गाडी गुड्ने चुरियामाई सुरुङ ६८ वर्षपछि खुला, अब हेर्न मात्रै पाइने

साझाकुरा
२०८१ पुष ९, मंगलवार ०९:४१

हेटौंडा-राणा प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेरको पालामा वि.सं. १९७४ सालमा नेपाली सेनाका इन्जिनियर डिल्लीजंग थापाले निर्माण गरेको चुरियामाई सुरुङ ६८ वर्षपछि सोमबार खुलेको छ ।दक्षिण एसियाकै पहिलो भनिएको चुरियामाई सुरुङ २०१३ साल ताका सडक निर्माणको क्रममा विष्फोट गराउँदै भत्किएर पूर्णरुपमा बन्द भएको थियो । त्यसयता यो सुरुङ एकादेशको कथा जस्तै बनेको थियो । त्यतिबेला गाडी गुड्ने चुरियामाई सुरुङबाट वि.सं. २०१२ सम्म सवारी चल्ने गरेको इतिहासका पानामा उल्लेख छन् । राणाकालीन समयमा यही सुरुङमार्ग हुँदै चल्ने साना गाडीले भीमफेदीसम्म सामान ओसार्ने गरेका थिए ।

यही सुरुङको ६८ वर्षपछि पुनःनिर्माण गरेर सोमबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा, भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के, पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका छन् । अब यो सुरुङ गाडी गुड्ने नभई सर्वसाधारणका लागि अवलोकन गर्न मात्रै उपयुक्त बनेको छ । पर्यटकीयस्थल बनेको चुरियामाई सुरुङको सबै व्यवस्थापन हेटौंडा उपमहानगरपालिकाले लिनेछ । मर्मतसम्भारमा भने प्रदेश सरकारले सहयोग पु¥याउने छ ।

सुरुमा चुरिया सुरुङको लम्बाई ५ सय मिटर थियो । जीर्णोद्धारपछि सुरुङको लम्बाइ २२५ मिटर मात्रै बनेको छ । विसंं.२००९ सालमा त्रिभुवन राजपथ निर्माण सुरु भएको थियो । त्यसैक्रममा विसं.२०१३ सालमा मोटरबाटो निर्माणको क्रममा सुरुङमार्गको बीच खण्डमा बिस्फोट गराएर भत्काइएको थियो । चुरेको पहाड भत्काउन विष्फोट गराउँदा सुरुङ पनि भत्कियो । अर्थात सुरुङ भत्काएर सडक बनाइयो । यसै कारण सुरुङको लम्बाई छोट्टिएको हो । त्यसपछि सुरुङ पूर्णरुपमा बन्द भएको थियो ।

मकवानपुर र बाराको सीमानामा रहेको चुरियामाई सुरुङमार्ग भएर राणकालीन समयमा जीप, तत्कालीन लहरी ट्रक आवतजावत हुने गरेको थियो । नेपालको पहिलोसुरुङमार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल थापाको अगुवाइमा चुरियामाई सुरुङमार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको थियो ।दक्षिण एसियाकै पहिलो सुरुङमार्गको रुपमा रहेको चुरियामाईको सुरुङ सोमबार विधिवतरुपमा हेटौंडा उपमहानगरलाई हस्तान्तरण गरिएको छ । चुरियामाई ऐतिहासिक सुरुङमार्ग सर्वसाधारणका लागि सञ्चालनमा आएको छ ।

बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई सुरुङमार्ग पर्यटकीय गन्तव्यकारुपमा सञ्चालन गर्नका लागि हस्तान्तरण गरेको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र हेटौंडा उपमहानगरबीच संझौतापत्रमा हस्ताक्षर गर्दै ऐतिहासिक सुरुङ पर्यटकका लागि सञ्चालनमा ल्याइएको हो ।‘चुरियामाई सुरुङ’ को पुननिर्माणकार्य सकिएको ८ महिनापछि सर्वसाधारणका लागि खुला गरियो । सुरुङ संचालनका लागि नगरपालिकाले बनाएको कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपा· र जेष्ठनागरिकलाई निःशुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ ।

प्रदेश सरकारले २०७८ वैशाख १९ मा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड, काठमाडौं स्युचाटारसँग सुरुङमार्ग पुनर्निमाणको सम्झौता गरी काम सुरु गरेको थियो । प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङमार्गको जीर्णोद्धार गरेको हो । सुरुङमार्ग २२५ मिटर लम्बाई, २ दसमलव ५ मिटर चौडाई, ३ मिटर उचाई रहेको छ । सुरुङमार्ग सञ्चालनको मोडालिटी र कार्यविधि तयार नभएकाले एक वर्षदेखि सुरुङ बन्द गरेर राखिएको थियो । मुख्यमन्त्री लामा, पूर्वमुख्यमन्त्री पौडेल, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री मास्के, प्रदेशसभा सदस्य भारती पाठक, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ, पूर्वमन्त्री रामेश्वर फुँयाल, हेटौंडा उपमहानगरप्रमुख लामा, जीतपुरसिमरा उपमहानगरप्रमुख राजन पौडेललगायतको उपस्थिति रहेको थियो ।

चुरे पहाड छेडेर एक शताब्दिभन्दा अगाडि निर्माण गरिएको सुरुङ नियमित मर्मतसम्भारको अभावमा सुरुङमार्गको बीच भागमा पुरिएर आरपार गर्न नसक्ने अवस्थामा थियो । प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडामार्फत् ऐतिहासिक महत्वको सुरुङमार्गको पुनर्निर्माणसँगै पर्यटकीय गन्तव्य बनाउने गरी जीर्णोद्धार गरिएको हो । सुरुङमार्गभित्र बत्ती जडान गरिएको छ । सुरुङको छेउमै तत्कालीन डिजाईनर ईन्जिनियर थापाको अर्धकदको सालिक निर्माण गरिएको छ । इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्मको सडकको पनि डिजाइन गरेका थिए ।

पथलैया–हेटौंडा सडक निर्माण भएपछि यो सुरुङ प्रयोगमा आउन सकेन । प्रबिधिको विकाससँगै मालबाहक सवारीको आकार पनि ठूलो बन्दै गएको हुँदा सुरुङभित्र प्रबेश गर्न नसक्ने अवस्था आएको बुढापाकाहरु बताउँछन् । बाराको अमलेखगञ्जसम्म रक्सौलबाट न्यारोगेजको रेल चल्ने गरेको थियो । अमलेखगंञ्जबाट भीमफेदीसम्म गाडीमा यात्रा गरेर जानुपर्दथ्यो । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीबाट पैदलयात्रा गरी काठमाडौं जानुपर्दथ्यो ।

यही सुरुङमार्ग भएर विश्वविख्यात भूगर्भविद् डा. टोनी हेगेन आफ्नो सानो गाडीमा भीमफेदीसम्म आइपुगेका थिए । भीमफेदीबाट उनको गाडी पनि बोकेर काठमाडौं लगिएको बताइन्छ । भूगर्भविद डा. हेगनको पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’मा यो सुरुङमार्गबारे चर्चा गरिएको छ । पुस्तकमा मानवनिर्मित सुरुङ देखेर आफू आश्चर्यमा परेको र नेपालभन्दा ठूलो देश भएर पनि भारतले सुरुङ प्रविधि भित्र्याउन नसकेको अवस्थामा नेपाल सफल भएको चर्चा गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*