पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी विजयी

साझाकुरा
२०८१ मंसिर २९, शनिबार ०९:४१

हेटौंडा- नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी विजयी भएका छन् ।शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार अधिवक्तासमेत रहेका प्रेस चौतारी–प्रेस युनियनको साझा प्यानलबाट उम्मेद्वार बनेका अधिकारीले ४५ मत ल्याएर जित हासिल गरेका हुन् । कान्तिपुर टेलिभिजनको बागमती प्रदेश ब्यूरो प्रमुख अधिकारीले प्रेस सेन्टर–प्रेस समाजवादीको साझा प्यानलबाट उम्मेद्वार बनेकी अञ्जली थापालाई ९ मतले पराजित गरे । ११७ साधारण सदस्यमध्ये १०७ मत खसेकोमा अञ्जलीले ३६ मत ल्याएकी थिइन । अध्यक्षमा चार जना प्रतिस्पर्धी थिए । अध्यक्षका प्रत्यासी पोष्टराज अधिकारी (कुमार)ले २० मत र सुरेश श्रेष्ठले ३ मत मात्रै ल्याए ।

नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको १८ सदस्यीय समिति चयनका लागि शुक्रबार निर्वाचन भएको हो । यसैगरी, पत्रकार महासंघ मकवानपुरको उपाध्यक्ष (खुला)मा ध्रुव अधिकारी ५५ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा चौतारी–युनियन प्यानलबाट गणेश अधिकारी (दर्पण), सेन्टर–समाजवादी प्यानलबाट ध्रुव अधिकारी उम्मेदवार थिए । अर्का प्रतिद्वन्द्वी अधिकारीले ४९ मत पाए । उपाध्यक्ष (महिला)मा भावना रिजाल ५५ मतसहित विजयी भएकी छन् । महिला उपाध्यक्षमा चौतारी–युनियन प्यानलबाट प्रतिक्षा न्यौपाने र सेन्टर–समाजवादी प्यानलबाट भावना रिजाल उम्मेदवारी थिए । न्यौपानेले ४४ मत पाइन् ।

सचिव पदमा केशव सुवेदी समर्पण ७३ मतसहित विजयी भएका छन् । सचिवमा चौतारी–युनियन प्यानलबाट केशव सुवेदी, इन्द्रबहादुर बञ्जारा चुनावी मैदानमा थिए । बञ्जाराले ३१ मत पाए । कोषाध्यक्षमा चौतारी–युनियन प्यानलबाट प्रदीप अधिकारीले ५२ मत ल्याएर जित निकाले । उनका प्रतिद्वन्द्वी सेन्टर–समाजवादी प्यानलका एमपी शर्माले ५१ मत पाए । सहसचिव (खुल्ला)मा शिव चौलागाईं वियोगी ६५ मतसहित विजयी बने । चौतारी–युनियन प्यानलका उम्मेद्वार विश्वराम अधिकारीले ३९ मत पाएका छन् ।

सहसचिव (समावेशी)मा युनियन–चौतारी प्यानलबाट सन्नु रिजालले ५८ मतसहित जित हासिल गरेकी छन् । सेन्टर–समाजवादी प्यानलकी रुपा गुरुङले ४० मत पाइन् ।यसैगरी, सदस्य (दलित) मा सञ्जिव सुनार, सदस्य (महिला) मा स्मिता अर्जेल, सदस्य (जनजाति) मा सानुमाया गुरूङ (निशा) विजयी भएका छन् । ६ जनाको खुल्ला सदस्यका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको थियो । खुला सदस्यमा सरोज पौडेल, रविन ढुंगाना, श्रीराम दाहाल, श्यामलाल दुलाल (गणेश), सुमन दाहाल, अनिल पराजुली र कृष्णा विष्ट (सुनिता) विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*