यातायात उपभोक्ता सहकारीको १६ औं साधारणसभा : उपभोक्ताले लगेको उधारो नउठेपछि चालुपुँजी अभाव

साझाकुरा
२०८१ माघ ६, आईतवार १३:३६

हेटौंडा- यातायात व्यवासायी उपभोक्ता सहकारी संस्थाको शनिबार हेटौंडामा भएको १६ औं वार्षिक साधारणसभाले सहकारीको ब्यवसाय बृद्धि गर्न बैकल्पिक ब्यवस्था गर्ने निर्णय गरेको छ । सहकारीका सदस्यले उधारो रकम नतिर्दा चालुपूँजीको अभाव भएको बताइएको छ ।साधारणसभा उद्घाटन गर्दै नारायणी यातायात व्यवसायी संघका अध्यक्ष, नेपाल ट्रक ब्यवसायी महासंघका अध्यक्ष तथा सहकारीका सल्लाहकार हीरालाल श्रेष्ठले २०७५ पछिका दिनमा नेपालमा सबैखाले ब्यवसायमा समस्या आएको बताए ।

प्रमुखअतिथि श्रेष्ठले सहकारीकै कारण ब्यवसायी उपभोक्तामाझ मोटर पार्टस्, लुब्रिकेन्ट्स, टायर आदिको बजारमूल्य नियन्त्रण गर्न महत्वपूर्ण योगदान गरिरहेको दाबी गरे । सहकारीले सरल मूल्यमा पार्टस् तथा टायर सवारीधनी उपभोक्तालाई उपलब्ध गराएकै कारण बजारमूल्य नियन्त्रणमा रहेको भन्दै अध्यक्ष श्रेष्ठले यातायात ब्यवसायी बचाउन पनि सहकारी सक्षम हुनुपर्ने बताए ।

सहकारीका अध्यक्ष किरण पौडेलले २०६ जना सेयर सदस्य मिलेर १६ वर्षअघि स्थापना गरेको सहकारीमा पछिल्ला वर्ष सदस्य छोड्ने प्रबृत्ति बढ्दै गएर हाल एक सय ५९ मा झरेको बताए । सहकारीमा सेयरसदस्य बृद्धि हुँदै जानुपर्ने अवस्थामा झन घट्दै गएको पौडेलले बताए । १५९ सेयरसदस्यको ४ करोड ९९ लाख ७३ हजार सेयरपूजी र ८३ लाख ४३ हजार रुपैयाँ बचत रहेको अध्यक्ष पौडेलले जानकारी दिए । सहकरीका सबै सेयर सदस्य तथा कर्मचारीको ७ लाख रुपैयाँको दुर्घटना बीमा गरिएको सहकारीका सचिव देवनाथ लामिछानेले बताए ।

यातायात व्यवसायीले आफ्नो सवारी साधनमा गुणस्तरीय पेट्रोलियम, टायर, लुब्रिकेन्टस् र स्पेयर पार्टस् प्रयोग गर्ने वातावरण सहकारीले उपलब्ध गराएको स्पष्ट पार्दै अध्यक्ष पौडेलले सहकारीका ५० भन्दा बढी सेयरसदस्यले ९५ लाख रुपैयाँ भन्दा बढी रकम लामो समयदेखि उधारो नतिरेका कारण चालुपूँजी नै अभाव भएको बताए । संघले संचालन गरेको गोसाईंकुण्ड आयल डि. को सेयरस्वामित्व सहकारीमा रहने गरी काम गरिएको बताइएको छ । २०६५ चैत १२ मा सहकारी दर्ता गर्दा एक करोड ३३ लाख रुपैयाँ सेयरपूँजी रहेको थियो ।

सहकारीका पूर्वअध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले यातायात ब्यवसाय नै संकटमा परिरहेको अवस्थामा सहकारी संस्थामा समस्या आउनु सामान्य मान्दै संघसँग सहकार्य गरी आगामी दिनमा प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा सेयरसदस्य बद्रीप्रसाद चौलागाई, सहकारीका कोषाध्यक्ष कुमार बर्तौलाले सहकारीले सोचे अनुरुप लगानीको प्रतिफल प्रदान गर्न नसकेको गुनासो गरेका थिए ।

गत आर्थिक वर्षमा सहकारीले गोसाईकुण्ड आयल सेन्टरतर्फ २३ करोड ४४ लाख ८५ हजारको कारोबार गरी एक लाख ३८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यस्तै सहकारीले संचालन गरेको मोटरपार्टस्बाट ३ करोड १८ लाख ९४ हजार रुपैयाँको कारोबार गरी ६ लाख ३५ हजार रुपैयाँ मुनाफा गरेको प्रतिबेदनमा छ । सहकारीमा १० जना कर्मचारी रहेका छन् ।

सहकारीका सल्लाहकार सरोजकुमार खनाल, अर्जुन शर्माकँडेल, नारायणी पेट्रोलियम बिक्रेता संघका अध्यक्ष उत्सव ईंटेनी, पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्य, सहकारी संघ मकवानपुरका सहसचिव भोगेन्द्र लुईंटेललगायतको उपस्थिति रहेको थियो । सहकारीले मउवासंघमा नवनिर्वाचित अध्यक्ष प्रमोदसिंह रानाभाट र सचिव कुलप्रसाद चौलागाईंलाई दोसल्ला ओढाएर स्वागत तथा सम्मानगरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*