निकुञ्ज र मध्यवर्तीका जनताको समस्यामा कानून बाधक

साझाकुरा
२०८१ पुष १९, शुक्रबार १०:५३

हेटौंडा- मध्यवर्ती क्षेत्र (बफरजोन स्टेट) का स्थानीयले वन्यजन्तुको आक्रमणबाट अकालमै ज्यान गुमाउनु परेको र वर्षभरि खानका लागि खेतबारीमा लगाएको बालीमा क्षति पु¥याइरहेको छ । पछिल्लो साता मकवानपुरको मनहरी गाउँपालिकामा राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रबेश गरेका वन्यजन्तुले मानबीय क्षति पु¥याएको छ ।मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बा मृतअवस्थामा आइतबार राति करिब १० बजे घरनजिकैको बारीमा भेटिएकी थिइन् । बाघले सोमबार बिहान बसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर ७ वटा बाख्रा मारेको थियो । दुईवटा घटनापछि बसन्तपुरबासी त्रसित बनेका छन् । बिहीबार पनि मनहरी–४ को ज्यामिरे, मुलखोला आसपासमा जोडी बाघ घुमिरहेको स्थानीयले बताएका छन् । बिगतका वर्षमा पनि जंगली जनावरले मनहरीबासीलाई बिभिन्न समयमा दुःख दिने गरेको थियो ।

बस्ती छेउछाउमा हिंस्रक जंगली जनावर प्रबेश गरेपछि स्थानीयको दैनिकी नै जोखिममा पर्ने गरेको छ । जंगली जनावर आतंकले विद्यालयमा पठनपाठन पनि प्रभावित हुने गरेको पशुपतिनाथ माविका शिक्षक ईश्वर रिजालले बताए । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मध्यवर्तीक्षेत्र र राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका जनताले भोग्दै आएका समस्या समाधानका लागि कानुन बाधक बनेको बताएका छन् । बिहीबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि मन्त्रालयगत छलफलमा सहभागी मन्त्री ठकुरीले मध्यवर्ती र निकुञ्ज क्षेत्रका समस्या समाधान हुनेगरी कानुन संशोधन गरिनुपर्ने बताए । उनले आफू मन्त्री भएर आएदेखि नै यस क्षेत्रका समस्या समाधानमा केन्द्रित रहेको भएपनि कानुनी समस्या र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बाधक बनिरहेको बताए । उनले कानुनमा कहीँ पनि निकुञ्ज र मध्यवर्तीक्षेत्रको बीचमा रहेका जनताका समस्या समावेश नगरिएको स्पष्ट पारे । मध्यवर्तीक्षेत्र र राष्ट्रिय निकुञ्जको छेउमा रहेका जनताले न्याय पाउनेगरी ऐन ल्याउन जरुरी रहेको बताए ।

उनले भने, ‘मध्यवर्तीक्षेत्र र राष्ट्रिय निकुञ्जको बीचमा जनताले पाएको दुःख, जनताले पाएको पीडा र भोग्नुपरेका समस्याबारेमा म पनि पूर्णरुपमा जानकार छु । मैले प्रष्ट देखेको पनि छु । हामीले संसदमा यो कुरा उठाउँदै आएका पनि छौँ । मन्त्रालयको जिम्मेवारी सम्हालेको दिनदेखि नै यसमा हाम्रो ध्यान केन्द्रित हुँदै आइरहेको छ । यसलाई कसरी सरल र सहज बनाउन सकिन्छ ? भनेर हामीले मन्त्रालयका सचिवज्यू लगायतसँग छलफल गरी राखेका छौँ ।’

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुनमा मध्यवर्तीक्षेत्र र संरक्षितक्षेत्रको परिभाषा प्रष्ट नभएको कारणले आमनागरिकलाई समस्या भएको बताए । उनले वन मन्त्रालयले ल्याउन लागेको ऐनमा यी समस्यालाई समाधान गर्नेगरी ऐन ल्याउनुपर्ने जोड दिए । उनले कानुन मन्त्रालय र वन मन्त्रालयले छलफल गरेर जनताले वनको उपभोग गर्ने र वन पनि नमासिने गरी ऐन ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरे ।उनले भने, ‘मध्यवर्ती क्षेत्र र संरक्षितक्षेत्रको परिभाषा प्रष्ट नभएको कारणले आम नागरिकलाई गाह्रो भयो भन्ने सांसदज्यूहरुको जिज्ञासा हो । अब वन मन्त्रालयको ऐन आउँदैछ हामी त्यसमा मिलाएर ल्याउँछौँ ।

यस विषयमा वन मन्त्रालयसँग छलफल गरेपछि माननीय सांसदज्यूहरुसँग पनि अनौपचारिक छलफल गरेर यसलाई कसरी ल्याउँदा वन पनि नमासिने र त्यो एरियामा बसोबास गरेका जनतालाई पनि सहज हुनेगरी ल्याउनुपर्छ ।’बैठकमा अधिकांश सांसदहरुले प्रकृतिको संरक्षण गर्दै वनक्षेत्रमा रहेका नागरिकको उचित व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि मन्त्रालयगत छलफल गरिरहेको छ । बिहीबार विधेयकमाथि वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गरिएको हो । मकवानपुरका सांसद महेशकुमार बर्तौलाले कानुन संशोधन गर्ने विषय अलि बढी जटिल रहेको बताएका छन् । सांसद बर्तौलाले मनहरी गाउँपालिकामा स्थानीयले जंगली जनावरबाट पाएको दुःखका बारेमा आफू पनि संबेदनशील भएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*