८१ केजी गाँजा र बन्दुकसहित दुईजना पक्राउ

साझाकुरा
२०८१ माघ १०, बिहीबार ११:२७

हेटौंडा- मकवानपुरको पश्चिमीक्षेत्रको मनहरी बजारस्थित इलाका प्रहरी कार्यालयले ८१ केजी लागूऔषध गाँजा र भरुवा बन्दुकसहित दुईजना पक्राउ गरेको छ ।इप्रका मनहरीले भिन्दाभिन्दै ठाउँमा लागूऔषध गाँजा ओसारपसारमा संलग्न र अनुमतिबिना भरुवा बन्दुक राख्ने दुईजनालाई पक्राउ गरेको हो । इप्रका मनहरीको टोलीले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पर्ने मनहरी गाउँपालिका–८ सिम्पानीमा राक्सीराङ चैनपुरतबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ च ००६२ नं.को बोलेरो पिकअप गाडीलाई रोकेर जाँच गर्दा ८१ केजी गाँजा फेला पारेको थियो ।

प्रहरीले गाँजासहित गाडी तथा चालक मकवानपुर कैलाश गाउँपालिका–४ का २२ वर्षीय छेटुप थिङ नियन्त्रणमा लिएको हो । गाडीको पछाडिको ढालाभित्र फल्सवटम बनाएर प्लास्टिकमा प्याक गरेर गाँजा लुकाएर ल्याइएको थियो । प्रहरीले नियन्त्रणमा लिएको थिङलाई गाँजा मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायवउपरीक्षक एवम् प्रहरीप्रवक्ता श्यामु अर्यालले बताए ।

मकवानपुर प्रहरीका अनुसार चालु आवको साउनदेखि माघ ९ गते गतेसम्म ३ हजार ९ सय ६० केजी गाँजा, ४० केजी चरेस र ५ सय ३९ ग्राम खैरोहेरोइन बरामद गरेको छ । लागूऔषध कारोबार गरेको आरोपमा मकवानपुर प्रहरीले यस अवधिमा नेपाली र भारतीय नागरिकसहित १ सय १४ जना पक्राउ गरेको प्रहरी नायवउपरीक्षक एवम् प्रवक्ता अर्यालले बताए ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार गत आवमा लागूऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २ सय ५० जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो ।

यो अवधिमा मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ केजी गाँजा बरामद गरेको थियो भने १३ केजी अफिम, ७८ ग्राम खैरोहेरोइन र १ सय ५ केजी चरेस बरामद गरेको थियो ।
यसैगरी, इप्रका मनहरीले मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक वनबाट राक्सिराङ गाउँपालिका–१ गडुवानका ५२ वर्षीय जीतबहादुर थिङलाई अवैध भरुवा बन्दुकसहित पक्राउगरेको छ । भरुवा बन्दुक काँधमा बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेर बन्दुकसहित थिङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी अर्यालले जानकारी दिए । थिङलाई हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा मुद्दा चलाइएको डिएसपी अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*