सुन्दर बचतको १६ औं वार्षिक साधारणसभा : कर्जा सूचना केन्द्र बनाउँदैछौंः देवकोटा
हेटौंडा, २७ पुस÷ प्रदेश सहकारी विकास बोर्ड बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले अब चाँडै कर्जा सूचना केन्द्र स्थापना गरेर सहकारी क्षेत्रमा रहेको बिकृति अन्त्य गर्ने तयारीमा आफूहरु लागेको बताएका छन् । हेटौंडा उपमहानगरपालिका–१ मा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा शनिबार उद्घाटन गर्दै उपाध्यक्ष देवकोटाले एउटै व्यक्तिले धेरै वटा सहकारीबाट ऋण लिने तर समयमा साँवा ब्याज भुक्तानी नगर्ने गरेकाले सहकारी संस्थाहरु आर्थिक संकटबाट गुज्रिरहेको बताए । उनले कर्जा सूचना केन्द्र स्थापना गरेर एक सहकारीबाट लिएको ऋण चुक्ता नगरी अन्यबाट लिन नपाउनेसम्मको व्यवस्था गर्ने र सहकारीको ऋण चुक्ता नगरे तीन पुस्तासम्मबाट असुल गर्न सकिने व्यवस्था गर्न लागिएको बताए ।
बोर्डले हालसम्म ६७ सहकारी संस्थालाई कारबाही गरेको र समस्याग्रस्त २ हजार वटा सहकारी संस्थाहरुको छानविन भइरहेको उपाध्यक्ष देवकोटाले बताए । हाल सहकारीमा देखिएको समस्यामध्ये सबैभन्दा बढी ऋण लिएर जाने सदस्यहरुले समयमै साँवा ब्याज नतिर्दा देखिएको उनको भनाई छ । केही सहकारीमा कर्मचारीद्वारा हिनामिना, केहीमा संचालकको बदमासी रहेकोप्रति औल्याउँदै जति छ तिर्दै जाने वातावरण सिर्जना गर्नुपर्नेमा उनको जोड थियो । ‘अब कुल पूँजीको १५ प्रतिशत भन्दा बढी एउटै व्यक्तिलाई ऋण दिन नपाइने व्यवस्था छ’, उपाध्यक्ष देवकोटाले लिएको ऋणलाई सदस्यहरुले फजुल खर्च नभई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड दिनुभयो ।
उनले सदस्यहरुलाई रोजगारमूलक तालिम दिन, बजारीकरणमा जोड दिन र संस्थाहरुबीच एकीकरण गरी ठूला सहकारी संस्था बनाउनेतर्फ अग्रसर हुन आवश्यकता भइसकेको बताए । संस्थाका अध्यक्ष शम्भु नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष दीपक देवकोटाले आर्थिक प्रतिवेदन र लेखा संयोजक एसिस रिजालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।कुल ८५२ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी १ करोड ७ लाख ४८ हजार ८ सय रुपैयाँ रहेको छ भने बचत संकलन ३ करोड ९४ लाख ७१ हजार रुपैयाँ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख रहेको छ ।
सहकारीको भावी कार्यक्रमहरु अन्तर्गत असल ऋणी तथा असल बचतकर्ता शेयर सदस्यहरुलाई संस्थाको ऋण नीति अनुसार प्रदान गरिने ऋणमा अन्य सदस्यभन्दा २५ प्रतिशत थप ऋण दिने र अचल सम्पत्ति धितो राखी प्रवाह गरिने ऋणको दायरा पचास लाख रुपैयाँ पु¥याइने उल्लेख छ । आगामी कार्यक्रममा चैत मसान्तसम्म भाखा नाघेको ऋण तिर्दा लाग्ने हर्जना छुट दिने, समान उद्देश्य भएको सहकारी संस्थाहरुमा एकीकरणको प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।
संस्थाका ऋण उपसमिति संयोजक इन्द्रकुमार मोक्तानले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा एसइइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्य महानुभावहरुको छात्र÷छात्रामा मणिराज पुडासैनी र आर्यन जोशीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा असल बचतकर्ता मोहन कर्माचार्य, असल ऋणी अस्मिता श्रेष्ठ खड्कालाई गोलापर्थाबाट छनोट गरी पुरस्कृत गरिएको थियो । कार्यक्रममा सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामबहादुर बस्नेत, ऋण असुली उपसमितिका संयोजक विष्णुलाल श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।







