पत्रकार महासंघका निर्वाचित पदाधिकारीको पदभार ग्रहण
हेटौंडा- नेपाल पत्रकार महासंघ मकवानपुरको नवनिर्वाचित पदाधिकारीले शनिबार पदभार ग्रहण गरेका छन् । महासंघको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा निर्वाचन संयोजक एवम् पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यले नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।निर्वाचन समितिका सदस्य नेपाल बार एसोसियसन मकवानपुरकी अध्यक्ष अधिवक्ता अप्सरा बस्नेत, पत्रकार सरिता दाहाल, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष तथा प्रदेश निर्वाचन संयोजक प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष मणिराज गौतम, पूर्वअध्यक्ष राममणि दाहाल, हरि हुमागाईलगायतको सहभागिता रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष बालकृष्ण अधिकारीले पछिल्लो समय पत्रकारितामा देखिएका चुनौती सामना गर्न सबै संचारकर्मी एकजुट हुनु जरुरी रहेको बताए । नवनिर्वाचित अध्यक्ष अधिकारीलाई निवर्तमान अध्यक्ष गौतमले पद हस्तान्तरण गरेका थिए । त्यस्तै निवर्तमान सचिव शुभलक्ष्मी बिकले नवनिर्वाचित सचिव समर्पणलाई माइन्युट हस्तान्तरण गरेका थिए ।
निवर्तमान अध्यक्ष गौतमले आफ्नो कार्यकालमा उल्लेखनीय सहयोग गरेका पदाधिकारी उपाध्यक्ष ध्रुब अधिकारी र कोषाध्यक्ष समर्पणलाई धन्यवाद सहित कदरपत्र प्रदान गरेका थिए । आफ्नो नेतृत्वलाई सफल बनाउनका लागि अहोरात्र खटिएको भन्दै गौतमले प्रशंसा गरेका थिए । त्यसैगरी निर्वाचन समिति संयोजक आचार्य, सदस्य बस्नेत र दाहाललाई निवर्तमान अध्यक्ष गौतमले कदरपत्र प्रदान गरेका थिए ।
शुक्रबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार अधिवक्तासमेत अधिकारीले ४५ मत ल्याएर जित हासिल गरेका थिए । अधिकारीले प्रेस सेन्टर–प्रेस समाजवादीको साझा प्यानलबाट उम्मेद्वार बनेकी अञ्जली थापालाई ९ मतले पराजित गरेका थिए । ११७ साधारण सदस्यमध्ये १०७ मत खसेकोमा अञ्जलीले ३६ मत ल्याएकी थिइन् । अध्यक्षमा पोष्टराज अधिकारी कुमार र सुरेश श्रेष्ठले पनि उमेद्वारी दिएका थिए । पत्रकार महासंघको बिधान अनुसार अध्यक्षको निकटतम प्रतिद्वन्द्वी कार्यसमितिको सल्लाहकार रहने ब्यवस्था छ । पद हस्तान्तरण निकटतम प्रतिद्वन्द्वी थापा पनि सहभागी भई नवनिर्वाचित अध्यक्ष अधिकारीलाई बधाई शुभकामना दिएकी थिइन् ।
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ सदस्यीय समिति चयनका लागि शुक्रबार निर्वाचन भएको हो । उपाध्यक्ष ध्रुव अधिकारी, भावना रिजाल, सचिव केशव सुवेदी समर्पण, कोषाध्यक्ष प्रदीप अधिकार, सहसचिव शिव चौलागाईं वियोगी, सन्नु रिजाललाई निर्वाचन संयोजक आचार्यले प्रमाणपत्र प्रदान गरेका थिए । सदस्य, सञ्जीव सुनार, स्मिता अर्जेल, सानुमाया गुरुङ (निशा), सरोज पौडेल, रविन ढुंगाना, श्रीराम अर्जुन दाहाल, श्यामलाल दुलाल (गणेश), सुमन दाहाल, अनिल पराजुली र कृष्णा विष्ट (सुनिता) लाई प्रमाणपत्र प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा कृष्ण सारुमगर विजयी भएका छ्न् । प्रेस युनियन र प्रेस चौतारी एलाइन्सका उम्मेदवार तथा निवर्तमान अध्यक्ष शिव देवकोटालाई पराजित गर्दै उनकै कार्यकालका महासचिवसमेत रहेका प्रेस सेन्टरका सारु विजयी भएका हुन् ।सारुले ४७२ मत ल्याउँदा देवकोटाले ३६३ मत मात्र ल्याए । महासंघको बागमती प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा ९५१ पत्रकार मतदाता सूचिमा रहेका थिए ।
उपाध्यक्षमा प्रेस चौतारीका हरि हुमागाई विजयी बने । महासचिवमा पनि चौतारीकै राधेश्याम खतिवडा विजयी बन्दा महिला उपाध्यक्षमा पनि चौतारीकी विमला पाण्डे विजयी बनिन् । सचिव र समावेशी सचिवमा प्रेस युनियनका काजी श्रेष्ठ र श्यामप्रसाद खतिवडा विजयी भए । कोषाध्यक्षमा शंकर अधिकारी विजयी भए । अध्यक्ष बाहेकका सबै पदाधिकारी तथा सदस्यमा चौतारी–युनियनको प्यानलले जितेको हो ।







