारी–युनियन प्यानलबाट केशव सुवेदी, इन्द्रबहादुर बञ्जारा (रमेश) र अशोक सुजन श्रेष्ठ रहेकोमा श्रेष्ठले उम्मेदवारी फिर्ता लिए । कोषाध्यक्षमा चौतारी–युनियन प्यानलबाट प्रदीप अधिकारी र सेन्टर–समाजवादी प्यानलबाट एमपी शर्मा, सहसचिव (खुल्ला)मा चौतारी–युनियन प्यानलबाट विश्वराम अधिकारी र सेन्टर–समाजवादी प्यानलबाट शिवप्रसाद चौलागाईं चुनावी भिडन्तमा छन् ।
सहसचिव (समावेशी)मा चौतारी–युनियन प्यानलबाट सन्नु रिजाल र सेन्टर–समाजवादी प्यानलबाट रुपा गुरुङ, सदस्य (दलित) मा सञ्जीव सुनार र सुमित विश्वकर्मा, सदस्य (महिला) मा स्मिता अर्जेल र जमुना थिङ, सदस्य (जनजाति) मा सानुमाया गुरुङ र जयराम मोक्तानले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । ६ जनाको खुल्ला सदस्यका लागि १३ जनाको उम्मेदवारी दर्ता भएकोमा एक जनाले फिर्ता लिएका छन् ।
खुला सदस्यमा जीवराज बख्रेल, कृष्णा विष्ट (सुनिता), कुमारमणि हुमागाईँ, श्रीराम अर्जुन दाहाल, रविन ढुंगाना, सरोज पौडेल, सुमन दाहाल, विवेक सिन्तान, अशेष ढुंगाना, अनिल पराजुली र नवराज वाइवाको उम्मेदवारी दर्ता भएकोमा मञ्जिता मैनालीले उम्मेदवारी फिर्ता लिएकी छन् । यस्तै, महासंघ केन्द्रीय परिषद् सदस्यमा कमलचन्द्र सुमन, नवराज शर्मा र सुजन विडारीको उम्मेदवारी परेको छ ।
बिडारीले पनि सुमन र शर्मालाई समर्थन गर्दै आफ्नो उमेद्वारी फिर्ता लिएको घोषणागरेका छन् । तर, उमेद्वारी फिर्ता लिने समयसीमाभित्र फिर्ता नलिएका कारण मतपत्रमा बिडारीको उमेद्वारी कायमै देखिएको छ । महासंघको निर्वाचन कार्यक्रमअन्तर्गत आज शुक्रबार हेटौंडा–५ रिगल हेटौंडा रिसोर्टमा मतदान कार्य हुने निर्वाचन समिति सदस्य तथा जिल्ला बार एसोसिएसन अध्यक्ष अप्सरा बस्नेतले जानकारी दिइन् । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको १८ सदस्यीय समिति चयनका लागि निर्वाचन हुन लागेको हो । ३ वर्षे कार्यकालका लागि एक सय १७ जना मतदाताले मतदान गर्नेछन् । महासंघका मतदातामध्ये ५ जना विदेशमा रहेका छन् ।
यसैगरी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशको नयाँ नेतृत्वका लागि पनि मकवानपुरका कृष्ण सारुमगर र नुवाकोटका शिव देवकोटाको प्रतिस्पर्धा छ । नेपाल प्रेस युनियन र प्रेस चौतारीको प्यानलबाट देवकोटा पुनः अध्यक्षका लागि मैदानमा आएका हुन् । प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायतका संगठनको साझा उम्मेदवार सारुमगर छन् ।देवकोटाको प्यानलबाट प्रदेश खुला उपाध्यक्षमा हरिप्रसाद हुमागाईं र सारुमगरको प्यानलबाट भोलाप्रकाश पौडेलले उम्मेदवारी दिएका छन् ।
मकवानपुरका हुमागाईं पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष पनि हुन् । उपाध्यक्ष (महिला) मा देवकोटाको प्यानलबाट बिमला पाण्डे र सारुमगरको प्यानलबाट गीता अधिकारी छन् । यस्तै, महासचिवमा देवकोटाको प्यानलबाट राधेश्याम खतिवडा र सारुमगरको प्यानलबाट राजन दाहालले उम्मेदवारी दिएका छन् ।







