हेटौंडा औद्योगिक क्षेत्रमा १२७ वटा उद्योग सञ्चालनमा

साझाकुरा
२०८१ पुष ५, शुक्रबार १९:२४

हेटौंडा–क्षेत्रफलका दृष्टिकोणले देशकै ठूलो हेटौंडा औद्योगिक क्षेत्रमा यतिबेला एक सय २७ वटा उद्योग सञ्चालनमा छन् । जसमध्ये स्वदेशी उद्योग मात्रै नभई बहुराष्ट्रिय कम्पनी पनि छन् ।

हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना भएका प्रमुख उद्योगमध्ये खाद्य उद्योग प्रालि, युनाइटेड ब्रुअरी प्रालि, नेपाल बिस्कुट कम्पनी, नेपाल साबुन उद्योग, पशुको आहार उत्पादन प्रशोधन उद्योग, नेपाल पोल उत्पादन प्रालि र काष्ठ फर्निचरलगायत छन् । यसैगरी, औद्योगिक क्षेत्रमा गोरखा लारी चुरोट उद्योग प्रालि, हेटौंडा दुग्ध वितरण आयोजना, नेपाल चियापत्ती उद्योग प्रालि, नेपाल खाने तेल उत्पादन उद्योग, नेपाल कार्टुन उद्योग प्रालि र नेपाल बोट्लर्स उद्योग प्रालि र नेपाल मदिरा उत्पादन उद्योग प्रालिसमेत रहेका छन् ।

औद्योगिक क्षेत्रमा निर्माण सामग्रीजन्य उद्योग ७ वटा, प्लास्टिकजन्य सामग्री उत्पादन गर्ने उद्योग ३१ वटा, विद्युत् तथा विद्युतीय सामग्री उत्पादन उद्योग ४ वटा, खाद्यान्न तथा पेयपदार्थ उत्पादन गर्ने उद्योग १४ वटा, फर्निचर तथा काष्ठ चिरान उद्योग ६ वटा, इन्जिनियरिङ सेवा उद्योग १२ वटा, प्याकेजिङ उद्योग ५ वटा, केमिकल तथा रङरोगन उत्पादन उद्योग ११ वटा, पोल्ट्री तथा दाना उद्योग २ वटा, टेक्सटाइल्स उद्योग एक, खानीजन्य उद्योग ३ वटा, विविध प्रकारका उद्योग १२ वटा छन् ।

यस क्षेत्रमा विगत दुई दशकअघि स्थापना भएका पुराना ६ वटा उद्योग आर्थिक संकटका साथै कच्चापदार्थको अभावमा बन्द अवस्थामा छन् । नेपाल सेन्थेटिक कपडा उद्योग, नेपाल छाला उद्योग प्रालि, नेपाल लाइभस्टक प्रालि, नेपाल वनस्पति घ्यू, नेपाल पोलिथिन प्लाष्टिक प्रालि र नेपाल दाना उद्योग प्रालि बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौंडा कपडा उद्योग पनि विसं २०५६ देखि बन्द छ । औद्योगिक क्षेत्रमा अहिले बहुराष्ट्रिय कम्पनीसहित १२ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका र अगामी दुई वर्षभित्र ती उद्योगहरुले उत्पादन सुरु गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएका औद्योगिक क्षेत्रका वरिष्ठअधिकृत रमेशकुमार नेपालले जानकारी दिए ।

औद्योगिक क्षेत्रमा कुल १४६ वटा उद्योग अटाउने क्षमता छ । औद्योगिक क्षेत्रमा १४३ उद्योग सञ्चालनको लागि दर्ता भएकोमा १३६ उद्योगले भौतिक संरचना र पूर्वाधार तयार गरी उत्पादन थालेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । १२१ वटा उद्योगले उत्पादनको काम थालेको कार्यालयले जनाएको छ । अधिकांश उद्योगको उत्पादन क्षमतामा गिरावट आएको उद्योगीहरु बताउँछन् ।

औद्योगिक क्षेत्रमा हाल सञ्चालनमा रहेका विभिन्न उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० हजार व्यक्तिले रोजगारीको अवसर प्राप्त गरेका छन् । विसं २०२० मंसिर २० गते अमेरिकी सरकारको आर्थिक अनुदान र प्राविधिक सहयोगमा तत्कालीन श्री ५ को सरकारले हेटौंडा औद्योगिक क्षेत्र स्थापना गरेको थियो । औद्योगिक क्षेत्र स्थापनाका क्रममा तीन हजार दुई सय २८ रोपनी जग्गा, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापनलाई हस्तान्तरण गरिएको थियो ।

हाल औद्योगिक क्षेत्रमा विभिन्न उद्योगको स्थापनाका क्रममा एक हजार ९ सय ६१ रोपनी जग्गा सम्बन्धित उद्योगका व्यवस्थापकलाई वितरण गरी उद्योग सञ्चालन भइरहेका नेपालले जानकारी दिएका छन् । बाँकी रहेको एक हजार चार सय रोपनी जग्गा जगेडामा राखिएको छ । विभिन्न उद्योगका अतिरिक्त औद्योगिक क्षेत्र परिसरमा हाल इलाका प्रहरी कार्यालय, नेपाल बैंक सिटी अफिस, सशस्त्र प्रहरी बेसक्याम्प, प्रदेश खाद्य तथा गुणनियन्त्रण कार्यालय, प्रदेश माटो परीक्षण कार्यालय, हेटौंडा वितरण आयोजना र प्रदेश कृषि बीउबिजन कार्यालय सञ्चालन भइरहेका छन् ।

औद्योगिक क्षेत्रका प्रबन्धक संगीता कँुवरले विगत केही वर्षदेखि सशस्त्र प्रहरी बेसक्याम्प स्थापना गरी सुरक्षा पु-याइएको भए पनि औद्योगिक क्षेत्रभित्रको चारैतिरको सीमाना क्षेत्रमा तारबारको व्यवस्था नहँुदा स्रोतसाधन सुरक्षामा निकै कठिनाइ भएको बताएकी छन् । यसका साथै औद्योगिक क्षेत्रमा अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक बजेट उपलब्ध नहुँदा थप उद्योग सञ्चालनका लागि समस्या भएको उनको भनाइ छ ।

कतिपय उद्योगीले उद्योग स्थापना गर्ने भनेर विगतका वर्षदेखि जग्गा सम्झौता गरेर त्यसै छोडेका छन् । जग्गाको उपयोग हुन सकेको छैन । जग्गा हडपेर मात्रै बस्ने तर, उद्योग सञ्चालन गरेर उत्पादन नगर्ने कम्पनीलाई उच्च तहबाटै आवश्यक निर्णय गरी कारबाही गर्न आग्रह गरिएको प्रबन्धक कुँवरले बताइन् । ‘जग्गा सम्झौता भएको तर हालसम्म उद्योग सञ्चालनका लागि कुनै संरचना बनेका छैनन् । जग्गा रोक्का गर्ने काम मात्रै भएको छ । यसको उपयोगका विषयमा पनि कुरा भएको छ । साथै सम्बन्धित उद्योग व्यवस्थापकबाट जग्गा फिर्ता लिने प्रक्रिया पनि अगाडि बढाइएको छ’, उनले भनिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*