अर्गानिक पौष्टिक आहारका लागि किवानिजको अभिमूखीकरण

साझाकुरा
२०८१ माघ ७, सोमबार ११:०९

हेटौंडा- विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई पोषिलो खानेकुरा उपलब्ध गराउनका लागि अभिभावक र विद्यालय शिक्षकलाई अभिमूखीकरणको आवश्यकता रहेको बताइएको छ । १८ वर्षमुनिका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था किवानिज क्लव हेटौंडा शाखाले नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ मदानपुरमा बालअधिकार तथा अर्गानिक पौष्टिकआहार सम्बन्धी २ दिने अभिमूखीकरण गरेको हो । बालबालिकाले घरमा खाने कुरा होस् वा विद्यालयमा खाने दिवाखाजा होस् पौष्टिकतत्व भएको र अर्गानिक हुनु जरुरी रहेको भन्दै अभिमूखीकरण सुरु गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यता तथा किवानिज क्लव अफ हेटौंडा वर्ष २०२४÷२५ का अध्यक्ष गंगाप्रसाद पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले ग्रामीणक्षेत्रमा कार्यक्रम आयोजना गरेर बालबालिकाको क्षेत्रमा किवानिज क्लबले महत्वपूर्ण योगदान पु¥याएको भन्दै खुशी व्यक्त गरे । पछिल्लो समय बालबालिकाले पत्रुखाना रुचाउने र अभिभावकले पनि सजिलोका लागि आफ्ना नानीबाबुलाई पत्रुखाना किनेर खान दिने गलत अभ्यास भइरहेको मुख्यमन्त्री लामाले बताए ।

बालबालिकालाई जंकफुडले दीर्घकालीन असर गरिरहेको कुरा आम अभिभावकलाई जानकारी नभएको हुनसक्छ । ग्रामीणक्षेत्रमा पाइने पोषिलो खानेकुरालाई बेवास्ता गर्ने र प्याकेजिङ गरिएको तर, स्वास्थ्यलाई प्रतिकूल असर गर्ने खानेकुरालाई बालबालिकाले औधि मनपराउने गरेका छन् । क्लवका नेपाल डिस्ट्रिक्ट गभर्नर केपी ज्ञवालीले क्लबले कार्यक्रमको लागि नुवाकोट छनोट गर्नु र विषयबस्तु पनि बालबालिकाको लागि अर्गानिक पौष्टिक आहार छनोट गर्नु उदाहरणीय भएको बताए ।

बालबालिकाको स्वास्थ्यमा अभिभावक बढी सम्बेदनशील बन्न नसक्दा सानै उमेरमा बिभिन्न रोग लागिरहेकोले किवानिज क्लवले यस्तो कार्यक्रम संचालन गरेको अध्यक्ष पौडेलले बताए । विद्यालयमा उपलब्ध गराइने दिवाखाजालाई अभिभावकले दोहोरो फाइदा लिनसक्ने भन्दै अध्यक्ष पौडेलले भने–‘स्थानीय उत्पादनले बालबालिकाकोस्वास्थ्यमा पनि राम्रो प्रभाव पार्ने र दिवाखाजाको पैसा गाउँमै बस्ने अवस्था हुनसक्छ ।’ बजारबाट किनेर ल्याएको दिवाखाजा भन्दा गाउँघरमा पाइने अर्गानिक अन्न, गेडागुडी, फलफूल, कन्दमूल, तरकारीलाई विद्यालयमा दिवाखाजाको रुपमा प्रयोग गर्ने वातावरण बनाउनु आवश्यक रहेको अध्यक्ष पौडेलले बताए ।

नेपाल सुनचाँदी व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष एवम् किवानिज क्लव अफ हेटौंडाका संस्थापक अध्यक्ष ज्योतिरत्न बज्राचार्यले यस क्लवले १८ वर्ष मुनिका बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद एवम् नेतृत्व व्यक्तित्व विकास तथा वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको जानकारी दिए । कार्यक्रममा इमिडिएट पास्ट गभर्नर तीर्थकुमार सिंह, डिस्ट्रिक सचिव शिवबहादुर काफ्ले, केसिएफएन चेयर गोपीमान श्रेष्ठ, इमिडिएट पास्ट सेक्रेटरी युवराज न्यौपाने, बेलकोट गढी नगरपालिका–१२ का वडाअध्यक्ष डिल्लिराज सिलवाल, स्थानीय विद्यालय भृकुटी मावि र चन्डादेवी माविका प्रअहरु उपस्थित थिए ।

पोषणयुक्त खानेकुराका बारेमा बालबालिकालाई थाहा नहुन पनि सक्छ तर, यसमा अभिभावक र विद्यालयमा शिक्षकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका वा नगरपालिकामा दिवाखाजा कसरी उपलब्ध गराइएको छ ? भनेर बेलाबेलामा बहस गर्न सकियो भने पनि सुधार आउन सक्ने बताइएको छ । संघीय सरकारले दिवाखाजा बापत प्रतिविद्यार्थी विद्यालयमा उपस्थित भएको दिनमा १५ रुपैयाँका दरले पैसा उपलब्ध गराउने गरेको छ । त्यही १५ रुपैयाँको दिवाखाजा दिइने गरेको विद्यालयहरुले बताएका छन् ।

२ दिने अभिमूखीकरण कार्यक्रमको सहजिकरण प्रकाश अधिकारी र कोपिला डंगोलले गर्नेछन् । कार्यक्रममा ३५ जना विद्यार्थी तथा अभिभावक सहभागी छन् । बालबालिकालाई दिवाखाजको रुपमा दिइने खाजा पूर्णरुपमा स्थानीय र अर्गानिक बनाउनका लागि कार्यक्रमले जोड दिएको बताइएको छ । स्थानीय उत्पादनको प्रयोग गर्दा दिवाखाजाको पैसा बाहिर जान नपाउने भएकोले अर्गानिक र स्थानीय खानेकुरालाई उच्च प्राथमिकतामा राख्न सुझाव दिइएको छ । बालबालिकालाई जंकफुडको अभ्यासबाट बचाउनका लागि अभियान नै थालनी गर्नुपर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*