अमलेखगञ्ज–हेटौंडा–लोथर पाइपलाईनको काम अघि बढ्ने

साझाकुरा
२०८१ माघ १, मंगलवार ०९:३६

हेटौंडा-बाराको अमलेखगञ्जबाट हेटौंडा हुँदै चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको बताइएको छ ।अमलेखगञ्जबाट हेटौंडा हुँदै चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने पेट्रोलियम पाइपलाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको काम सकिएर डीपीआर निर्माण भइरहेको नेपाल आयल निगमका प्रवक्ता इञ्जिनियर मनोज ठाकुरले जानकारी दिएका छन् । कुल ६९ किमि पाइपलाइनमध्य े करिब ५० किलोमिटर पाइपलाईन मकवानपुरको क्षेत्रमा राखिने भएको छ ।

पूर्वपश्चिम राजमार्गको छेउमा पाइपलाइन बिस्तार गरिने भएका कारण मुआब्जाको खासै समस्या नहुने निगम स्रोतले जनाएको छ । राजमार्गको केन्द्रबिन्दुबाट दायाँबायाँ २५ मिटर राइट अफ वे भित्रै पाइपलाइनको निर्माण गर्ने तयारीमा निगमले काम गरिरहेको बताएको छ । हेटौंडा बजार क्षेत्रमा बाइपास गर्ने वा राजमार्गबाटै लैजाने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । यसअघि केपी ओली प्रधानमन्त्री भएको समयमा अमलेखगंजदेखि हेटौंडा हुँदै लोथरसम्म प्रत्येक ५ किलोमिटरमा ‘पेट्रोलियम पाइपलाइन सर्भे कार्य हुँदैछ’ भन्ने सन्देशसहितको ठूलाठूला होर्डिङबोर्ड लगाइएकोथियो । तर, काम भने सुरु हुन सकेको थिएन ।

‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिकटोलीबाट अध्ययनको काम भइसकेको छ,’ प्रवक्ता ठाकुरले भने, ‘प्राबिधिक टोलीले अध्ययन गरेर अहिले डीपीआर तयार गरिरहेको छ ।’ पूर्वपश्चिम राजमार्गको छेउबाट निर्माण गर्न लागिएको पाइपलाइन विस्तारले निगमको ढुवानी लागतमा निकै कटौती हुने बताइएको छ । लोथरमा १ लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्ने गरी काम अघि बढ्ने प्रवक्ता ठाकुरको भनाइ छ । अमलेखगञ्जबाट लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालमा आएपछि पश्चिमी र उत्तरी नेपालमा पेट्रोलियमपदार्थको अभाव नहुने निगमले विश्वास लिएको छ ।

यसैगरी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएसँगै पाइपलाइनबाटै पेट्रोलियमपदार्थको आयात गर्न परीक्षण भइरहेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र तत्काल परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइएको निगमको मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए ।

‘पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल ५ हजार ५०० किलोलिटर र १ हजार किलोलिटर मट्टितेल ल्याएर परीक्षण गरेका छौँ,’ आचार्यले भने, ‘पाइपलाइनबाट ल्याइएको पेट्रोलियमपदार्थको परीक्षण भइरहेको छ ।’ त्योसँगै पाइप लाइनबाटै पेट्रोलियमपदार्थको नियमित आयात गर्न आवश्यक तयारी भइरहेको आचार्यको भनाइ छ ।नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा पाइपलाइनको उद्घाटन गर्ने, भाबि दिनमा कसरी नियमित आयात सुचारु गर्ने भन्ने विषयमा छलफल भइरहेको आचार्यले जानकारी दिएका छन् । उनले २०२५ को जनवरीदेखि पाइपलाइनबाटै पेट्रोलियमपदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने सम्भावना रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*