हेटौंडा सिमेन्ट उद्योग लगातार बन्द

साझाकुरा
२०८१ पुष २१, आईतवार १०:०२

हेटौंडा-हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले करिब तीन महिनादेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । सिमेन्ट उत्पादन कहिलेदेखि नियमित गर्ने भन्ने विषयमा अझै अन्योलता रहेको उद्योग व्यवस्थापनले जनाएको छ ।विभिन्न उपकरणलाई मर्मतसम्भार गर्नुपर्ने र केही नयाँ उपकरण जडान गर्नुपर्ने भएको भन्दै उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको हो । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौंबाट हेटौंडा सिमेन्ट उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् नियमित उपलब्ध गराउने जानकारी नआएसम्म उत्पादनलाई निरन्तरता दिन नसकिने बताए । एकातिर उर्जाको समस्या अर्कोतिर उपकरण पुरानो भएर समस्याका कारण उद्योगले नियमित उत्पादन गर्न नसकेको बताइएको छ ।

उनले विद्युत् प्राधिकरणका पदाधिकारीसँग उद्योगका पदाधिकारीले पटकपटक वार्ता गरी ऊर्जा उपलब्ध गराउन आग्रह गरिरहेकाले यथाशीघ्र समस्या समाधान हुने जानकारी दिए । केही दिनअघि अपरतामाकोशीको मर्मतपछि सुरु गरिएको विद्युत्बाट उद्योगलाई नियमित ऊर्जा उपलब्ध गराउने सहमति भए पनि हालसम्म विद्युत् आपूर्ति नियमित हुन नसकेकाले दैनिक सिमेन्ट उत्पादन चुनौतीपूर्ण बन्दै गएको महाप्रबन्धक पाण्डेले बताए । हाल विद्युत् प्राधिकरण हेटौंडाबाट दैनिक दुई–तीनपटक विद्युत् ऊर्जा कटौती हँुदै आएकाले उपकरण मर्मत र जडान गर्ने काममा जटिलता आएको उनले जानकारी दिए ।

उद्योगमा जीर्ण अवस्थामा रहेका विभिन्न उपकरणको मर्मत सम्भार गर्ने कार्य विद्युत् ऊर्जाका कारणले अझै केही साता लम्बिने भन्दै नियमित विद्युत् आपूर्ति भएपश्चात् उपकरण मर्मत गरी सिमेन्ट उत्पादन सुरु गर्ने सहमति अनुसार प्राविधिक जनशक्ति राखिएको नायवमहाप्रबन्धक नवीन कुमार कर्णले बताए । उद्योगमा सिमेन्ट उत्पादन गर्न प्रयोग भएका उपकरण सबै पुरानो भएका कारण पनि समस्या आएको बताइएको छ । निजी क्षेत्रका उद्योगले अत्याधुनिक उपकरण जडान गरेर उत्पादन गरिरहेका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवालले पटकपटक विभिन्न उपकरण बिग्रिएर मर्मतसम्भार गर्नुपर्ने अवस्थामा वार्षिकरुपमा तीन–चारपटक मात्र उद्योग सञ्चालन भइरहेको बताउँदै नयाँ प्रविधिबाट उद्योग सञ्चालनमा ल्याउन दीर्घकालीन योजनासहित संघीय सरकारले पहल गर्नुपर्नेमा जोडदिए । उद्योगलाई आवश्यक नयाँ प्रबिधिको उपकरण जडान गरी नियमित रुपमा उत्पादन गर्न उनले सुझाएका छन् ।

वि.सं २०३३ मा हेटौंडाको लामसुरेमा तत्कालीन सरकारद्वारा एक अर्ब ३८ करोड ९० लाख रुपैयाँको लागतमा हेटौंडा सिमेन्ट उद्योगको स्थापना गरिएको थियो । तत्कालीन श्री ५ वीरेन्द्र वीरविक्रम शाहदेवबाट विसं २०४३ मङ्सिर २६ गते हेटौंडा सिमेन्ट उद्योगको उद्घाटन गरेका थिए । उद्योगको साविक सिमेन्ट उत्पादन क्षमता दैनिक १८ हजार बोरा भए पनि हाल उपकरण जीर्ण भएकाले १० हजार बोरामात्र उत्पादन भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

उद्योगमा आवश्यक पर्ने कच्चापदार्थ कोइला बोलपत्र आह्वान गरी चार हजार मेट्रिकटन ल्याउने प्रक्रिया सुरु भइसकेको बताउँदै अहिले उद्योगमा एक हजार दुईसय मेट्रिकटन कोइला मौज्दात राखिएको उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए । अध्यक्ष भण्डारीका अनुसार मकवानपुरको भैंसे र ओखरेबाट कच्चापदार्थ चुनढुंगा ढुवानी गरी ल्याउने कामलाई निरन्तरता दिइएको छ ।

हेटौंडामा रहेका तीनवटा सिमेन्ट उद्योगमध्ये दुईवटा निजी क्षेत्रका उद्योग नियमित रुपमा संचालनमा रहेका छन् । रिद्धिशिद्धि सिमेन्ट उद्योगले पूरै रोबोटिक मेशिन जडान गरेर उत्पादन गरिरहेको छ । शिवम् सिमेन्ट उद्योगको प्लान्ट पनि हेटौंडा सिमेन्ट उद्योगको भन्दा आधुनिक छ ।कुनै समय हेटौंडा सिमेन्ट उद्योगको उत्पादन गैंडा सिमेन्ट खरिद गर्न ६ महिना अघि पैसा जम्मा गरेर पालो पर्खनुपर्दथ्यो । तर, अहिले बजारमा निजी क्षेत्रले उत्पादन गरेको गुणस्तरीय सिमेन्ट सहजै उपलब्ध भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*