मउवा संघ निर्वाचन २१ पदमा ४२ जनाको उम्मेदवारी, दुई सचिवसहित ७ जना निर्विरोध

दुई जनाको उम्मेदवारी रद्ध
प्रतिक्षा न्यौपाने
२०८१ पुष २६, शुक्रबार ११:१०

हेटौंडा-उद्योगी, व्यवसायीको छाता संगठन मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको निर्वाचनका लागि उम्मेदवारी दर्ताकार्य सकिएको छ ।संघको कुल २८ पदका लागि बिहीवार साढे १० बजेदेखि १२ बजेभित्रमा ४९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । ७ जना निर्विरोध निर्वाचित भएपछि बाँकी २१ पदमा ४२ जना उम्मेदवारबीच अब निर्वाचन हुने भएको छ । २७ पुस बिहान ९ बजेदेखि ४ बजेसम्म मतदात कार्यक्रम तय भएको र तयारी अन्तिम चरणमा रहेको संघका कार्यकारी सचिव पवन कार्कीले जानकारी दिए ।
मतदानकार्य पल्पसा हलभित्र हुने र मतदात सकिएलगत्तै पल्पसामा नै मतगणना सुरु हुने कार्कीले बताए ।संघमा अध्यक्ष, ४ उपाध्यक्ष (एसोसिएसट, वाणिज्य, उद्योग र वस्तुगततर्फ), १ महासचिव, १ कोषाध्यक्ष, ४ सचिव र १ सह–कोषाध्यक्ष, एसोसिएटतर्फ ४ सदस्य, वाणिज्यतर्फ ७ सदस्य, उद्योगतर्फ ४ सदस्य र वस्तुगततर्फ १ सदस्य पद रहेको छ । संघको यसपालीको निर्वाचनका लागि ५७ औं साधारण सभाबाट विधान संशोधन गरेर प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कायम गरिएको छ । विगतमा अध्यक्षले निर्वाचित सदस्यमध्येबाट महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष मनोनित गर्ने व्यवस्था थियो । प्रत्येक पदमा प्रत्यक्ष निर्वाचनको व्यवस्थाले निर्वाचनलाई थप रोचक र गर्विलो बनाएको छ ।

४२ जना क–कसले दिए उम्मेदवारी ?
संघको ३ वर्षे कार्यकालको नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र वर्तमान उपाध्यक्ष प्रमोदसिंह रानाभाट प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।महासचिवमा प्रतिमा श्रेष्ठ र विकेशलाल श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी र कृष्ण कर्माचार्य तथा सहकोषाध्यक्षमा निलम वैद्य र राधिका सामरीपाण्डेले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता इश्वरराज ढकालले जानकारी दिए । उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती र रविन्द्र घिमिरे, सदस्यमा कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला (कृष), जगदीश दाहाल, दीपक शिवाकोटी र भुपेन्द्रप्रसाद अधिकारी र उद्योगतर्फकै महिलाआरक्षण सदस्यमा मेनका श्रेष्ठ र सीतादेवी भेटवालले मनोनयन दर्ता गराएका छन् ।

एसोसिएसटतर्फ उपाध्यक्षमा उज्ज्वल चौलागाईं र विष्णु खनाल, एसोसिएट सदस्यमा अंकिता सुमार्गी, नवराज खतिवडा र पुजन विडारीको उम्मेदवारी दर्ता भएको छ । वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपाने, वाणिज्यको सचिवमा दिवस पराजुली र कुलप्रसाद चौलागाईं, सदस्यमा बालकृष्ण बजगाईं, विष्णुप्रसाद दाहाल, यज्ञबहादुर राय (विनोद), राजेन्द्र लामिछाने, राजदेव बनियाँ, रविन ढकाल, सन्तोष घिमिरे, होमनाथ खनालको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत ढकालले जनाए ।वस्तुगतर्फ उपाध्यक्षमा खाद्यान्न व्यवसायी संघका काव्यमणि अधिकारी र ढुवानी एसोसिएसनका प्रदीप अर्याल चुनावी प्रतिस्पर्धामा छन् ।

वस्तुगतकै सचिवमा कपडा तथा तयारी पोशाक संघका नेत्रप्रसाद खतिवडा र क्रसर उद्योग व्यवसायी संघका राजाराम कार्की, सदस्यमा फर्निचर व्यवसायी संघका कृष्णप्रसाद अर्याल, क्यान महासंघका गोविन्द चौलागाईं, मुद्रण उद्योग संघका राजु नेपाल र घरजग्गा व्यवसायी संघका शम्भु पुडासैनीको उम्मेदवारी रहेको छ । वस्तुगतमा व्यवसायीको पेशागत संस्थाको आबद्धता रहेको हुन्छ ।

दुई सचिवसहित ७ जना निर्विरोध

संघको दुई सचिवसहित ७ जना निर्विरोध भएको निर्वाचन अधिकृत ढकालले जानकारी दिए । उद्योगतर्फको सचिवमा रुपकराज दाहाल र एसोसिएट सचिवमा माधव ज्ञवाली निर्विरोध भएका हुन् । दुवै सचिवमा अन्य उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध भए ।

एसोसिएसट सदस्यमा सुकृतराज पराजुली, एसोसिएट बहुराष्ट्रिय) सदस्यमा बिक्रमकुमार सञ्जेल, मनहरी आरक्षण कोटाको वाणिज्य सदस्यमा शंकरप्रसाद कालाखेती, वाणिज्यतर्फकै महिला आरक्षण सदस्यमा निलमकुमारी पाण्डे र निलम बजगाईं निर्विरोध भएका छन् । निर्विरोध भएकामध्ये दुवै सचिव, महिला आरक्षणमा बजगाई र एसोसिएट सदस्य पराजुली अध्यक्षका उम्मेदवार रानाभाट प्यानलका हुन् । अग्रवाल प्यानलकी महिला आरक्षणकी पाण्डे मात्रै हुन भने अर्का एसोसिएट सदस्य सञ्जेल र मनहरी आरक्षणका कालाखेती प्यानल बाहिरका हुन् ।

यस्तै, दुईजनाको उम्मेदवारी रद्ध भएको संघका कार्यकारी सचिव कार्कीले जानकारी दिए । मनहरी आरक्षण सदस्यमा नारायण सुवेदी र उद्योगतर्फ गंगाकुमारी श्रेष्ठको उम्मेदवारी रद्ध भएको हो । मनहरी आरक्षणमा वाणिज्यतर्फको सदस्य कोटा रहेकोमा सुवेदीको फर्म उद्योगमा दर्ता रहेको पाइएपछि रद्ध गरिएको कार्कीले बताए । सदस्यता लिएको २ वर्षपछि मात्रै निर्वाचनमा सहभागी हुन पाउने विधानतः व्यवस्थाका कारण श्रेष्ठको उम्मेदवारी रद्ध भएको उनले जनाए ।यसवर्षको निर्वाचनमा २ हजार ४६ जना सदस्यले मतदान गर्न पाउनेछन् । अघिल्लो अधिवेशनमा २ हजार ९ सय ७ जना सदस्य थिए । ३ वर्षमा ८ सय ६१ जना सदस्य घटेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*